नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन्।
बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वंश मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए।
जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले भने, ‘सधैं अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला।’
नेता पुरीले आफूले सबै प्रमाणहरू संकलन गरिसकेको र कानुनी उपचारको प्रकृया पनि अघि बढाएको बताए।
आगजनी र तोडफोडका क्रममा भएका सबै सम्पत्ति लुटिएको, घरायसी सामानहरू जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताए। क्षतिग्रस्त घर अवलोकनका लागि पुगेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई पुरीले फूल दिएर स्वागत गरेका थिए।
नेता पुरीको घर अवलोकनपछि ओली दमकस्थित तत्कालीन माओवादीको पार्टी अवलोकन गर्दै गौरादह तर्फ लागेका छन्।
प्रकाशित: ८ माघ २०८२ १३:३७ बिहीबार





