५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाले भन्यो: देश चक्रव्यूहमा फस्दै छ, राष्ट्रिय सहमति आजको आवश्यकता

फाइल।

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले देशमा बढ्दो राजनीतिक अनिश्चय र अराजकताप्रति चिन्ता व्यक्त गर्दै समाधानका लागि वृहत् राजनीतिक संवादको आह्वान गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विभिन्न समूहका आन्दोलनले मुलुकलाई अनिर्णयको बन्दी बनाएको उल्लेख छ।

राप्रपाले सरकारलाई आन्दोलनरत पक्षसँग तत्काल सार्थक संवाद गर्न आग्रह गर्दै सबै राजनीतिक शक्तिहरूलाई संवादमा आउन आह्वान गरेको छ।

पार्टीले वर्तमान संविधान र निर्वाचन प्रणालीकै कारण देशमा राजनीतिक अस्थिरता आएको ठहर गर्दै यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएको छ। यद्यपि आफू प्रजातान्त्रिक प्रक्रियाबाट भने अलग नरहने स्पष्ट पारेको छ ।

राप्रपाले हालैको जन- जी आन्दोलनका क्रममा भएका केही गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जवर्जस्ती चन्दा असुली, मोटरसाइकल जलाउने, जलविद्युत आयोजनामा निःशुल्क शेयर माग्ने तथा सार्वजनिक पदाधिकारीहरूलाई अनावश्यक दबाब दिने जस्ता कार्यले निजी र सार्वजनिक क्षेत्रको मनोबल गिराएको भन्दै त्यस्ता क्रियाकलाप नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

साथै, यस्ता गतिविधिबाट त्रसित बनेको निजी व्यवसाय र सार्वजनिक सेवालाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरिएको छ।

साथै, इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

प्रकाशित: २९ आश्विन २०८२ १७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App