२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

अमरेशको प्रश्न- सरकारबाटै अपराध संरक्षित त छैन ?

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा कानुनी व्यवस्था बिग्रिँदै गएको र अराजकता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सरकार गठन भएदेखि अपराधका घटना बढेको र यसमा सरकारकै संरक्षण हुन सक्ने आशंका व्यक्त गरे।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले आफ्नै जिल्ला सर्लाहीको हरपुर्वा नगरपालिका-६ निवासी पूर्व शिक्षक रामपुकार रायको गोली हानी हत्या भएको घटनाबारे सदनलाई जानकारी गराए। उनले नागरिक सुरक्षित नरहेको र यस्तो अवस्थामा पनि गृह प्रशासन मौन बसेको आरोप लगाए।

‘दुई तिहाइको सरकारमा त अपराध घट्नुपर्ने हो, कानुन व्यवस्था राम्रो हुनुपर्ने हो। तर झन् अपराध बढेको छ। कतै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन ?’, उनले प्रश्न गरे।

सांसद सिंहले प्रहरी महानिरीक्षकले नै आर्थिक वर्ष २०८१/८२ मा अपराधका घटना बढेको तथ्यांक प्रस्तुत गरेको स्मरण गराउँदै सरकार बनेपछि दलितमाथि हुने हत्या, हिंसा र बलात्कारका घटनामा वृद्धि भएको बताए।

उनले दुई ठूला दलले द्विदलीय पद्धतिको नाममा साना दलहरुलाई तर्साउने काम गरिरहेको आरोप लगाए। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी होस् वा जसपा नेपाल, उनीहरुलाई तर्साउने काम भइरहेको छ।’

सिंहले न्यायालयमा राजनीतिक दलहरुको प्रभाव बढ्दै गएको र यो नेपालको न्याय प्रणाली र लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको बताए।

उनले साना दलहरुलाई सचेत गराउँदै भने, ‘अर्को दल समाप्त हुँदा खुसी मनाउने होला, तर तपाईंहरूको पनि नियति यही हुन्छ। देशमा दुई दल मात्रै बाँकी रहन्छन्, न लोकतन्त्र बाँकी रहन्छ, न साना दलहरू।’ 

प्रकाशित: ४ भाद्र २०८२ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App