राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगै हामी नेपालका संयोजक एवं युवा अभियन्ता सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।
जेन-जी आन्दोलनका अगुवा समेत रहेका गुरुङले आज दिउँसो ३:३० बजे आफू र बालेन शाहले औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेको जानकारी दिएका हुन्।
पार्टी प्रवेशबारे जानकारी दिँदै गुरुङले यो निर्णय कुनै पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण लिएको बताए।
उनले भनेका छन्, ‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ र परिवर्तनलाई स्थायी बनाइनेछ।’
गुरुङले आफ्नो यो राजनीतिक यात्रा आम सर्वसाधारणसँगै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रकाशित: ४ माघ २०८२ १५:१८ आइतबार





