संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएपछि सचिवालयले तयारीका लागि दलहरूको बैठक आह्वान गरेको हो।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ। उक्त बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउनेछ। साथै, दलहरूको सहमतिमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सम्भावना पनि रहेको छ।
सोही बैठकको पूर्वतयारीका लागि बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा सर्वदलीय बैठक बस्न लागेको हो।
बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।
नयाँ प्रतिनिधिसभामा ६ दलले राष्ट्रिय मान्यता पाएका छन् भने एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठुलो दल बनेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।
श्रम संस्कृति पार्टी पहिलो पटक संसद् प्रवेश गर्दै पाँचौँ दल बनेको छ।
प्रकाशित: १७ चैत्र २०८२ ११:२२ मंगलबार





