३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधान जोगाउन सबै पुस्ता सक्रिय हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानबाट प्राप्त संविधान तथा लोकतान्त्रिक प्रणालीलाई जोगाउन सबै पुस्ता सक्रिय हुनुपर्ने बताएका छन्। 

संविधान दिवसका अवसरमा बोल्दै ओलीले संविधान देशको मूल कानुन भएकाले त्यसअनुसार लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट राज्य सञ्चालन हुनुपर्ने बताए। विधिहीनता, पद्धतिहीनता, नीतिहीनता र अराजकताले मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने उनको भनाइ थियो। 

उनले अराजकताले हिंसा, अकर्मण्यता, गैरजिम्मेवारी र दिशाहीनता निम्त्याउने दाबी गरे। ‘संविधान भनेको देशको मूल कानुन हो। त्यसअनुसार चल्ने, लोकतान्त्रिक विधि, प्रक्रिया र प्रणालीबाट चल्ने कुरालाई तोड्न खोजिएको छ,’ ओलीले भने। 

गत वर्ष भदौ २३ र २४ गते भएको घटनालाई उनले संविधान र लोकतान्त्रिक प्रणालीविरुद्धको षड्यन्त्रपूर्ण उपद्रवका रूपमा व्याख्या गरे। उक्त घटनामा को–को संलग्न थिए भन्ने विषय विस्तारै खुल्दै गएको भन्दै ओलीले विभिन्न व्यक्ति, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यसबारे तथ्य तथा दाबीहरू सार्वजनिक भइरहेको बताए। 

नेपाललाई गलत दिशातर्फ धकेल्न विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत नेपालको निर्वाचन प्रक्रियाका क्रममा भ्रम फैलाउने काम गरेको बताए । मौन अवधिमा समेत नेपालबारे असत्य सूचना सम्प्रेषण गरी जनतालाई दिग्भ्रमित पार्ने प्रयास भएको उनको भनाइ थियो। 

ओलीले पछिल्ला घटनाबारे विभिन्न अन्तर्राष्ट्रिय खोज, अध्ययन तथा अनुसन्धानका रिपोर्टहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्रीले पनि त्यसतर्फ संकेत गरेको बताए। 

उनले नेपालको राजनीतिक परिवर्तनमा युवाको भूमिकालाई विशेष रूपमा स्मरण गरे। नेपाल एकीकरणदेखि ब्रिटिस इन्डियाको आक्रमणविरुद्धको संघर्ष, राणा शासनको अन्त्य, पञ्चायतविरोधी आन्दोलन, २०३२ र २०३५।३६ सालका विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२–६३ को आन्दोलनमा नेपाली युवाको महत्वपूर्ण योगदान रहेको ओलीले बताए।

 ‘नेपाली युवाहरूको अत्यन्त गौरवपूर्ण इतिहास छ। देश बनाउने र देश बचाउने लडाइँमा नेपाली युवाहरू मुख्य रूपमा अग्रसर भएका छन्,’ उनले भने। 

ओलीले परिवर्तनका लागि संघर्ष गर्ने व्यक्तिहरू मात्र नभई विभिन्न भूमिकाबाट सहयोग गर्ने सबैको योगदान महत्वपूर्ण हुने बताए। आन्दोलनमा सहभागीलाई खाना उपलब्ध गराउनेदेखि घाइतेको उपचार गर्ने मेडिकल टोलीसम्मको भूमिका उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो। 

‘लडाइँ लड्नेको मात्रै योगदान हुँदैन। फिल्डमा हुनेको मात्रै योगदान हुँदैन। सबै मान्छे फिल्डमा मात्रै पनि हुँदैनन्। विभिन्न भूमिकामा मान्छेहरूले साथ दिनुपर्छ,’ ओलीले भने। 

उनले विगतका पुस्ताको योगदानको सम्मान गर्दै वर्तमान पुस्ताले पनि मुलुकको सुन्दर भविष्यका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। प्राप्त उपलब्धिको संरक्षण र संविधानको कार्यान्वयनका लागि सबै पुस्ता आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्नेमा उनले जोड दिए। 

प्रकाशित: ३ आश्विन २०८३ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App