२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगन्जका ३२ वटै वडा कार्यालय ठप्प

वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरू कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

नारायणी अस्पताल प्रकरणमा मंगलबार बेलुका वीरगन्ज महानगरपालिकाको कार्यालयबाट पर्सा प्रहरीले चतुर्वेदीलाई नियन्त्रणमा लिएको थियो।

चतुर्वेदीलाई तत्काल रिहाइको माग गर्दै वडा अध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ती निकालेर माग गरेका थिए।

गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भए पछि उनका आफन्तहरूले उपचारमा लापरबाही गरेको भन्दै अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकहरू माथी हातपात गरेका थिए।

उपचारमा संलग्न रहेको  चिकित्सकहरूलाई कुटपिट गरिएपछि उपचार सेवा ठप्प गरेर देशै भरी चिकित्सकहरू  हडतालमा छन्। 

नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकलाई गरिएको कुटपिट घटनाको अनुसन्धानको लागी नियन्त्रणमा लिएको वडाध्यक्ष चतुर्वेदीलाई रिहा गर्न माग गर्दा कुनै सुनुवाइ नगरिए पछि महानगरका सबै वडाध्यक्षहरूले काम ठप्प गरेको बताइएको छ।

महानगरका वडाध्यक्षहरू वडा कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्।

वडा कार्यालयहरू बुधबार देखि बन्द हुँदा त्यहाँबाट प्रवाह हुने सिफारिस, जन्म र मृत्यु दर्तालगायतका दैनिक कामकाज प्रभावित भएका छन्। जसको प्रत्यक्ष मारमा सेवाग्राहीहरू परेका छन्।

आफ्नै वडाका नागरिकको न्याय र हकहितका लागि वडाध्यक्ष चतुर्वेदीले आवाज उठाएकै कारण उनलाई प्रहरीले नियन्त्रणमा लिनु कार्य ठिक नभएको वीरगन्ज   महानगरपालिकाका एक वडा अध्यक्ष रमेश यादवले बताएका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर वडाध्यक्ष चतुर्वेदीलाई रिहा गर्न ध्यानाकर्षण गराउँदा पनि प्रहरीले  हालसम्म रिहा नगरेकाले बाध्य भएर बुधबारदेखि वडा कार्यालयका सेवा ठप्प पार्ने कठोर कदम चाल्नुपरेको आन्दोलनरत वडाध्यक्षहरूद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

पक्राउ गरिएका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल स–सम्मान रिहा नगरिए आगामी दिनमा थप कडा विरोधका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रकाशित: १३ श्रावण २०८३ १७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App