२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

ऐन महरले भने- ‘मलाई पक्राउ गरिएको होइन, अफवाह फैलाएपछि आफैं गएको हुँ’

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले आफूलाई प्रहरीले पक्राउ नगरेको तर साइबर अपराधसम्बन्धी उजुरीमा अनुसन्धानलाई सघाउन आफैं प्रहरीसमक्ष उपस्थित भएको बताएका छन्।

साइबर अपराधको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएर हाजिरी जमानीमा छुटेपछि बुधबार साँझ आफ्नी श्रीमती सानु झा श्रेष्ठसँगै फेसबुक लाइभमा आएर उनले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।।

उनले भने- ‘मलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको होइन। साइबर ब्युरोबाट उजुरी परेको जानकारी आएपछि हामी आफैं उपस्थित भएका हौं। दिनभरि मिडियामा जसरी साइबर अपराधमा पक्राउ भनेर ठूलै अपराध गरेजस्तो गरी प्रचार गरियो, त्यसले मलाई दुःखित बनाएको छ।’ 

उनले थपे - ‘आजभन्दा आठ-नौ महिनाअघि हामी दुई जना (श्रीमान-श्रीमती) ले सँगै लाइभमा आएर मेरा विषयमा उठेका केही भ्रमहरू स्पष्ट पारेका थियौं। त्यतिबेला हामीले बोलेका कुरा मर्यादित थिए, कसैको चरित्र हत्या गर्ने वा अपमानित गर्ने खालका थिएनन्। तर त्यही विषयलाई लिएर अहिले साइबर अपराधमा उजुरी दिइएको रहेछ। एउटा राजनीतिक कार्यकर्ता भएपछि न्याय नपाउने भन्ने हुन्छ ? मेरा बारेमा दिनहुँ अनेक अफवाह फैलाउँदा, चरित्र हत्या गर्दा त्यो साइबर अपराध नहुने, तर हामीले आफ्ना विषयमा उठेका प्रश्नको जवाफ दिँदा अपराध हुने ? यो कस्तो न्याय प्रणाली हो ?’ 

बझाङकी रश्मीला धामीले आफूविरुद्ध अपशब्द प्रयोग गरी सामाजिक सञ्जालमा भिडियो तथा फोटो पोस्ट गरेर महरले निरन्तर हैरानी दिएको भन्दै हुलाकमार्फत जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि महर बुधबार साइबर ब्युरोमा उपस्थित भएका थिए। बयानपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेको हो।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा कसैप्रति घृणा वा द्वेष फैलाउने, महिलालाई जिस्काउने वा अपमान गर्नेजस्ता कार्यलाई कसुर मानिएको छ। यो कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।

प्रकाशित: ११ भाद्र २०८२ २०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App