नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेलकुद क्षेत्रको समग्र विकासका लागि आक्रामक हस्तक्षेप आवश्यक रहेको बताएका छन् । माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारे। उनले भने,'अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।'
विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उनले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाए । वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको उनको आरोप थियो।
अध्यक्ष दाहालले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे।
क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै दाहालले जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताए।
उनले भने,'जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति भएको पाइन्छ। त्यसकारण, यस क्षेत्रको प्रगतिका लागि पार्टीको हिसाबले माओवादी केन्द्र र संगठनको हिसाबले अखिल नेपाल खेलकुद महासंघले मिहिनेत र हस्तक्षेप गर्नुपर्ने अवस्था छ। म आयोजक कमरेडहरूलाई यसका लागि आग्रह गर्दछु।'
प्रकाशित: २० भाद्र २०८२ १६:३२ शुक्रबार





