जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले पार्टीको विश्वास र लचकतालाई कमजोरी ठानेपछि समर्थन फिर्ता लिएको बताएका छन्।
जसपा नेपालले विभिन्न ११ बुँदे कारणसहित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता भएपछि सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ।
बस्नेतले भने, ‘संसदमा विधेयक पारित गर्न जसपा नेपालको आवश्यकता थियो र आज पनि छ। एउटा जिम्मेवार राजनीतिक दलले यो कुरा बुझेरै सरकारलाई समर्थन गरेको थियो। जसपा नेपालले सरकारलाई दिएको विश्वासको मत र सरकारप्रति देखाएको लचकतालाई सरकारले पार्टीको कमजोरी ठान्यो।’
राष्ट्र हितमा नभएको भन्दै समर्थन गर्न नसकिने स्पष्ट पार्दासमेत भूमि विधेयक पारितको प्रक्रियामा लगेर सरकारले पार्टीलाई चिढ्याउने काम गरेको उनको भनाइ थियो।
सरकार आफैले गरेका प्रतिबद्धता र सहमतिसमेत पालना नगरी न्यूनतम जिम्मेवारी र भूमिकाबाट भाग्न खोजेको दाबी गर्दै प्रचार विभाग प्रमुख बस्नेतले उल्टै अध्यक्षसहितका पार्टीका शीर्ष नेतालाई विभिन्न आरोप लगाएर सरकारले बद्नाम गराउन खोजेको दाबी गरे।
प्रकाशित: २ श्रावण २०८२ १६:२७ शुक्रबार





