जिल्ला प्रशासन कार्यालय काठमाडौं ले सरकारी भवन तथा संरचनाभित्र सञ्चालनमा रहेका गैरसरकारी प्रकृतिका संघ–संस्थालाई ७ दिनभित्र हट्न निर्देशन दिएको छ। कार्यालयले एक अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम यस कार्यालयमा दर्ता भएका काठमाडौं जिल्लाभित्रका विभिन्न गैरसरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ, संगठन, संस्थाहरूले सरकारी तथा सार्वजनिक निकायका भवन वा संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएको छ।
प्रशासनले यस्ता संघ–संस्थालाई सात दिनभित्र सरकारी भवनबाट हटेर अन्य निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ।
त्यसैगरी, सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि यस्ता संघ–संस्थाका बोर्ड, साइनबोर्ड वा संरचना आफ्ना कार्यालय हाताभित्रबाट हटाई सम्बन्धित संस्थालाई खाली गराउन भनिएको छ।
सूचनाको अवज्ञा गरी सरकारी कार्यालय वा संरचनाभित्र यस्ता संस्थाका कार्यालय सञ्चालन गरिराखेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित: २ असार २०८३ १४:३२ मंगलबार





