नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्रस्तावक रहेको उज्यालो नेपाल अभियानको सर्लाही जिल्ला तदर्थ समिति बनेको छ। बुधबार (हिजो) सर्लाहीमा धनबहादुर मिक्चनको अध्यक्षतामा भएको भेलाले छत्रमान डुम्जनको अध्यक्षतामा ४२ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समितिमा चार जना उपाध्यक्ष छन्। जसमा कुमार कार्की, राम विश्वास राय र राम सोगरात महतो छन्। एकजना महिलाको कोटा भने खाली छ। यस्तै सचिवमा राम विनोद कुशवाहा चयन भएका छन्।
सर्मिला गर्तौला, श्रीकुमार पाख्रिन, सुनिल साह र सीता लोप्चनले समिति सहसचिवको जिम्मेवारी पाएका छन्। यस्तै सदस्यहरूमा रामजी बाबु मैनाली, पञ्चमान गोले, बुद्धिमान घलान, मानवीर माझी, नरदेव सिंदान, पद्मा गोले, सिंहलाल वाइबा, तेज नरायण आले, कर्ण बाहादुर गोले र जगदिश चौधरी छन्।
समितिले सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ। जसमा नारायण खपाङ्गी, हिराकाजी योञ्जन, ज्ञानध्वज बम्जन, शेर बहादुर योञ्जन, हरिदेव महतो, रन बहादुर लामा र यदु प्रसाद न्यौपाने छन्।
अब सर्लाहीमा जस्तै अन्य जिल्लाहरूमा पनि तदर्थ समिति बनाउने मिक्चनले जानकारी दिए। ‘देशका ७७ वटै जिल्लामा तदर्थ समिति बनाएर उज्यालो अभियानलाई अझ उज्यालो बनाउँछौँ,’ उनले भने।

त्यसो त सर्लाही कुलमान घिसिङलाई पहिलोपटक नागरिक अभिनन्दन गर्ने जिल्ला पनि हो। सर्लाहीमा गत जेठ २८ गते घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो। त्यसैले पनि दतर्थ समिति बनाउने काम पनि सर्लाहीबाटै सुरु गरिएको अभियानका अभियन्ताहरूले बताएका छन्।
सर्लाहीमा अभिनन्दन भएपछि घिसिङ मध्यपूर्वका चार देशहरूको भ्रमणमा निस्किएका थिए। असार १७ गते नेपालबाट उडेका घिसिङ कतार, बहराइन, यूएई र ओमन पुगेर त्यहाँस्थित नेपाली समुदायसँग 'उज्यालो संवाद' गरेका थिए।
त्यसपछि नेपाल फर्किएर केही नागरिक अभिनन्दनमा सरिक भएका घिसिङ अहिले अमेरिका-यूरोपको भ्रमणमा छन्। अहिले उनी बेलायतमा छन्। त्यहाँ आयोजित कार्यक्रम सकेर उनी आउँदो २६ तारिखमा स्वदेश फर्किँदैछन्। फर्किएपछि तीव्र रूपमा अभियानका 'वीङ्ग्स' निर्माणमा लाग्ने अभियन्ताहरूले बताएका छन्।
प्रकाशित: २९ श्रावण २०८२ २०:४७ बिहीबार





