निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ। आयोगले सात वटै प्रदेशमातहतका केही जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार शनिबार साँझसम्म आयोगले एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ५६ वटाको नमुना मपपत्र सार्वजनिक गरेको छ। बाँकी निर्वाचन क्षेत्रको नमुना मत्रपत्र क्रमशः सार्वजनिक गरिने छ।
‘हामीले प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै नमुना मतपत्र सार्वजनिक गरिरहेका छौं। उम्मेदवारको संख्याका आधारमा नमुना मतपत्र सानो र ठुलो हुने गर्छ।’ उनका अनुसार सबैभन्दा ठुलो मत्रपत्र धनुषा–३ को हुनेछ। त्यहाँ ४५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यसैगरी सबैभन्दा सानो मत्रपत्र मनाङको हुनेछ। त्यहाँ तीन उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन्।
आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमुनासमेत सार्वजनिक गरेको छ। प्रवक्ता भट्टराईले आयोगले नै नमुना मतपत्र सार्वजनिक गर्ने बताए। आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एकएक वटा निर्वाचन क्षेत्र छन्। दैलेख र सुर्खेतमा दुईदुई निर्वाचन क्षेत्र छन्। आयोगले यी जिल्लाको वास्तविक मतपत्रकै नमुना सार्वजनिक गरेको हो।
यसैगरी सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एकएक वटा निर्वाचन क्षेत्र छन्। अछाममा दुई, कञ्चनपुरमा तीन तथा कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्। आयोगले यी सबै निर्वाचन क्षेत्रको पनि वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो। जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ। प्रवक्ता भट्टराईका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
आयोगका अनुसार निर्वाचनमा अन्तिम मतदाताको संख्या एक करोड ८९ लाख तीन हजार ६८९ पुगेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० थियो।
२०७९ सालको तुलनामा २०८२ सालमा कुल मतदाताको संख्या नौ लाख १५ हजार एक सय १९ ले वृद्धि भएको छ भने पुरुष मतदाताको संख्या पाँच लाख २२ हजार पाँच ५२, महिला मतदाताको संख्या तीन लाख ९२ हजार पाँच सय ५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको छ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्न देशभर १० हजार नौ ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको संख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या आठ सय ८५ ले वृद्धि भएको आयोगले जनाएको छ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले निर्वाचनमा भाग लिन एक सय १४ वटा दलले दिएको दल दर्ता निवेदन स्वीकृत गरेको छ।
प्रकाशित: १८ माघ २०८२ ०७:२० आइतबार





