कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटेकी छन्।
भेटमा उनले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति सहानुभूति व्यक्त गरेको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। खोज तथा उद्धार कार्य जारी रहेका बेला उनले हराइरहेका अमेरिकी नागरिकसहित बाढीका अन्य पीडितको खोजीमा भइरहेको प्रयासका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरिन्।
सो अवसरमा राजदूत बोल्डिनले बाढीपछिको प्रतिकार्यमा अमेरिका नेपालसँग मिलेर काम गरिरहेको बताइन्। अमेरिकी नागरिकको सुरक्षा आफ्नो प्राथमिकता रहेको भन्दै परिवारसँग सम्पर्कमा नरहेका आफन्तबारे जानकारी खोज्नेहरूलाई सहयोग गर्न कन्सुलर सेवा बढाइएको उनले बताइन्।
उनका अनुसार अमेरिकाले बाढी प्रभावित समुदायका लागि ४० लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता परिचालन गरेको छ। यसमा खाद्यान्न, आपत्कालीन राहत सामग्री, उपकरण तथा विपद् पीडितको पहिचानमा सहयोग गर्ने सामग्री समावेश छन्। पीडितको पहिचान र परिवारका प्रश्नको जवाफ दिन नेपाल प्रहरीसँगै एफबीआईका फरेन्सिक विशेषज्ञ पनि काम गरिरहेका छन्।
नेपालले क्षति, विस्थापन र मानवीय आवश्यकताको आकलन गरिरहेका बेला अमेरिकाले नेपालसँगको सहकार्य जारी राख्ने उनले बताइन्।
भेटपछि दूतावासले भनेको छ
कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शुक्रबार नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेट गरी नेपालमा हालै आएका विनाशकारी बाढीबाट भएको जीवनको क्षति र प्रभावित सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा उहाँले हराइरहेका अमेरिकीहरूका साथै यस दुःखद घटनाका अन्य पीडितहरूको खोजी गर्ने असाधारण प्रयासहरूका लागि नेपाल सरकारप्रति आभार पनि प्रकट गर्नुभयो ।
यस प्रतिकार्यमा अमेरिका नेपालसँग काँधमा काँध मिलाएर काम गरिरहेको छ । हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा अमेरिकी नागरिकहरूको सुरक्षा हो र आफ्ना प्रियजनबारे जानकारी खोज्ने परिवारहरूलाई सहयोग गर्न हामीले कन्सुलर सेवामा वृद्धि गरेका छौँ । साथै, नेपालको नेतृत्वमा देशभरिका प्रभावित समुदायहरूमा भइरहेको विपद् प्रतिकार्यमा अमेरिकी सहायताले टेवा पुर्याइरहेको छ ।
अमेरिकाले ४० लाख अमेरिकी डलर (करिब ६१ करोड रुपैयाँ) भन्दा बढीको मानवीय सहायता तथा सहयोग परिचालन गरेको छ जसमा खाद्यान्न तथा आपत्कालीन राहत, बन्दोबस्त सामग्री तथा उपकरण, विपद् पीडित पुनर्लाभका विशिष्टीकृत सामग्रीका साथै पीडितहरूको पहिचान गर्न र परिवारहरूका प्रश्नका उत्तर दिनमा मद्दत गर्न नेपाल प्रहरीसँगै रही कार्यरत एफबीआईका फरेन्सिक विशेषज्ञहरू लगायत समावेश छन् ।
नेपालले क्षति, विस्थापन र मानवीय आवश्यकताहरूको आकलन गर्दै गर्दा अमेरिकाले नेपालसँग निकट रूपमा साझेदारी गर्न जारी राख्नेछ ।
प्रकाशित: २७ भाद्र २०८३ ०६:५५ शनिबार


-600x400.jpg)


