बाढीपहिरोका कारण अवरुद्ध देशका प्रमुख आठ सडक खुलाउन सरकारले पहल थालेको छ। कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिए।
आइतबार शहरी विकास मन्त्रालयमा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरि काम गर्नुपर्ने बताए।
बैठकमा गृहमन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरुबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराएको थियो।
हाल पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२ कोदारी र घट्टेखोला, बेनि-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ। त्यस्तै, घोराही-थवाङ शहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरि करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका छलघाट, कर्णाली राजमार्गअन्तर्गत शुभकालिन गाउँपालिका र भेरि करिडोर अन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ।
त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धि पूर्व शतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकोमा अबदेखि भ्वइस कल पनि गर्ने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिए।

प्रकाशित: १५ भाद्र २०८२ १६:४८ आइतबार





