श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले सडकमा हुने सवारी दुर्घटनाको मुख्य कारण चालकको बानीभन्दा पनि सडकको दयनीय अवस्था र खाल्डाखुल्डी रहेको दाबी गरेका छन्।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्लो समय आफूलाई लक्षित गरी भएका ट्राफिक कारबाहीका कुरा र सामाजिक सञ्जालका टीकाटिप्पणीप्रति प्रतिक्रिया दिएका हुन्।
केही दिनअघि एक हातले मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले उनलाई नियम उल्लंघनको आरोपमा जरिवाना गर्ने तयारी गरेको थियो।
सोही विषयमा स्पष्टीकरण दिँदै सांसद साम्पाङले भने, ‘एक हातले मोटरसाइकल कुदाएर दुर्घटना हुने होइन, सडकमा सरकारले नपुरेका खाल्डाखुल्डीले गर्दा दुर्घटना हुन्छ। म त एक हात मात्र होइन, दुवै हात छोडेर पनि सन्तुलन मिलाएर बाइक चलाउन सक्छु।’
उनले ट्राफिक नियमको कुन दफा वा नियमावलीमा एक हातले सवारी चलाउनु कसुर हो भन्ने उल्लेख छ भन्दै प्रश्न समेत गरे। उनले आफूले लगाएको हेलमेटको फित्ता नलगाएको भन्ने आलोचनाको पनि खण्डन गर्दै त्यो पुरानो भएकाले खुकुलो देखिएको जिकिर गरे।
सञ्चारकर्मीसँगको कुराकानीकै क्रममा सांसद साम्पाङले सार्वजनिक सम्पत्ति र व्यक्तिगत सामग्रीको सुरक्षाका विषयमा पनि चासो व्यक्त गरे। विशेषगरी विद्यार्थीहरूको मोबाइल नियन्त्रणमा लिएर नष्ट गरिएको घटनाप्रति टिप्पणी गर्दै उनले सुनाए, ‘अहिलेको समयमा मोबाइल निकै महत्त्वपूर्ण सामग्री हो। आलु त नष्ट गर्नु हुँदैन भने यति महत्त्वपूर्ण वस्तु नष्ट गर्नु पूर्णतः गलत हो। यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिँदैन।’
आफ्ना हरेक गतिविधि र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहने सन्दर्भमा उनले आफू सधैँ श्रम र संस्कृतिको पक्षमा उभिने बताए।
प्रकाशित: २५ जेष्ठ २०८३ १५:३१ सोमबार


-600x400.jpg)


