राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले आगामी दिनमा राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयकहरू निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याइन्।
चार वर्ष सदस्य र पछिल्ला दुई वर्ष उपाध्यक्षको रूपमा कार्यकाल पूरा गर्दै गर्दा उनले मंगलबार आभार व्यक्त गर्दै भनिन्, ‘आगामी दिनमा राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयकहरू निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुन आवश्यक देखिन्छ, ता की लामो मेहनत र राष्ट्रिय स्रोतसाधनको प्रयोगबाट तयार भएका विधेयकहरू निष्क्रिय हुने अवस्था अन्त्य होस्।’
आजदेखि उनको कार्यकाल सकिएको छ।
उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएका तथा प्रतिनिधिसभाबाट पारित भई आएका विधेयकहरूलाई सकेसम्म शीघ्रता र जिम्मेवारीपूर्वक टुङ्ग्याउने अभ्यास यस अवधिमा कायम राखिएको र कानुन निर्माणलाई सदैव प्राथमिकतामा राख्दै सक्रिय पहल गरेको पनि उल्लेख गरिन्। उनले भनिन्, ‘यस अवधिमा राष्ट्रिय सभाले पहिलोपटक गैरसरकारी विधेयक पारित गरी प्रतिनिधिसभामा पठाउने ऐतिहासिक अभ्यास पनि स्थापित गरेको छ, सरकारले आवश्यक विधेयक समयमै प्रस्तुत गर्न नसकेको अवस्थामा जनचासोका विषयलाई अघि बढाउन यो अभ्यास एउटा सकारात्मक नजिरका रूपमा स्थापित भएको छ, यद्यपि अपेक्षित परिणाम हासिल गर्न अझ सुधार आवश्यक रहेको अनुभव गरिएको छ।’
यद्यपि कतिपय आवश्यक कानूनहरू अझै निर्माण हुन नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न बाँकी रहेको यथार्थ स्वीकार गर्नुपर्ने उनको भनाइ छ। सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन बैठक क्यालेन्डर निर्माण गरी विधेयक टुङ्ग्याउने प्रयास गरिए पनि सरकारले पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउन नसक्दा अपेक्षित गति हासिल हुन नसकेको उल्लेख गर्दै उनले संसद्लाई प्रभावकारी बनाउने विषयमा सरकार अझ संवेदनशील र उत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याइन्। रासस
प्रकाशित: २० फाल्गुन २०८२ १०:०१ बुधबार





