२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रतिपक्षविहीन सरकारले देशलाई युक्रेन र तानाशाहितर्फ धकेल्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षको आवाज दबाएर सरकार अघि बढे देश तानाशाही र युक्रेनजस्तै संकटतर्फ धकेलिने चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिपक्ष सरकारको विरोधी नभई ब्रेक र खबरदारी गर्ने सहयात्री भएको बताए।

आफूलाई एमाले वा अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता भनेर आक्षेप लगाइएकोप्रति आपत्ति जनाउँदै सांसद शाहीले दुई-तिहाइको सरकार छँदा पनि आफूले सडकमै उत्रिएर प्रश्न उठाएको स्मरण गराए।

‘हिजो ओली र प्रचण्ड नेतृत्वको सरकारलाई प्रश्न गर्दा मैले पटक-पटक ज्यान हत्केलामा राखेर आक्रमण सहेको छु,’ उनले भने, ‘हामी जनताका प्रश्न उठाउने सांसद हौं, कसैको कार्यकर्ता होइनौं।’

फेक र अश्लील भिडियोमार्फत आफू र परिवारलाई आत्महत्याको स्थितिमा पुर्‍याउने गरी चरित्र हत्या गरिएको दुखेसो पोख्दै उनले त्यस्ता प्रविधिजन्य आक्रमणविरुद्ध युवा अवस्थामा दिएको अभिव्यक्ति अप्राकृतिक नभएको दाबी गरे। यद्यपि, आफ्ना अभिव्यक्तिबाट शुभचिन्तकहरूमा पर्न गएको असरप्रति उनले क्षमा समेत मागेका छन्।

युक्रेनका जेलेन्स्की र जर्मनीका हिटलर पनि जनताबाटै निर्वाचित भएर पछि प्रतिपक्ष समाप्त पार्दा देश ध्वस्त भएको उदाहरण दिँदै उनले प्रतिपक्षबिनाको सरकार नुनबिनाको तरकारी जस्तै हुने टिप्पणी गरे।

असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत बाह्य शक्तिहरूसँगको साठगाँठले छिमेकीसँगको सम्बन्ध बिगारेर नेपाललाई युक्रेन बनाउने खतरा रहेको भन्दै उनले सरकारलाई सचेत गराए।

प्रकाशित: २५ श्रावण २०८३ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App