२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

थरीथरीका उम्मेदवार: फौजदारी मुद्दाका आरोपीदेखि विनोदीसम्म

फागुन २१ को निर्वाचनमा थरीथरीका उम्मेदवारहरू देखिएका छन्। कोही मुद्दा अदालतमा विचराधीन रहेकाहरू छन् भने कोही जनतासँग जोडिन विभिन्न नाटक गरिरहेका छन्। यसअघि नदेखिएका तर यसपटक उम्मेदवारी दर्ता गरेर मत माग्न जाँदा उनीहरूले अनेक नाटक देखाउँदा जनताले अशोभनीय महसुस गरिरहेका छन्।

अदलतमा मुद्दा विचराधीन रहेको अवस्थामा उम्मेदवारी दिनेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपाका नेता बलदेव चौधरी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी छन्। फौजदारी मुद्दाका अभियोगी चौधरीको उम्मेदवारी भने रद्द भइसकेको छ।

सहसंयोजक नेपाल रौतहट–१ बाट उठेका छन्। उनले निर्वाचनमा जित निकालिहाले पनि प्रतिनिधिसभा सदस्यमा शपथ लिन पाउँदैनन्। विघटित प्रतिनिधिसभामा पनि उनी निलम्बनमा थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा खरिद गरेको जग्गासम्बन्धी विषयमा उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ। नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले २०६६ माघ १८ गते काभ्रेको आठ सय १५ रोपनी जग्गा किनबेचका लागि अनुमति दिइएको थियो। त्यही मुद्दामा उनी मुख्य प्रतिवादी बनाइएपछि विघटित प्रतिनिधिसभाबाट उनी निलम्बनमा परेका थिए।

मुद्दा विचाराधीन रहेको र प्रतिवादी थुनामा नरहेको अवस्थामा उम्मेदवारी दिन पाइने सुविधाअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि चितवन–३ बाट उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउने दिन मात्र पनि उनीविरुद्धको सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतले एक करोड धरौटी लिएको थियो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका उनी उच्च अदालत, तुलसीपुरको भैरहवा इजलासको आदेशले पुर्पक्षका लागि थुनामा थिए। सोही अदालतको आदेशबाट पुस ३ गते उनी थुनामुक्त भएपछि उनले उम्मेदवारी दर्ताको अवसर पाए। यही अवस्थामा चुनाव जिते उनी स्वतः निलम्बनमा जानेछन्।

नाउपाका नेता चौधरीले ठहर भएको मुद्दाका कारण उम्मेदवारी खारेज भएको हो। कैलाली–१ बाट उम्मेदवार रहेका उनीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गरेको थियो।

गणतन्त्र दिवसको अवसरमा उनलाई २०८० जेठ १५ गते रिहा गरियो। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएको सन्दर्भलाई कैद भुक्तान भएको मानिएकाले उनको उम्मेदवारी खारेज भएको हो। नेकपाका तर्फबाट उदयपुर–१ मा उम्मेदवार रहेका बलदेव चौधरीविरुद्ध पनि अदालतमा मुद्दा विचाराधीन छ।

त्रियुगा नगरपालिकाको मेयर हुँदा उनीमाथि बरुवा खोला, त्रियुगा खोला र सुनकोसी नदीको नदीजन्य पदार्थ (माटो बाहेक) को प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सो मुद्दा अहिले पनि विचराधीन छ।

यसैगरी २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारले थरीथरी शैलीबाट भोट मागिरहेका छन्। उम्मेदवारहरूले विभिन्न किसिमका चटक देखाएर भोट माग्ने गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्।

प्रत्येक निर्वाचनमा निर्वाचन क्षेत्र बदल्दै आएका नेकपा संयोजक पुष्पकमदल दाहालले यसपटक सुरक्षित क्षेत्र खोज्ने क्रममा पूर्वी रुकुम रोजे। यतिबेला उनी पूर्वी रुकुमका विभिन्न गाउँमा भोट माग्न हिँडेका छन्। त्यही क्रममा उनले मयुर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मयुर नृत्य रुकुममा लोकप्रिय छ। यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा पनि गृह जिल्ला रुकुम पश्चिम पुगेर मयुर नाच नाचेको भिडियो सामाजिक सञ्जालमा आएको थियो।

यतिबेला सबैभन्दा बढी रमाइलो आम जनता पार्टी (आजपा) बाट रौतहट–४ मा उम्मेदवारी दिएका ऋषि धमलाले बनाइरहेका छन्। उनले देखाएका थरीथरीका गतिविधि यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। उनले कहिले उखुबारीमा पुगी उखु बोकेका हुन्छन् भने कहिले होटलमा पुगी जलेबी बनाइरहेका हुन्छन्। यसबिचमा उनको काठ चिरिरहेको भिडियोसमेत सामाजिक सञ्जालमा आएको छ।

उनले बोल्ने शैलीमा पनि अनौठो परिवर्तन देखिएको छ। स्थानीयवासीको मत जित्न उनले मैथिली भाषा बोलेका छन्। बुढापाकासँग आशीर्वाद मागिरहेको र स्थानीयवासीलाई ढोगेको उनका भिडियो यतिबेला भाइरल छन्।

भोट माग्दै नमस्कार गर्दै आफूले लगाएको मालासमेत अरूलाई लगाइदिएर अंकमाल गरेको भिडियो पनि यतिबेला सामाजिक सञ्जालमा देख्न पाइन्छ। धमलाका थरीथरीका भिडियो यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन्।

भोट माग्न उनले यतिसम्म गरेका छन कि चलाउन नजान्दा नजान्दै पनि साइकल चलाएका छन्। उनी साइकलबाट लडेको भिडियो यतिबेला भाइरल बनिरहेको छ। धादिङ घर भएका धमलाले चुनावका लागि रौतहट रोजेका छन्। रौतहट मधेसी समुदायको बाहुल्य रहेको जिल्ला हो। प्रभु साह नेतृत्वको आजपामा धमलाकी पत्नी एलिजा गौतम उपाध्यक्ष छिन्। एलिजा एक महिनामै पार्टी फेरेर आजपामा गएकी थिइन्।

गुल्मी–२ मा रास्वपाबाट उम्मेदवारी दिएका सागर ढकालले बोलेको भिडियो पनि यतिबेला भाइरल बनेको छ। उनले भनेका छन्, ‘मैले विभिन्न देश बनाएँ। अब नेपाल बनाउन आएँ। नेपाल बनाउने पाउने कि नपाउने?’

अमेरिका–चीनले बोलाइरहेको भए पनि आफूलाई नेपालको माया लागेर गुल्मीमा चुनाव लड्न आएका उनले बताएका छन्। २०७९ सालको निर्वाचनमा ढकालले डडेलधुरामा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चा कमाएका थिए। त्यतिबेलाको चर्चा यसपटक पनि उनले कायमै राख्न खोजेका छन्।

यसैगरी रास्वपाबाटै गोरखा–१ मा उम्मेदवारी दिएका सुदन गुरुङले आफूभन्दा ठुलो भारी बोकेर उकालो हिँड्दै गरेको भिडियो यतिबेला भाइरल बनेको छ।

जेनजी आन्दोलनको बेला उनी चर्चामा आएका थिए। त्यो चर्चालाई उनले कायमै राखेका छन्। यसैगरी नुवाकोट–२ मा रास्वपाबाट उम्मेदवारी दिएका डा. अच्युतम लामिछानेले पनि फरक शैलीबाट भोट मागेका छन्। राष्ट्रिय झन्डा ओढेर दौडिँदै मतदाताको खुट्टा ढोग्न गएको र पछि पुरै निहुरेर माटो ढोगेको भिडियो यतिबेला भाइरल बनेको छ। अरू केही उम्मेदवारले पनि राष्ट्रिय झन्डा ओढेर भोट माग्ने गरेका छन्।

प्रकाशित: ९ माघ २०८२ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App