१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

आफ्ना वरिपरि घुम्नेहरूलाई शासन सत्ता दिएर मुलुक बन्दैन: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले व्यक्तिको विचारले मात्र मुलुक चल्ने तर व्यक्तिको अवसरले नचल्ने टिप्पणी गरेका छन्।

आइतबार भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले सही मान्छेलाई अवसर नदिई आफ्ना वरिपरिका घुम्नेहरूलाई मात्र पद दिएर देश नबन्ने जिकिर गरे।

‘आफ्नो वरिपरि आफ्ना कार्यकर्ता, आफ्ना घुम्नेहरूलाई शासन सत्ता दिएर मुलुक बन्दो रहेनछ भन्ने कुरा ३४ वर्षको हाम्रो उदाहरण हो,’ सम्बोधनका क्रममा भण्डारीले भने, ‘व्यक्ति विचारले चल्छ, व्यक्ति अवसरले चल्दैन। सही मान्छेमा अवसर गयो भने मुलुक बन्छ, असल मान्छे छैन भने जति पद दिए पनि मुलुक बन्दैन।’

नेता भण्डारीले सभापति शेरबहादुर देउवालाई वरिपरिको घेरा तोडेर महाधिवेशनमा आउन आग्रह गरे। कृष्णप्रसाद भट्टराईले जस्तै विवाद र द्वन्द्वको अन्त्य गर्न सभापति देउवाले उदारता देखाउनुपर्ने उनको भनाइ थियो।

‘कृष्णजीका अनुयायी आदरणीय शेरबहादुर दाइलाई म अनुरोध गर्न चाहन्छु, त्यो घेरा छोडेर यो कांग्रेस तपाईंहरूलाई म हस्तान्तरण गर्न आएको छु भन्न आग्रह गर्छु,’ भण्डारीले भने।

नेता भण्डारीले राजा ज्ञानेन्द्रले दरबारमा बोलाएर श्रीपेच हस्तान्तरण गरेर हिँडेको स्मरण गर्दै आफ्ना नेतालाई जोगाउन हेलिकप्टर चढाएर अमनचयनमा राख्नुपर्ने अवस्था आएको भन्दै व्यंग्य गरे।

‘राजा ज्ञानेन्द्रले आफैँ गाडी चलाएर हाँसेर गए, तर हाम्रा नेतालाई जोगाउनलाई हेलिकप्टर चढाएर अमनचयनमा राख्नुपर्यो,’ उनले प्रश्न गरे, ‘त्यो पनि कुनै प्रजातन्त्र हो ? कसैको घर बनाउनु, कसैको गाडी चढ्नु प्रजातन्त्र हो ? त्यो प्रजातन्त्रलाई जगाउनु आज हाम्रो लक्ष्य हो।’

प्रकाशित: २७ पुस २०८२ १७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App