coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेटुवा जातिको गुनासो: हामीहरुले कहिले भत्ता पाउछौ?

सुद्धोदन गाउपालिका– १ प्रगतिनगरमा नेटुवाहरुको समस्या सुन्दै बाम लोकतान्त्रिक गठबन्धनका कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार चक्रपाणी खनाल।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि अहिले उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न घरदैलो  भेटघाटमा जुटेका छन्। उनीहरुले मतदातालाई आकर्षित गर्न विभिन्न आश्वासन बाचा बाडदै हिडेका छन्। उम्मेदवारहरु मत तान्न अन्तिम कसरतमा जुटेका छन।  

यसै क्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ सुद्धोदन गाउपालिका वडा नम्बर १ प्रगतिनगरमा मत माग्न पुगेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेवलाई नेटुवाहरुले हामीले कहिले भत्ता पाउने भन्दै प्रश्न गरे। उनीहरुले आफु सरहकै पत्थरकट्टा जातिका ब्यक्तिहरुले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता पाउदै आए पनि नेटुवा जातिले भने अहिलेसम्म भत्ताबाट बंचित हुदै आएकोमा दुःखेसो पोखका छन्।  

राज्यले अल्पसंख्यक जातिका रुपमा सुचीकृत नगरे पछि भत्ताबाट बञ्चित हुँदै आएको उनीहरुले गुनासो गरे। वर्षौदेखि यही माग राखेर आफुहरुले नेताहरुलाई भोट दिएर जिताउदै आए पनि जिते पछि मुख समेत देखाउन नआएको मनोज नेटुवाले गुनासो गरे। ‘हामी दलित जाती भन्दा पनि तल्लो जाती हौ, जातीय संख्यामा पनि निकै कम छौँ तर हाम्रो कुनै सुनुवाई हुदैन’ उनले भने। ३ दशकदेखि सरकारसंग माग राख्दै आए पनि अहिलेसम्म आफुहरुको कसैले सुनुवाई नगरेको उनीहरुको गुनासो छ।  

सुद्धोदन गाउपालिका– १ प्रगतिनगरका महेन्द्र नेटुवाले उम्मेदवाहरु आफुहरुसंग मत माग्न आउदा माग पुरा गछौ भन्ने गरेको बताए। तर जितेर गए पछि सबै बिर्सिने गरेको उनले गुनासो गरे। ‘उम्मेदवारसंग मात्र होइन पटक पटक काठमाडांै धाए पनि कसैले चासो नदिएको उनले दुःखेसो पोखे। ‘लोपोन्मुख जातीको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो तर राज्यले अझै सुनेको छैन’ उनले भने।  

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा ढेड घरमा २ सय बढी नटुवाको बसोबास छ। सुकुम्बासी बस्तिमा बसेका उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्र बाहेक केही छैन। रातदिन उनीहरुलाई गासँ, बास, कपासकै पिरलो छ। आफुहरु भन्दा माथील्लो जातका रुपमा रहेको पत्थरकट्टहरुलाई सुचीकृतमा राखेर राज्यले सुविधा दिए पनि आफुहरु अझैसम्म अल्पसंख्यक जातिका रुपमा पर्न नसकेको गुनासो गरे। थर नटुवा भएको नागरिकता बनाए पनि आफुहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उनले बताए। ‘हामी भन्दा पथ्थरकट्टा उपल्लो जाती हो उनले भने, ‘हामीले छोएको पानी पनि खादैनन् पथ्थकट्टाहरु।’ पथ्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन’ उनले भने, ‘सरकारी सुविधा माग्न जादा किन दिदैनन?’।  

शिक्षा, स्वास्थ्य र रोजागरीबाट समते बञ्चीत हुँदै आएका उनीहरुको दैनिकी निकै कष्टकर छ। दिनभरी भिक्षा मागेर जिविकोपार्जन गर्ने उनीहरुको दैनिकी बनेको छ। पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन्। नटुवा बसोबासका वरपर ठूला ठूला पक्की घर छन्, अगाडी हुलाकी मार्ग छ, नजिकै विद्यालय छ तर उनीहरुको जीवन अन्धकारमा व्यतित छ। स्थानीय महेन्द्र नेटुवाले प्रजिअ मार्फत मन्त्रालयमा धेरै पटक ज्ञापन पत्र समेत बुझाउदा कुनै उपलब्धी नभएको बताए। ‘ हाम्रो समस्याको बारेमा कसैले पनि चासो राख्दैनन, हामी पनि यो देशको नागरिक हो तर नागरिकता बाहेक केही छैन ’ उनले भने।  

नेपाली नागरिक भए पनि आफुहरुलाई भारतीय भनेर समेत विभेद गर्ने गरिएको उनको दुःखेसो छ। अल्पसंख्यक जातिका सूचीकृत पत्थरकट्ट जातिका प्रत्येक ब्यक्तिले मासिक ४ हजार सामाजिक सुरक्षा भत्ता बुझने गर्छन। स्याल सर्प मारेर खाने जातिका रुपमा समेत नेटुवा जाति परिचित छन्। शिक्षा, स्वास्थ्य, रोजगारबाट समेत बञ्चित भएका उनीहरुको दैनिकी कष्टकर छ। दिनभरि भिक्षा मागेर खाने दैनिकी बनेको छ। उनीहरु सर्प नचाएर पाएको पैसा तथा अन्नले गुजारा चलाउँदै आएका छन्। विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कपिलवस्तुमा २ सय ९१ को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको छ। कपिलवस्तुमा २०७८ मा गरीएको घरधुरी सर्भेक्षण अनुसार ८२ घर धुरीमा ५ सय ४  जना रहेका छन्।  

सुद्धोदन गाउँ पालिकाको प्रगतिनगर, मायादेबी गाउँ पालिकाको अभिराव, सुद्धोदन गाउँ पालिकाको बसन्तपुर लगायतका स्थानमा नेटुजा जाित बस्ने गर्छन्। बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेवले आफुले नेटुवाहरुको माग पुरा गराएरै छाडने प्रतिबद्धता ब्यक्त गरेका छन्। नेटुवा जाति अति पीछडिएकाले शिक्षा स्वास्थ्य रोजगार लगायतका क्षेत्रबाट बञ्चित हुँदै आएको भन्दै उनले अब आफुले उनीहरुलाई अल्पसंख्यक जातिका रुपमा सूचीकृत गराउने बताए। २०७४ सालमा जितेर पनि उनीहरुको समस्या समाधान गर्न नसकेको प्रति आफुलाई ग्लानी भएको भन्दै अबको ५ वर्ष भित्र आफुले उनीहरुको माग सम्बोधन गराउने बताए। ‘ ५ वर्षे कार्यकालमा मैले कृषि, सिचाई लगायतका क्षेत्रमा बढी ध्यान दिए अब सामाजिक क्षेत्रमा पनि विशेष ध्यान दिनेछु ’ उनले भने। नेटुवाहरुको शिक्षा स्वास्थ्य रोजगारका विषयमा पनि कुरा उठान गरी ठोस पहल गर्ने उनले बताए।  

प्रकाशित: ३० कार्तिक २०७९ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App