६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

‘लालपुर्जा’ सधैँको चुनावी मुद्दा

रत्ननगर नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्गको टिकौली जंगल नपुग्दै दोभान टोल छ। यहाँ वर्षौदेखि सिंचाईको जमिनमा भूमिहिनहरु बस्दै आएका छन्। त्यसमध्येका एक हुन् दलबहादुर आलेमगर। उनका घरमा उम्मेद्वारहरु भोट माग्न आइसकेका छन्। अधिकांश नेताले उनलाई लालपुर्जा(जग्गा धनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनको लागि नयाँ होइन।  २०५६ सालअघि देखि नै उनले उम्मेद्वारबाट यही सुन्दै आएका छन्। तर, उनी लालपुर्जा पाउनेमा भने आशावादी छैनन्।

‘नेताहरु आनुहुन्छ। लालपुर्जा दिन्छु भन्नुहुन्छ,’ बिहिबार हाँसलाई चारो हाल्दै गर्दा भेटिएका दलबहादुरले भने, ‘उहाँहरुको भर त लाग्दैन।’ सानैमा बाबुसँग उनी धादिङबाट चितवन झरेका हुन्। सुरुमा जहाँ कमाए त्यही खाने बस्ने गर्दथे। बिहे गरेपछि यो ठाउँमा उनी २०४६ सालदेखि बस्दै आएका हुन्। यहाँ दुई छोरा र एक छोरी हुर्काए। छोरा छोरीको बिहेबारी गरिदिए। लालपुर्जाको आश्वासनमा भोट माग्ने गरेको उनले सुनाए। उम्मेद्वार आश्वासन दिएपनि उनमा उत्साह छैन।

मिना मुखिया ३१ बर्ष पुगिन्। लालपुर्जा पाउने आशमा उनले तीन पटक भोट दिइन्। अहिले पनि चुनाव आउनुभन्दा एक महिना अघिदेखि नै उम्मेद्वारहरु लालपुर्जा दिने भन्दै भोट माग्न आइसकेका छन्। टिकौली जंगलमा दाउरा खोज्न जाँदै जाने तयारीमा रहेकी मिनाले भनिन् ‘हामी सधै सुकुम्बासीको सुकुम्बासी हुने भइयो। नेताहरुले आश्वासन मात्र दिनुहुन्छ। हामीलाई कहिल्यै हेर्नुहुन्न। भोट पाएपछि आउनुहुँदैन।’ उनी  लाल पुर्जा पाउनेमा भने अझै आशावादी नै छन्। उनका श्रीमानले सौराहामा टाँगा चलाएर जिवन गुजरा चलाउँदै आएका छन्।

हरेक चुनावमा भोट माग्दा नेताले सम्झिन्छन्, पछि फर्केर आउँदैनन्। सोही बस्तीकी सन्तोषी परियार यसपटक मतदान नगर्ने मनस्थितिमा पुगेकी छिन्। ‘नेताहरुले दालितहरुका लागि केही गर्दैनन्। नेताहरु भोटका लागि मात्र आएर ज्यू ज्यू गर्नुहुन्छ। भोट दिनुहै हामी गर्दछौँ भन्नुहुन्छ,’ उनले भनिन् ‘लालपुर्जा पाउने आश पनि छैन भोट पनि हाल्ने।’ उनीहरु जंगल छेऊमै वस्छन्। घाँस दाउरा गरेर जिवन गुजरा गर्नुपर्ने हुन्छ। तर, जग्गाधनी पुर्जा नहुँदा जंगलमा पस्न नपाएको उनी बताउँछिन्।  

६२ बर्षिय कुलचन्द्र दराई जग्गा जमिन छैन। अर्कैको घरमा हुर्किका दराई २०४६ सालदेखि टिकौली जंगल नजिक रहेको सुकुम्बासी टोलमा बस्छन्। २०३८ सालदेखि नै ठेला चलाएर जीवन निर्वाह गर्दछन्। लाल पुर्जा नपाए पनि भोट हाल्ने उनले बताए। ‘हामीले भोट नहाले पनि जितेर जानुहुन्छ, ’ठेला चलाउँदै गर्दा भेटिएका दराइले भने ‘लालपुर्जा नदिए पनि भोट त दिनुपर्ने होला।’ उनले २०४६साल देखिका सबै निर्वाचनमा मतदान गरेको उनले बताए।  

दोभान टोलमा १ सय ५० घरधुरी छ। अधिकांश मानिसहरु २०४६सालपछि आएर बसेका हुन्। कोही राप्तीमा बाढी आएपछि आएका हुन् भने कोही जग्गा जमिन नभएपछि बसेको पाइन्छ। यहाँका बासिन्दाले मजदुरी गरेर नै जिवन निर्वाह गर्ने गर्दछन्।  

उनीहरु बसेको यो सरकारी जग्गा व्यक्तिको नाममा दिन मिल्दैन। तर, नेताहरुले भोटका लागि आश्वासन दिने गरेका छन्। अहिले भूमि आयोगले समेत निश्सा दिएको दोभान टोलकी अध्यक्ष उर्मिला पास्वाङ बताउँछिन्। ‘हामी पहिलेदेखि सिंचाइको अफिस भनेर झाडी फाडेर बसेको हो,’ उनले भनिन्, ‘अहिले रातोपुर्जा दिन्छौँ भनेर निस्सा बाढ्नुभएको छ।’ यहाँ सिंचाइँले डाँडो काटेर  माटो लगेपछि मानिसहरु बस्न थालेका हुन्। तर, अहिले व्यक्तिको नाममा पुगेको उनीहरु बताउँछन्।  

दोभान टोलको छेउमै प्रदेश  सभा सदस्यका उम्मेद्वार कृष्णप्रसाद खनालको घर छ। उनीले यसपटक पनि भोट मागिसकेका छन्। वाग्मती प्रदेशका आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्री समेत रहेका खनालले निर्वाचत भएपछि लालपुर्जा दिने पास्वाङ बताउँछिन्।  

‘रत्ननगरमा १ हजार ५०० घरधुरी सुकुम्बासी छ। हामीले यहाँ लालपुर्जा बाढ्ने तयारी गरेका छौँ। अहिले निर्वाचन आचारसंहिताले दिँदैन। निर्वाचन भएपछि हामीले स्थायी घर दिन्छौँ भन्नुभएको छ,’ उनले भनिन्, ‘सरकारले दिने भनेको सरकारी जग्गा त होला नि?’

यस टोलमा सबै समुदायका मानिसको बसोवास छ। खोलाको छेउमै रहेको यस बस्तिमा बाढी आउने सम्भावना बढी छ। यहाँ नभएपनि अन्यत्र ठाउँमा व्यवस्थित गर्नुपर्ने उनको भनाई।  

चितवनमा ४१ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको भूमि आयोगको तथ्याङ्कमा उल्लेख छ।  जसमध्ये ४ हजार ५ सय ८३ जना भूमिहीन दलित, १२ हजार ८६ जना भूमिहीन सुकुम्बासी, २४ हजार ६ सय ६५ जना अव्यवस्थित बसोबासी छन्।  उनीहरुको समस्या समाधान गर्ने भन्दै उम्मेद्वारहरुले आफ्नो चुनावी घोषणा पत्रमा नै पेश गरेका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App