८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको हात र साथले दाहाललाई सहज

सत्ता गठबन्धनतर्फ गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही कात्तिक १२ गते यहाँबाट निर्वाचन जित्न आफूलाई सहज भएको बताएका थिए। ‘अहिलेसम्मका निर्वाचनमध्ये मैले यसपटक सबैभन्दा सहज र एक हिसाबले रिल्याक्स फिल गरेको छु,’ उनले अजिरकोटको सभामा भनेका थिए। यसअघि देशका विभिन्न क्षेत्रबाट निर्वाचन लडेका दाहाललाई गोरखा २ मा सहज जित निकाल्न कठिनाइ नरहेको स्थानीय बुद्धिजीवीसमेत बताउँछन्। सभामा उनले पुरानो सम्बन्ध र स्मरण दोहोर्‍याउने अवसरका रूपमा आफूले यो निर्वाचनलाई लिएको उनले बताएका थिए।  

दुईपटक प्रधानमन्त्री बनिसकेका दाहालले गोरखा २ रोज्नुमा उनको ठूलै चलाखी देखिन्छ। गोरखा र पृथ्वीनारायण शाहकोे ऐतिहासिक साइनो छ। त्यही साइनो गाँसेर राष्ट्रिय राजनीतिमा शक्तिशाली बन्ने महŒवाकांक्षा दाहालमा देखिन्छ। २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि पनि दाहाल गोरखा दरबार पुगेका थिए। त्यहाँबाट उनले आफू शक्तिशाली भएको सन्देश दिएका थिए।

गोरखामा पञ्चायतकालमा सत्ता पक्ष र नेपाली कांग्रेसबीच द्वन्द्व सुरु भयोे। बहुदल आएपछि त्यो द्वन्द्व माओवादी र कांग्रेसमा परिणत भयो। काटमार नै भयो। २७ जना कांग्रेसका कार्यकर्ता माओवादीबाट मारिए।  

अहिले हिजोको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसको हात र साथले दाहाल यहाँबाट निर्वाचन जित्ने दाउमा छन्।  

घरदैलो र चुनावीसभा सम्बोधनमा व्यस्त दाहाल दैनिक १४ घण्टा चुनावी काममा खटिरहेको उनको सचिवालयका रमेश मल्लले बताए। दाहालका सभा र घरदैलो निकै छोटो समयका हुने गरेका छन्। दाहाल विगत र वर्तमानका शुभेच्छुकहरूको भेटघाट र सम्बन्ध नवीकरणमा पनि व्यस्त रहेको मल्लले बताए। ‘चितवनबाट उठेको भए सत्ता गठबन्धनको भोट निर्णायक बन्थ्यो। गोरखामा चाहिँ माओवादी केन्द्रको भोटले नै उहाँलाई सहज बनाउने देखिन्छ। गठबन्धनका कारण त्यस्तो सहज बनेको चाहिँ होइन,’ मल्लले भने। ‘हिजो निर्वाचन जित्नेहरू र हार्नेहरू नै अहिले गठबन्धन गरी एउटै चिह्नमा लडेकाकाले प्रतिस्पर्धा नै छैन। गठबन्धनले गर्दा गोरखामा निर्वाचनको प्रतिस्पर्धा नै नदेखिएको हो,’ स्थानीय डण्डप्रसाद पुडासैनीले भने। जितका लागि गोरखा २ सहज भएको बताए पनि दाहालले आफूले जितेमा प्रधानमन्त्री बन्ने र गोरखाको विकासलाई अगाडि बढाउने भन्दै मतदाता रिझाउन भने छाडेका छैनन्। धुले र कच्ची बाटो पक्की बनाउने, पालुङटार विमानस्थल सञ्चालन गर्ने, गोरखाली रबर उद्योग सञ्चालन गर्र्ने, बुढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्ने, आरुघाट–लार्के सडक निर्माण गर्ने दाहालको प्रतिबद्धताले आकर्षण गरे पनि चुनावैपिच्छे क्षेत्र परिर्वतन गरिरहने छवि बनाएका उनका वाचा कार्यान्वयन हुनेमा मतदाता त्यति विश्वस्त हुने सकेको देखिन्न। बाबुराम भट्टराईसँगै चुनाव प्रचारप्रचार गरिरहका उनले आपसमा तिक्तता मेटिएको र संगठित रहेको देखाउन खोजिरहेका छन्। दाहाल अहिले निर्वाचन लडेको क्षेत्रबाट यसअघि भट्टराईले जितेका थिए। भट्टराई गोरखाबाट तीनपटक निर्वाचित भइसकेका छन्।  

दाहालका प्रतिस्पर्धी एमालेका उम्मेदवार अब्दुस सलाम मियाँ दुई महिनाअघि मात्रै सो पार्टीमा प्रवेश गरेका हुन्। एमालेको संगठन गोरखा २ मा तुलनात्मकरूपमा कमजोर देखिन्छ। एनजिओमा आबद्ध रहेका मियाँ आफूलाई सार्वजनिक नीतिका अनुभवी दाबी गर्छन्। शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात सेवा सरकारले जिम्मा लिएर काम गर्नुेपर्ने, सामाजिक सुरक्षा, गरिबी न्यूनीकरणका योजना अगाडि बढाउने, अजिरकोटमा होमस्टे सञ्चालन गरी पर्यटकीय स्थल बनाउने, प्राकृतिक स्रोतको पहिचान गरी दिगो आम्दानी गर्ने, गोरखा जिल्लाभित्रका करिब पाँच सय किमी कच्ची बाटोको स्तरोन्नति र कालोपत्रे गर्नेलगायतका अजेन्डा उनले अघि सारेका छन्। आफ्ना अजेन्डा र युवा नेतृत्वका लागि अहिले जनताले मत दिनेमा उनी विश्वस्त छन्। मुस्लिम समुदायको भोट पनि उनले सहानुभूतिका आधारमा पाउने देखिन्छ। यो क्षेत्रमा थोरै संख्यामा मुस्लिम समुदायको बसोबास छ।  

यसअघि यो क्षेत्रबाट कांग्रेका चिरञ्जीवी वाग्ले, चिनकाजीले पनि निर्वाचन जितेका थिए। यो निर्वाचनमा उनीहरू जिल्ला फर्किएका छैनन्। कांग्रेस नेतृत्वले यो क्षेत्रमा दाहाललाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाएकोमा जिल्लास्तरका केही नेताकार्यकर्तामा असन्तुष्टि देखिन्छ। अहिलेको चुनावी गठबन्धनले गोरखामा कांग्रेसको संगठन कमजोर बन्दै माओवादी हाबी हुने र विकासमा पनि जिल्ला पछि पर्ने असन्तुष्टहरूको ठम्याइँ छ। यसअघि यसै क्षेत्रबाट निर्वाचन जितेकी कमला पन्त भने दाहाललाई चुनावी अभियानमा सघाइरहेकी छन्। संविधानसभा सदस्य निर्वाचन २०६४ मा भने गोरखामा माओवादी हाबी भयो।  

दाहालले गोरखा १ का उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईंको साथ पनि लिइरहेका छन्। बजगाईंकै पहलमा आफू गोरखा २ मा चुनाव लड्न आएको आएको बताउँदै आएका दाहाल बजगार्इंको प्रचारप्रसार र घरदैलो अभियानमा पनि सहभागी छन्।  

यो क्षेत्रमा २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूलाई प्राप्त मतका आधारमा पनि सत्ता गठबन्धन बलियो देखिन्छ। समानुपातिकतर्फ कांग्रेसले ३५ हजार ४ सय १९, माओवादी केन्द्रले ३४ हजार ७ सय ३३, तत्कालीन नयाँ शक्ति पार्टी नेपालले १८ हजार ४ सय १३ मत, एमालेले १७ हजार ८ सय १३, एकल चिह्न हँसिया र ताराले १ हजार १८, विवेकशील साझा पार्टीले ७ सय ६३, राप्रपा गाईले ६ सय ८९ मत पाएका थिए।  

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ चाहिँ माओवादी केन्द्रले ३२ हजार ९ सय ३३ मत, कांग्रेसले ३२ हजार ५ सय ९५, तत्कालीन नयाँ शक्ति नेपालले १८ हजार ८ सय ७, एमालेले १७ हजार १ सय २३ र राप्रपाले ८ हजार ७५ मत पाएका थिए।

प्रकाशित: ३० कार्तिक २०७९ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App