७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पाँच वर्षभित्र पर्सा १ लाई कच्ची सडकमुक्त बनाउँछु: प्रदीप यादव

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले आगामी पाँच वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रलाई कच्ची सडक मुक्त बनाउने बताएका छन्।

शुक्रबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ स्थित सोलखपुर र कोनिया टोलमा घरदैलोका क्रममा मतदाताहरुस्नाग कुराकानी गर्दै यादवले आगामी पाँच वर्षमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण रुपले कच्ची सडकलाई विस्थापित गर्दै पक्की नालासहितको सडक निर्माण गर्ने बताएका हुन्।

आफ्नो पाँच वर्षको कार्यक्रलामा रणनैतिक सडक, संसदीय विकास कोष र विभिन्न मन्त्रालयमार्फत् योजनाहरु ल्याएर क्षेत्रका अधिकतम सडकलाई पक्की बनाएको दाबी गर्दै यादवले भने, 'वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु। बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।'

सडक सञ्जालको विकासले ग्रामिण क्षेत्रका कृषिकको उत्पादन सहजै बजारसम्म पुग्ने, शिक्षा र रोजगारका लागि दैनिक रुपमा गाउँबाट शहर आउनेहरुलाई सहजता हुने भएकोले कच्ची सडकलाई प्राथमिकताका साथ पक्की बनाउन आफू लाग्ने यादवले बताए।

'सडक सञ्जाल राम्रोसँग विकास नहुँदा ग्रामिण भेगका कृषकहरुले उत्पादन गर्ने तरकारी, दुधलगायतका बस्तु समयमा बजार नपुग्दा उहाँहरुलाई सधै घाटा हुन्छ। त्यसमाथि कच्ची सडकमा दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ,' पूर्वमन्त्री समेत रहेका यादवले भने, 'त्यस्तै शिक्षा र रोजगारका लागि दैनिक गाउँबाट आउनेहरुलाई सडक नहुँदा धेरै पिडा भोग्नु परेको हुन्छ। त्यसैले सबै सडकहरुलाई पूर्ण रुपले पक्की बनाउनु मेरो प्राथमिकता हो र आगामी पाँच वर्षमा म यो गरेर देखाउँछु।'

घरदैलो कार्यक्रमका दौरान ठाउँ-ठाउँमा स्थानीयहरुले यादवलाई स्वागत पनि गरेका थिए भने, 'प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ, प्रदीप यादवलाई मतदान गरौँ, जस्ता नारा पनि लगाएका थिए। कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारीप्रसाद यादव लगायत जसपा र एमालेका स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: २५ कार्तिक २०७९ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App