७ वैशाख २०८१ शुक्रबार
राजनीति

लैंगिक हिंसा, पूर्वाग्रह तथा कूरीतिविरुद्धको लडाइँ जित्न बाँकी छः राष्ट्रपति भण्डारी

फाइल तस्बिर।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन्।

राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको पनि बताइन्।

आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाइ महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराइन्।

राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागीता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको बताइन्। सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरुविरुद्धको लडाइँ जित्न बाँकीनै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

उनले महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौतीहरु सामना गर्ने सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा आफूले सम्मानित महसुस गरेको बताइन्। त्यस अवसरमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनिकरणका लागि स्रोत, साधन, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिका लागि छरितो तथा पारदर्शी संयन्त्र निर्माण गर्न पनि विश्व समूदायलाई आह्वान  गरिन्।

नेपालको हरित गृह ग्याँस उत्सर्जनमा कुनै पनि भूमिका नरहेता पनि जलवायु परिवर्तनको असर भोग्नु परिरहेको भन्दै राष्ट्रपति भण्डारीले यसको प्रभाव न्यूनीकरणका लागि नेपालले उच्च प्रतिबद्धताका साथ काम गरिरहेको स्पष्ट पारिन्।

उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक परेकाले त्यसको सामना गर्न स्रोत, साधन र क्षमताको अभाव पनि उत्तिकै टड्कारो रुपमा रहेको बताइन्। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको कारण लाखौं मानिसहरुको जीवन जोखिममा परेकाले त्यसको प्रभाव न्यूनीकरणमा सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताइन्।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ को कार्यक्रममा सहभागी हुन दुई दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारी मंगलबार आइसल्यान्ड पुगेकी हुन्। उनी विभिन्न कार्यक्रममा सहभागी भएर यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App