८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

फाइल तस्बिर।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल आज बैतडी आइपुगेका छन्। संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्।

उनीहरूलाई संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनावी प्रचार–प्रसार संयोजक तथा नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) लगायतले फूलमालासहित स्वागत गरे।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभाको आयोजना गरिएको नेपाली काँग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सत्तारूढ शीर्ष नेताहरू यहाँ पुगेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। यस्तै उनीहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ। उनीहरूले आजै दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरेका थिए।

बैतडीमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन्। गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन्। प्रदेशसभा (१) मा नेपाली काँग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा ९२०मा नेपाली काँग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन्। 

प्रकाशित: २३ कार्तिक २०७९ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App