१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सोरुङछबिसे काण्डका मृतक परिवारलाई राहत, चुनाव बहिस्कार फिर्ता

कटारी नगरपालिकामा नमूना मतदानको अभ्यास गरिदै। तस्विरः महेश्वर

गएको वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा सुरक्षाकर्मीको गोली लागेर युबकको ज्यान गुमाउनुका साथै किशोर घाइते भएको घट्नालाई लिएर आगामी मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने कटारी नगरपालिका १० सोरुङछबिसे बासीको निर्णय फिर्ता हुने भएको छ। घट्नाबारे भएको सहमति राज्यले कार्यान्वयन नगरेको भन्दै स्थानीयले सर्वदलीय बैठक राखेरै चुनाव बहिस्कार गर्ने निर्णय गरेका थिए।  

स्थानीयले बहिस्कारको निर्णय फिर्ता लिएपछि अव चुनाव शान्तिपूर्वक हुने अपेक्षा गरिएको छ। स्थानीयतह चुनावमा जनता कालिका मावि सोरुङ केन्द्रमा मतदान सकिएलगत्तै विवाद हुँदा प्रहरीले चलाएको गोलीले १८ वर्षीय वीरबहादुर कटुवालको घट्नास्थलमै ज्यान गएको थियो।  

घट्नापछि भएको दोषीलाई कारबाही गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिने तथा मृतकलाई सहीद घोषणा गर्नेलगायत ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयबासीले चुनाव बहिस्कार गर्ने चेतावनी दिएका थिए। घट्नालाई लिएर मृतकका आफन्त, स्थानीयबासी र राज्यपक्षबीच पटकपटक भएको छलफलले ६ बुँदे सहमति गरी ३ दिनपछि मतगणना सुरु भएको थियो।  

तर, घट्नाको ७ महिना पुरा हुन लाग्दासम्म कार्यान्वयन नगरेको भन्दै स्थानीयले सर्बदलीय, सर्बपक्षीय बैठक राखेर चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा र सरोकारवाला व्यक्ति र निकायको सहभागितामा भएको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको थियो।  

‘७ महिनाअघिको घट्नाप्रति राज्य मुकदर्शक भएर सहमति कार्यान्वयन नगरेले मंसिर ४ को चुनाव कुनै पनि हालतमा सञ्चालन हुन नदिने निर्णय गरेका थियौँ’ वडाध्यक्ष खड्काले भने ‘अव केही माग पुरा हुने भएपछि निर्णइ फिर्ता लिदैछौँ।’ वडाध्यक्ष खड्काका अनुसार ६ बुँदे सहमतिमध्ये आंशिक माग पुरा हुने भएपछि चुनाव बहिस्कारको निर्णय फिर्ता लिने सहमति भएको हो।

घट्नामा कटुवालको ज्यान लिनुका साथै अर्का स्थानीय १३ वर्षीय मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए। घटनापछि तनावग्रस्त भएको सोरुङबासीले मतपेटिका र शबसमेत उठाउन दिएका थिएनन्। जिल्ला प्रशासन, प्रहरी, राजनीतिक दल, कटारीस्थित इलाका प्रशासन, प्रहरी र नगरपालिकाको संयुक्त प्रयासमा लामो छलफलपछि ६ बुँदे सहमति गर्दै ३ दिनपछि मात्र शव उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाइयो भने मतगणना गरिएको थियो।  

सहमति अनुसार घट्नाबारे उच्चस्तरीय छानबिन गृह मन्त्रालयमार्फत आयोग गठन गर्ने, मृतकलाई सहीद घोषणा गर्न र दोषी सुरक्षाकर्मीलाई निलम्बन गरी कारबाही गर्न गृह मन्त्रालयलाई लेखि पठाउने, मृतक परिवारलाई क्षतिपूर्ति दिने, घाइतेलाई उपचार र उचित क्षतिपूर्ति दिनेलगायत बुँदाहरु थिए। तीमध्ये हाललाई केही मागहरु पुरा गर्ने र बाँकी कुरा माथिल्लो निकायसँग पुरा गर्न लेखि पठाउने सहमति गरेपछि बहिस्कारको निर्णय फिर्ता भएको कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।  

नगरपालिका, प्रशासन, प्रहरी र कटारी इलाका प्रशासन तथा प्रहरीसँगै राजनीतिक दलहरुबीचको छलफलले सहमति आंशिक भए पनि कार्यान्वयन गरेर चुनाव निर्भयपूर्वक सम्पन्न गर्ने निर्णय गरेको मेयर श्रेष्ठले बताए। उनका अनुसार राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी, निर्वाचन कार्यालय र स्थानीयसमेतलाई सहभागी भएको बैठकले यो निर्णय गरेको हो। मंगलबार बसेको सामुहिक छलफलले तत्काल गर्न सकिने माग पुरा गर्ने र बाँकी मागका लागि गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएसँगै स्थानीयबासी चुनाव बहिस्कार गर्ने निर्णय फिर्ता लिएको मेयर श्रेष्ठले बताए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले घट्नाको पीडितपक्षको माग सम्बोधन गरेर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बाटो खोलिएको बताए। उनका अनुसार मृतक परिवारको नाममा १० लाख रकम राहतस्वरुप बुधबारै बैंक खातामा जम्मा गरिदिएको र अन्य मागहरु पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताए। जस अनुसार घट्नाको छानविन गर्न गृह मन्त्रालयबाट गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न र मृतकलाई सहीद घाष्ोणा गर्न गृहलाई आग्रह गर्ने, घाईतेको उपचारमा लागेको खर्च बेहोर्ने काम भएको सिडिओ गौतमले बताए।  

स्थानीयले बहिष्कारको निर्णय फिर्ता लिएसँगै बुधबारदेखि सोरुङछबिसेमा राजनीतिक दलहरुले चुनावी गतिविधि गर्न खुल्ला भएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार सो वडामा २ हजार १ सय ४० मतदाता रहेका छन्। स्थानीय चुनाबमा १ हजार ४ सय ६८ मत खसेको उनले बताए।  

प्रकाशित: २३ कार्तिक २०७९ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App