४ वैशाख २०८१ मंगलबार
राजनीति

उत्तरी गोरखाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

गोरखाको चुमनुब्री गाउँपालिकाबाट मत पेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका संकलनकालागि हेलिकप्टरको माग गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

चुमनुब्री गाउँपालिकाको २२ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। ‘सडक सञ्जालले चुमनुब्री जोडिएको छैन’ उनले भने ‘त्यहाँबाट बोकाएर ल्याउन पाँच/छ दिन लाग्छ, मत गणनापनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने ब्यवस्था गरिदिन भनेका हौँ।’  

गृह मन्त्रालय, निर्वाचन आयोगसँग मतपेटिका संकलनकालागि हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उनले बताए। चुमनुब्रीको २२ मतदान केन्द्र प्रत्येकमा संघ, प्रदेश र समानुपातीक गरी चारवटा मतपेटिका हुन्छ। हरेक केन्द्रमा एउटा मतपेटिका थप पठाइएको हुन्छ । कर्मचारीहरु केन्द्रमा खटिएकाले मत गणना सुरु गर्ने जनशक्ति पनि अभाव हुने हुँदा मतपेटिका सहित कर्मचारीलाई छिटो सदरमुकाम आउने ब्यवस्थाका लागि हेलिकप्टर माग गरिएको प्रजिअ आचार्यले बताए ।  

तीन सय १७ मतदान केन्द्र रहेको गोरखाको क्षेत्र नम्बर १ मा साम्दो आधारभुत विद्यालय चुमनुब्री १ सबैभन्दा टाढा ५२ कोसको दुरीमा रहेको मतदान केन्द्र हो। मतपेटिका, मतदान सामग्री भने दुर्गममा बोकाएर लैजाने तयारी गरिएको छ।  

गोरखामा मतपत्र सहित सबै निर्वाचन सामग्री आईपुग्यो

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि गोरखामा सबै सामग्री आईपुगेको छ। ६२ प्रकारको मतदान सामग्री जिल्ला आईसकेको निर्वाचन कार्यालयका सुचना अधिकारी रबिलाल सुवेदीले बताए। ३० प्रकारका अनुसुची, सात प्रकारका पर्चा, पम्पलेट आएको छ। बुधवारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु हुने उनले जानकारी दिए। तालिम २६ गते सम्म चल्नेछ।

गोरखामा तीन सय १७ मतदान केन्द्र रहेकोछ। दुई सय ५० जना सम्म मतदाता रहेको केन्द्रमा सात जना र त्यो भन्दामाथि मतदाता संख्या रहेको केन्द्रमा आठ जना कर्मचारी परिचालन हुने निर्वाचन कार्यालयले जनाएको छ।  

कात्तिक १८ देखि महिला स्वास्थ्य स्वयमशेविकाहरुले वडा भित्र पनि टोलटोलमा मतदाता शिक्षा दिईरहेको निर्वाचालन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले बताए। गोरखामा मतपत्र पनि सबै आईपुगेको छ।  

गोरखा क्षेत्र नम्बर १ का लागि प्रत्यक्ष र समानुपातीक तर्फ बरवार एक लाख २७ हजार थान मतपत्र आईपुगेको छ। गोरखा २ का लागि समानुपातीक एक लाख १६ हजार र प्रत्यक्ष तर्फ एक लाख १५ हजार मतपत्र आएको छ। यस्तै गोरखा १ को प्रदेश सभा १ मा समानुपातीक ६८ हजार, प्रत्यक्ष ६७ हजार मतपत्र आईपुगेको छ। १ को प्रदेश क्षेत्र २ मा प्रत्यक्ष र समानुपातीकको ६१/६१ हजार मतपत्र आएको  कार्यालयका सुचना अधिकारी सुवेदीले बताए। गोरखा २ को प्रदेश १ मा समानुपाती र प्रत्यक्ष ५६/५६ हजार थान मतपत्र आएको छ भने प्रदेश क्षेत्र २ मा ६१/६१ हजार थान मतपत्र आएको छ।

प्रकाशित: २२ कार्तिक २०७९ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App