११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उदयपुर १ मा खड्का र चौधरीको रोमाञ्चकारी भिडन्त हुने

काँग्रेस उम्मेदवार डा. खड्का र एमालेकी चौधरी।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उदयपुर निर्वाचन क्षेत्र १ मा रोमाञ्चकारी भिडन्त हुने देखिएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री डा. नारायण खड्का र एमाले पोलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री मञ्जुकुमारी चौधरी चुनावी मैदानमा रहेकाले पनि चुनाव रोमाञ्चकारी हुने विश्लेषण स्थानीय राजनीतिकर्मी वृत्तमा चर्चा छ।

डा. खड्का यसअघि तीन पटक जितेर ‘ह्याट्रिक’ गरिसकेका र पटक-पटक मन्त्री भइसकेको मात्र नभएर सत्तारुढ दलहरुको गठबन्धनका कारण पनि ‘हेबिवेट’ उम्मेदवार मानिन्छन्। ०६४ र ०७० को संविधानसभा चुनाव जितेका उनी नयाँ संविधान बनेपछि कार्यान्वयनका लागि भएको ०७४ को चुनाव जिते पनि जित सहज रहेकोमा ढुक्क छन्।

एकातिर ३ पटक चुनाव जितिसकेको त्यसमाथि ५ दलीय बाम लोकतान्त्रिक गठबन्धनको साथ भएकाले पनि आफू फराकिलो अन्तरले जित्ने डा. खड्काको प्रतिक्रिया छ। चौथो पटक उम्मेददवारी दिएका खड्काले अहिले चुनाव प्रचार-प्रसारलाई बाक्लो बनाएका छन्।

एमालेलगायत विभिन्न दलबाट १५ जनासँग प्रतिस्पर्धामा रहेका खड्का गठबन्धनका उम्मेदवारसँगै क्षेत्रव्यापी चुनावी अभियानलाई तीव्रता दिँदै बस्ती-बस्तीसम्म पुगिरहेको काँग्रेस निर्वाचन क्षेत्रीय समिति सभापति खगेन्द्र राईले बताए। उनले यसअघि तीन पटक यहीँ क्षेत्रबासीको मत पाइसकेको र अहिले झन् गठबन्धन भएकाले पहिलेभन्दा बढी मत पाएर जित्ने ठोकुवा गरे।

गठबन्धनले संघमा खड्कासँगै प्रदेशमा माओवादी केन्द्रका प्रदेश सदस्य तथा काँग्रेसका जिल्ला सभापतिलाई प्रदेशसभामा उठाएको छ। प्रदेश १ (क) मा माओवादीका राजन किराती (बासु) लाई र (ख) मा हिमाल कार्कीलाई गठबन्धनले उममेदवार बनाएको छ। कार्की प्रदेश १ सरकारका बहालवाला भौतिक तथा सहरी विकासमन्त्रीसमेत हुन्।

डा. खड्काले किराती र कार्कीलाई एकल र सामूहिक प्रचार अभियानमा लिएर जताको अभिमत लिने क्रम चलाइरहेको सभापति कार्कीले बताए। उदयपुर १ मा प्रतिनिधिसभातर्फ डा. खड्का, चौधरीसहित १६ जना चुनावी मैदानमा छन्। जसमा एमालेकी चौधरी ०७४ को चुनावमा खड्काबाटै पराजित भएकी हुन्। ०७० को चुनावमा ३ निर्वाचन क्षेत्र हुँदा उदयपुर २ बाट चुनाव जितेर ओली सरकारमा सहरी विकास राज्यमन्त्री भएकी थिइन्।

त्यसबेला खड्का १ बाट निर्वाचित भएका थिए। ०७४ मा २ क्षेत्र बनाएर प्रतिस्पर्धा हुँदा डा. खड्काले ३३ हजार १ सय ४२ मत पाएर बाजी मारेका थिए। चौधरीले ३२ हजार ५ सय ९४ मत पाएर खड्काभन्दा ५ सय ३४ मत कम ल्याएर पराजित भएकी थिइन्। यस चुनावमा १ नं. खड्का र चौधरीबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

सदरमुकामको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका समेटिएको १ नं. क्षेत्रमा १ लाख ३५ हजार ३ सय १५ मतदाता रहेको सो क्षेत्रमा ७५ हजार हाराहारी मत खस्ने आँकलन गरिएको छ। स्थानीयतहको चुनावलाई आधार मान्ने हो भने पनि गठबन्धनले सोझै चुनाव जित्ने देखिन्छ। स्थानीय तह चुनावमा त्रियुगा र बेलका मेयरसहित बहुमत वडाध्यक्ष काँग्रेसले जितेको छ। चौदण्डीगढीमा भने एमालेले बाजी मारेको छ।

गठबन्धन दलहरुबीच कुरा नमिल्दा एक्लाएक्लै लडेको काँग्रेसले ०७४ मा एमालेले जितेको त्रियुगामा जितेको थियो भने पहिले जितेको चौदण्डीगढी झिनो मतले गुमाउनु परेको थियो। प्रदेशसभा उम्मेदवारहरु पनि दुवै राम्रा र प्रभावशाली भएकाले गठबन्धनले चुनाव जित्ने निश्चित रहेको सभापति राईले बताए। उनका अनुसार स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने एमालेभन्दा ९ हजार हाराहारी बढी मत भएको गठबन्धनलाई जित सहज छ।

उता चौधरी पनि कमजोर नरहेको एमालेको दाबी छ। गएको चुनावमा डा. सँग भएको हारको बदला लिने गरी चौधरी चुनावी प्रचार अभियानलाई तीव्रता दिएर लागिरहेकी छिन्। प्रदेश (क) मा कुशलबाबु बस्नेत र (ख) मा इश्वरमणी राउत उम्मेदवार बनाएको एमालेले ०७४ संघ र भर्खर स्थानीय तहमा गुमेको साख फर्काएरै छाड्ने योजनाका साथ अघि बढेको निर्वाचन प्रचार समिति सदस्य पत्रकार भरत खड्काले बताए।

उदयपुर १ मा प्रतिनिधिसभातर्फ १० जना, प्रदेश १ (क) मा ९ जना र (ख) मा ११ जना उम्मेदवार छन्। त्यस्तै २ नं. मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)बाट जगन्नाथ खतिवडा प्रदेशतर्फ (क) मा माओवादीका नारायण बुर्जामगर र (ख) मा काँग्रेसका रामकुमार खत्री उम्मेदवारसहित (क) मा ५ र (ख) मा ७ जना उम्मेदवार मैदानमा छन्। एमालेबाट प्रतिनिधिसभामा अम्मर रायमाझी र प्रदेशतर्फ (क) मा देवराज राई र (ख) मा जीवनाथ दाहाल उम्मेदवार छन्।

दुईमा भने स्वतन्त्र उम्मेदवारको पनि प्रभाव बलियो रहेको स्थानीयको प्रतिक्रिया छ। स्वतन्त्रतर्फ नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईसमेत १२ जना चुनावी मैदानमा छन्। उदयपुरमा सत्तारुढ गठबन्धन, एमाले, जनता समाजवादी, मंगोल नेश्नल अर्गनाइजेसन, नेपाल मजदुर किसान, राष्ट्रिय जनमुक्तिबाट उमेदवार मैदानमा छन्। सबै गरी संघतर्फ २२ र प्रदेशतर्फ ३२ जना उम्मेदवार चुनावी मैदानमा रहेको सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताएका छन्।

प्रकाशित: २१ कार्तिक २०७९ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App