१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गिरी दाजुभाइको मिलापले त्रासमा वली

दीपक गिरी र कोमल वली।

‘कांग्रेस खर्लप्पै मिलिसके, मलाई त चुनौती थपियो !’ चर्चित गायिका तथा पूर्वसञ्चारकर्मी कोमल वलीको अभिव्यक्ति हो यो।  उनी अहिले नेकपा एमालेका तर्फबाट दाङ ३ मा प्रतिनिधिसभाकी उम्मेदवार छिन्।  निर्वाचन रिपोर्टिङका क्रममा वलीलाई भेट्न हामी तुल्सिपुरस्थित निवासमा पुग्दा कुराकानीको सुरुवातमै उनले यो तथ्यबारे मुख खोलेकी हुन्।  स्थानीय राजनीतिका जानकारले दिएका अभिव्यक्तिलाई मान्ने हो भने वलीले भनेजस्तै हरेक निर्वाचनमा त्यो क्षेत्रमा कांग्रेसभित्र आन्तरिक कलह हुन्थ्यो।  त्यही कलहले विपक्षीलाई सहज बनाउँथ्यो।  

कलहका दुई ध्रुवमा भने पत्यार लाग्नै नसक्ने दुई पात्र भेटिन्छन्, गेहेन्द्र गिरी र दीपक गिरी।  उनीहरू दाजुभाइ हुन्, एउटै बाजेका दुई नाति, काकाबडाबाका सन्तान।  जानकारहरूका अनुसार दुवैजना जिल्लामा आ–आफ्नै समूह चलाउँछन्।  जसमा कांग्रेसको जस्तै लामो इतिहासको शृंखला छ।  जसको जडमा कुनै समयका दाङ कांग्रेसका हस्ती खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ भेटिन्छन्।  बहुदल आएपछि दाङ कांग्रेसमा खड्का र मजगैयाका समूह सक्रिय भए।  जसको सम्बन्ध केन्द्रमा गणेशमान÷कृष्णप्रसाद र गिरिजाप्रसादसँग जोडिन्थ्यो।  खड्का कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट थिए भने मजगैयाँ गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए।  

उतिबेला दाङको परिवेशमा गिरी दाजुभाइ भने खड्का र मजगैयाँ समूहमा संलग्न थिए।  खड्काका विश्वासपात्र रहेर दाजु गेहेन्द्र लामो समय जिल्ला सभापति हुँदा भाइ दीपक भने मजगैयाँनिकट ‘हाइप्रोफाइल’ नेता थिए।  सोहीअनुसार ती दाजुभाइ पार्टीभित्र शक्ति आर्जन गर्दै मजबुत बन्दै गए।  यही क्रममा २०५१ मा तत्कालीन दाङ ३ बाट टिकट पाएका दीपक एमालेका वर्तमान महासचिव शंकर पोखरेलसँग पराजित भए।  २०५६ सालमा खुमबहादुरले आफूले २०४८ र २०५१ मा जित्दै आएको क्षेत्र दाङ १ गेहेन्द्रलाई दिए।  गेहेन्द्र त्यहाँ निर्वाचित भए।  उक्त निर्वाचनमा दीपक भने टिकटबाट वञ्चित रहे।  

यसपछि खुमबहादुरको शक्ति क्षयीकरण हुँदै गयो।  जिल्लामा पनि प्रभुत्व घट्दै गयो।  खड्काको निधनपछि उनको समूहको नेतृत्व गेहेन्द्रले गर्न थाले।  उता मजगैयाँले पनि सक्रिय राजनीतिबाट बिदा लिएपछि उक्त समूहको नेतृत्व दीपकको काँधमा आयो।  यसरी दुई समूहको नेतृत्वमा दुई दाजुभाइ आमनेसामने भए।  यहीक्रममा २०६४ र २०७० मा संविधानसभा निर्वाचनमा तत्कालीन दाङ ५ को टिकटका लागि दुई भाइबीच प्रतिस्पर्धा भयो।  दुवैपटक दीपकले टिकट हात पारे।  २०७० मा निर्वाचित भएका बेला दीपक जलस्रोत तथा सिँचाइमन्त्रीसमेत बने।  

यसैक्रममा दुई भाइका समूह पनि केन्द्रदेखि वडास्तरसम्म विभक्त भए।  गेहेन्द्र खुमबहादुरसँगको निकटताकै कारण केन्द्रमा उपसभापति पूर्णबहादुर खड्कानिकट रहेर समूह चलाउन थाले भने कोइराला समूहसँगै सक्रिय रहेर दीपकले समूह बनाउन थाले।  

पार्टी महाधिवेशनमा दुवै समूहबीच टकराव हुँदा १२औं र १३औं महाधिवेशनमा गेहेन्द्र क्षेत्रीय प्रतिनिधि आउनबाटै रोकिए।  यसबाहेक गेहेन्द्रको समूहका बहुसंख्यक नेताकार्यकर्ता पनि क्षेत्रीय प्रतिनिधिमै रोकिए।  यहीकारण सिर्जना भएको द्वन्द्वको प्रभाव निर्वाचनसम्म पुग्ने गरेको टिप्पणी हुन्छ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा गेहेन्द्र र २०७४ कै प्रतिनिधिसभा निर्वाचनमा दीपक हार्दा दुवै समूहले एकअर्कालाई हराएको आरोप–प्रत्यारोप लगाएका छन्।  

जनस्तरमा पनि यही चर्चा पाइन्छ।  ‘यहाँ कांग्रेस त ७० प्रतिशत नै हो नि ! जताततै कांग्रेस।  तर आपसमा मिल्दैनन्।  नमिल्ने फेरि तिनै गिरि परिवार,’ तुल्सीपुर बसपार्कमा व्यापार गरिरहेका भागीराम डाँगीले नागरिकसँग भने, ‘उनीहरूकै कारण अरू पार्टीले जित्ने हुन्। ’ तर दुई गिरि दाजुभाइ भने यस कुरालाई अस्वीकार गर्छन्।  

सम्बन्धमा ‘ब्रेक थ्रु’

पार्टीको १४औं महाधिवेशनयता गिरी दाजुभाइको सम्बन्धमा ‘ब्रेक–थ्रु’ आएको जानकारहरू बताउँछन्।  यो महाधिवेशनमा दुवै भाइका समूहबीच प्रतिस्पर्धा हुँदा दीपककै समूह वडादेखि जिल्लासम्म हाबी भयो।  गेहेन्द्र पनि व्यक्तिगत रूपमा कहीँ रोकिएनन्।  केन्द्रीय महाधिवेशनमा दुवै भाइले केन्द्रीय सदस्य जिते।  अघिल्लोपटक नै केन्द्रीय सदस्य रहेका दीपक यसपटक पनि संस्थापन इतर समूहबाट पुनः निर्वाचित भए।  गेहेन्द्रले संस्थापन समूहबाट यसपटक केन्द्रीय समितिमा ‘इन्ट्री’ मारे।  गेहेन्द्रले पुनः तुल्सीपुर उपमहानरगपालिकाको मेयरमा इच्छा राख्दा टिकट दिलाउन दीपकले पनि भूमिका खेलेको निकटस्थहरूको दाबी छ।  तर गेहेन्द्र निर्वाचित भने हुन सकेनन्।  पाँच दलीय गठबन्धनको सहयोग हुँदाहुँदै कांग्रेसभित्रको आन्तरिक समस्याकै कारण हार बेहोर्नुपरेको स्थानीय कार्यकर्ता बताउँछन्।  

‘दुई भाइको मिलन त भयो।  तर तल्लो स्तरसम्मका कार्यकर्तामा अझै विभक्त मानसिकता देखिएको छ।  मेयरमा हार बेहोर्नुको प्रमुख कारण यही रह्यो,’ कांग्रेसका एक स्थानीय नेताले भने, ‘दोस्रो कारण अत्यधिक मत बदर हुनु पनि हो।  १०औं हजार मत गठबन्धनका मतदाता सचेत गराउन नसक्दा बदर हुन पुगे। ’ अहिले प्रतिनिधिसभामा दीपक उम्मेदवार छन्।  दीपकलाई जिताउन गेहेन्द्र आफैं मैदानमा होमिएका छन्।  गेहेन्द्रलाई अनुगमन समितिको संयोजक बनाइएको छ।  

दुई भाइको यो एकतामा कार्यकर्ताहरू पनि उत्साहित छन्।  ‘उहाँहरूका दुई समूहको कचिंगलले समस्या नै थियो।  स्थानीय तहको निर्वाचनयता दुवैजना राम्रोसँग मिलेर अघि बढ्नुभएको छ,’ दाङ ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति जगतबहादुर खड्काले भने, ‘यसले ऊर्जा थपेको छ।  यो एकता कार्यकर्तासम्म पु¥याउन सके सजिलै चुनाव जितिन्छ। ’ गिरी बन्धुको एकताले गठबन्धनको सहयात्री नेकपा माओवादी केन्द्र पनि उत्साहित देखिन्छ।  ‘उहाँहरूको खाडल डरलाग्दो थियो।  अहिले म आफैं पुगेर हेर्दा धेरै कुरा मिलेको देखिन्छ,’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज निर्मल आचार्यले भने, ‘यसले गठबन्धनको मत संगठित गरेर खसाउन मद्दत गर्छ। ’

गिरी दाजुभाइको यही एकताको त्रास एमाले उम्मेदवार वलीमा देखिएको हो।  विगतका निर्वाचनको समीकरण हेर्ने हो भने वलीका लागि जित निकाल्न गठबन्धनभित्र ठुलै पहिरो ल्याउनुपर्ने देखिन्छ।  गएको स्थानीय तह निर्वाचनको वडाध्यक्ष मतमा सत्तारूढ गठबन्धनको ४५ हजार ८०७ मत हुँदा एमालेको ३८ हजार ६५८ मत छ।  जसको अन्तर ७ हजार १४९ छ।  यस क्षेत्रका चार पालिकामध्ये तुल्सीपुर उपमहानगरपालिकामा एमाले जित्दा बाँकी तीनवटै गाउँपालिका शान्तिनगर, दंगीशरण र बबईमा भने कांग्रेस विजयी भएको छ।  यही कारण गठबन्धनबाट ठुलै मत तान्नुपर्ने चुनौती वलीलाई छ।  

प्रदेशमा पनि हेबिवेट उम्मेदवार

प्रतिनिधिसभातर्फ दीपक र कोमल दुवैजना हेबिवेट उम्मेदवार भिडिरहेको यो क्षेत्र (दाङ ३) मा प्रदेशतर्फ पनि जिल्लास्तरका हेबिवेट उम्मेदवार नै प्रतिस्पर्धामा छन्।  जसको बलमा प्रतिनिधिसभा जितिने दुवै पक्षको दाबी छ।  प्रदेशसभा ‘क’मा गठबन्धनले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई उठाएको छ।  उनी अघिल्लोपटक यही क्षेत्रबाट निर्वाचित सांसद हुन्।  उनी अघिल्लोपटक वाम गठबन्धनविरुद्ध जित्ने साबिकको राप्ती अञ्चलका एक्ला कांग्रेस उम्मेदवार थिए।  उनी अहिले लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री पनि छन्।  

त्यसअघि २०७० समानुपातिकबाट संविधानसभा सदस्य भएर २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।  उनी अहिले प्रदेशको मुख्यमन्त्री भनेर भोट मागिरहेका छन्।  थारू बहुल्य रहेको यो क्षेत्रमा उनी बलिया मानिन्छन्।  उता यही क्षेत्रमा एमालेले तुल्सीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेलाई उम्मेदवार उठाएको छ।  उनी एमालेको केन्द्रीय सदस्य हुन्।  

यस्तै प्रदेशसभाको ‘ख’ मा गठबन्धनले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य धनबहादुर मास्कीलाई उठाएको छ भने एमालेले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई उठाएको छ।  

उही अजेन्डा, आ–आफ्नै दाबी

फरक पार्टीबाट उम्मेदवार रहे पनि यस क्षेत्रका उम्मेदवारहरूका अजेन्डा भने समान नै छन्।  बरु यिनै अजेन्डामा रहेर एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिरहेका छन्।  प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार गिरी र वलीले घोराही–तुल्सीपुर फोर लेनलाई नै पहिलो प्राथमिकतामा राखेका छन्।  तर यो सडक निर्माण सुरु भएको वर्षौं भइसकेको छ।  ग्लोबल टेन्टर भएर भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले जिम्मेवारी पाएको थियो।  त्यसको यहाँ काम भने एमालेबाट प्रदेशसभा ‘क’मा उम्मेदवार रहेका पाण्डेका छोरा अनुप पाण्डेले हेरेका थिए।  काममा ढिलासुस्ती भएपछि अहिले ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अगाडि बढाइएको छ।  यही कुरालाई इस्यु बनाएर सत्ता गठबन्धनले अनुपकै कारण ढिलासुस्ती भएको भन्दै भोट मागिरहेको छ।  

‘एमालेकै कारण ढिलासुस्ती भएको हो, त्यो त प्रस्ट छ,’ कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार गिरीले भने, ‘यसबाहेक यत्रो सडकमा उनीहरूको सरकार हुँदा वार्षिक ३०÷४० करोड मात्रै आउँछ।  अनि कसरी काम हुन्छ ? अब म सांसद भए अर्बका दरले हाल्न लाउँछु। ’

उता एमालेले पनि यही अजेन्डा उचालिरहेको छ।  ‘एमालेले गर्दा होइन, दीपक दाइ (कांग्रेस उम्मेदवार) कै कारण यो सडक विस्तार रोकिएको हो।  उहाँकै घरअगाडिबाट सडक विस्तार गर्न रोकिएको छ।  को बाधक भन्ने त्यहीँ देखिन्छ,’ एमालेबाट प्रतिनिधिसभा उम्मेदवार वलीले भनिन्, ‘अब ती अवरोध हटाउन म चुनिनुपर्छ। ’

यस्तै टरीगाउँ विमानस्थलको स्तरोन्नति पनि पुरानै अजेन्डाका रूपमा सबै उम्मेदवारको प्राथमिकतामा छ।  २०११ सालमा निर्माण भएर तत्काल एभ्रो जहाज बस्ने गरेको विमानस्थलको धावनमार्ग अहिले निकै सानो बनेको छ।  जहाँ अहिले नेपाल एयरलाइन्सको ट्विनअटर जहाज काठमाडौंबाट आउजाउ गर्छ।  तर निकै महँगो पर्ने गरेको जनगुनासो भने छ।  यही विमानस्थलको धावनमार्ग विस्तार गर्ने अजेन्डा सबै उम्मेदवारले अघि सारेका हुन्।  गिरी र वली दुवैले तुल्सीपुर–अमेलिया (महेन्द्र राजमार्ग) जोड्ने सडकलाई पनि फोर लेनमा विस्तार गर्ने अजेन्डा पनि अघि सारेका छन्।  यस्तै तुल्सीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति, विभिन्न शाखा सडकको विस्तारलगायत अजेन्डा पनि उम्मेदवारहरूले राखिरहेका छन्।  

यी अजेन्डासँगै दुवै पक्षले आफू जित्ने दाबी पनि गरिरहेका छन्।  यसमा सत्ता गठबन्धनका उम्मेदवार गिरी बढी निश्चिन्त देखिन्छन्।  ‘मेरो कसैसँग प्रतिस्पर्धा छैन।  एमालेले कोही प्रतिस्पर्धी नपाएर नवप्रवेशीलाई उठाएको छ।  जोसँग जनता परिचित नै छैनन्,’ उनले भने, ‘यही कारण एमालेमा संघर्ष गरेका नेताकार्यकर्ताले समेत मलाई भोट हाल्दैछन्।  त्यसमा हाम्रै गठबन्धनको मत पर्याप्त छँदैछ। ’ यसबाहेक आफूले गरेको विकास र भविष्यमा गर्न सक्ने सम्भावनालाई देखेर जनताले मतदान गर्ने उनले दाबी गरे।  

उता वलीले पनि आफू राष्ट्रिय सभामा सांसद हुँदा धेरै विकासका काम गरेकाले जित्ने दाबी गरिन्।  ‘म उम्मेदवार नयाँ भए पनि यहीँकी छोरीचेली हुँ।  यही जन्मेहुर्केकी हुँ।  फेरि पछिल्लो समय सांसद हुँदा मैले सकेजति काम गरेकी छु,’ उनले भनिन्, ‘फेरि भविष्यमा पनि गर्न सक्ने हैसियत भएको मान्छे रहेको छ।  यहाँका जनताले बुझेका छन्।  यही कारण म जित्छु। ’

प्रकाशित: २० कार्तिक २०७९ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App