८ वैशाख २०८१ शनिबार
राजनीति

आगामी निर्वाचन: घट्ला बदर मत ?

गत स्थानीय तह निर्वाचन (२०७४) मा दाङमा कुल २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। त्यो बेला जिल्लाको कुल मतदाता संख्या २ लाख ९१ हजार १ सय ७५ थियो। खसेको २ लाख ९८ हजार ३ सय ३९ मत मध्य ९९ हजार ८५ मत मात्रै सदर भयो। बाँकी १९ हजार २ सय ५४ मत बदर भयो। त्यो बेला निर्वाचन आयोग मार्फत एक महिनासम्म चलेको निर्वाचन शिक्षा कार्यक्रमका लागि ३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालित थिए।  

स्थानीय तहको निर्वाचनको ५ महिना पछि भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत बढ्यो।  यो बेला जिल्लामा बदर भएको मत संख्या २५ हजार ६ सय ८५ थियो। यो मध्ये १३ हजार ७ सय १६ प्रतिनीधिसभा तर्फको मत बदर भएको थियो भने ११ हजार ९ सय ६९ मत प्रदेशसभाको मत बदर भएको थियो। त्यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाङमा कुल २ लाख २९ हजार ४ सय ९८ मत खसेको थियो।  

२०७४ यता ५ वर्षपछि भएको गत स्थानीय तहको निर्वाचनमा बदर मत संख्या झनै उकालो लाग्यो। यो निर्वाचनमा जिल्लामा खसेको कुल खसेको मत २ लाख ८७ हजार ३ सय सात मध्य ३७ हजार ६ सय ६८ मत अर्थात १३.११ मत बदर भयो। लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार गत स्थानीय तहको निर्वाचनमा बदर मत बढ्नुको कारण मत पत्रमा धेरै चुनाव चिन्ह हुनुलाई मानेको छ। प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले गठबन्धनमा आवद्ध दलहरु मध्ये उम्मेदवारी नदिएका चुनाव चिन्हमा पनि मत हालिएका कारण पनि बदर मत बढेको देखिएको बताए।  

‘मैले केही वडाहरुको गणना हेरेँ, कांग्रेस र माओवादीले चुनावी तालमेल गरेर मेयर र उपमेयरमा उम्मेदवारी दिएका थिए, तर मेयरमा पनि र उपमेयरमा पनि दुबै दलको चिन्हमा मतदान गरेको पनि देखियो,’ भण्डारीले भने ‘बदर मत बढि देखिनुको एउटा कारण यो पनि हो।’  

दाङमा मात्रै हैन, देशव्यापी मतको तथ्यांकले पनि बदर मत निर्वाचन पिच्छे बढेको देखिन्छ। निर्वाचन आयोगले मताधिकार प्रयोग गर्न र बदर मत कम गर्नका लागि हरेक निर्वाचनका बेला करोडौँ रकम खर्चेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने गर्दछ। तर बदर मत भने बढेको बढ्यै छ।  निर्वाचन आयोगका अनुसार गत स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा १० देखि माथि र उपप्रमुख पदमा १५ भन्दा बढि प्रतिशत मत बदर भयो। जबकी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ मा ३.५ प्रतिशत मत मात्रै बदर भएको थियो।  

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बदर कम गर्ने लक्षसहित निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि घरदैलो अभियान सुरु गरेको छ। यससंगै डिजिटल प्रविधि मार्फत पनि आयोगले निर्वाचन सम्बन्धी शिक्षा प्रवाह गरिरहेको छ। शुक्रबारदेखि आयोगले प्रति वडा एक÷एक जना निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरेर निर्वाचन शिक्षा कार्यक्रम सुरु गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।  

‘मतदान गर्ने तरिका, बदर नहुने गरि मतदान कसरी गर्ने लगाएत मतदानका सबै विषयमा जानकारी  दिन प्रति वडामा एक जना निर्वाचिन शिक्षा कार्यकर्ता खटिएर शिक्षा दिने काम प्रारम्भ भएको छ,’ पौडेलले नागरिकसंग भने ‘यससंगै अन्य विधिद्धारा निर्वाचन शिक्षासंग सम्बन्धीत विषयहरु आयोगले प्रवाह गरिरहेको छ।’ वडाका महिला स्वास्थ्य स्वयं सेविकाहरु घरदैलो अभियानमा निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा खटिएका छन्।  

बदर मत कम गर्ने लक्षसहित घरदैलोमा निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको आयोगले गत स्थानीय तहको निर्वाचनमा भन्दा आगामी निर्वाचनमा बदर मत घट्ने जनाएको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार गत स्थानीय तहको निर्वाचनमा मत पत्रमा धेरै उम्मेदवारहरुको चुनाव चिन्ह रहेकाले मतदाताहरु अन्यौलमा परेको र बदर मत बढेको थियो।  

तर अहिले निर्वाचनमा भिडेका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह नरहेकाले मतदान गर्न सहज हुने र बदर मत घट्ने पौडेलको भनाइ छ। ‘स्थानीय तहको निर्वाचनमा मतपत्रमा चुनाव चिन्हरु धेरै भएका कारण मतदाताहरु अलमलमा परेको र बदर मत बढ्यो,’ उनले भने ‘तर अहिले उम्मेदवार फाइनल भएपछि मात्रै मतपत्र छापियो, अनि उम्मेदवार भएकाहरुको मात्रै चुनाव चिन्ह राखियो, फलतः अहिले मतदानमा सजिलो भएकाले बदर मत धेरै कम हुन्छ।’  

यसैगरि स्थानीय तहको निर्वाचनमा आयोगले प्रत्यक्ष निर्वाचन शिक्षा कार्यक्रम लागु गरेको थिएन। पौडेलका अनुसार मतदाता शिक्षा कार्यकर्ताहरु कुनै उम्मेदवारका पक्षमा रहि सोही उम्मेदवारलाई मत हाल्न सिकाउन सक्ने खतरा देखि आयोग सचेत बनेको थियो। फलतः निर्वाचन शिक्षा कार्यक्रम अन्तर्गत आयोगले त्यो बेला घरदैलो कार्यक्रमलाई रोकेको थियो।  

तर त्यसरी मात्रै निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नहुने भन्दै आयोगले अहिले पुनः घरदैलो अभियानलाई निरन्तरदा दिएको पौडेलले बताए। ‘यसले पनि स्थानीय तहको निर्वाचनमा केहि प्रभाव पार्यो,’ पौडेलले भने। निर्वाचनमा हुने बदर मतको कारण निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्न नमिल्ने उनको तर्क छ।  

उनका अनुसार बदर मत अधिकांश शिक्षित स्थानका मतदाताहरुमा बढि देखिन्छ। ‘जहाँ जहाँ बुझेको, शिक्षित व्यक्तिहरु बसेको वडा हुन्छ, त्यहिँ नै बढि मत बदर भएको देखिन्छ,’ उनले भने ‘फलतः बदर मत मतदान गर्न नजानेर मात्रै हुँदैन भन्ने तथ्य पनि छ,’ उनले भने ‘यसर्थ निर्वाचनमा बदर मत के के कारणले कसरी हुन्छ ? भन्ने विषय तपाई हामी सबैको खोजीको विषय हो।’ उनले निर्वाचन प्रतिको अनिच्छा,दल प्रतिको धारणा,उम्मेदवार प्रतिको बेवस्ताले पनि जानीजानी मत बदर गर्ने गरिएको समेत बताए।  

यसैबीच निर्वाचन आयोग संगै निर्वाचनमा भिडेका राजनीतिक दलहरुले समेत आगामी निर्वाचनमा मतदान गर्ने तरिका सिकाइरहेका छन्। चुनावी प्रचारका क्रममा गाउँ केन्द्रीत बनेका उम्मेदवार तथा उम्मेदवार निकटस्थहरुले सही तरिकाले मतदान गर्न सिकाइरहेका छन्। मूलतः वर्तमान सत्तागठबन्धनमा आवद्ध दलहरुले स्थानीय तहको बदर मतको तथ्यांक कम गर्नका लागि सही मतदान गर्ने तरिका बारे मतदाताहरुलाई शिक्षा दिइरहेका छन्।  

स्थानीय तहको निर्वाचनमा जिल्लाका दुई उपमहानगर घोराही र तुलसीपुरमा बदर मतकै कारण निर्वाचन हार्नु परेको निष्कर्ष निकालेका थिए। फलतः अहिले बदर मतलाई कम गर्नै पर्ने दवावमा यी दलहरु छन्।  

प्रकाशित: १९ कार्तिक २०७९ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App