१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

थारू समुदायका उम्मेदवारबीच टक्कर

फाइल तस्बिर।

थारू समुदायको बाहुल्य रहेको दाङ १ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार सोही समुदायकै छन्। सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका १२ उम्मेदवारमध्ये पाँचजना थारू समुदायका छन्। मंसिर ४ मा हुने चुनावका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका दुईजना हुन्, सत्तापक्षीय गठबन्धनका तर्फबाट उठेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी। एमाले विभाजित हुनुअघि उनीहरू दुवै सोही पार्टीमा आबद्ध थिए।  

२०७४ सालको निर्वाचनमा मेटमणि एमालेबाट सोही क्षेत्रमा उम्मेदवार थिए। त्यतिबेला उनलाई जिताउन शान्ता पनि लागिपरेकी थिइन्। तिनै शान्ता अहिले मेटमणिकी प्रतिस्पर्धी हुन्। ती दुई पूर्वसहकर्मी मात्रै नभएर त्यस्तै अर्की एक उम्मेदवार गंगा चौधरी (सत्गौवा) पनि चुनावी मैदानमा छिन्। शान्ता, मेटमणि, गंगा तीनैजना थारू समुदायको आन्दोलनका सहकर्मीसमेत थिए। एमाले फुट्दा मेटमणि नेकपा एसतिर लागे। शान्ता एमालेमै रहिन्। गंगाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिइन्। विगतमा एमालेले पाएको मतमध्ये तीनजनालाई बाँडिने आकलन गरिन्छ। गंगा बलियो प्रतिस्पर्धी नभए पनि उनले दुई मुख्य प्रतिस्पर्धीको भोट तानेर परिणालाई प्रभाव पार्न सक्ने विश्लेषण हुने गरेको छ।

अहिलेको चुनावी परिस्थिति पहिलाको भन्दा उल्टो छ। अघिलो चुनावमा कांग्रेसलाई हराउन लागिपरेको माओवादी केन्द्र अहिले उसैको साथमा छ। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेटमणि एमालेका तर्फबाट उम्मेदवार थिए। त्यतिबेला एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो। वाम गठबन्धनकै कारण मेटमणिले नेपाली कांग्रेसकी सुशीला चौधरीलाई १० हजार ८ सय ३४ मतले उछिनेका थिए। यसपटक मनोनयन दर्ता गर्नुअघि कांग्रेसले गोविन्दराज पोखरेललाई उम्मेदवारी दिने र एमालेले सघाउने चर्चा चलेको थियो। तर उम्मेदवारी दिने अन्तिम दिनमा शान्ता चौधरीलाई उम्मेदवार बनाइयो। गंगा चौधरी एमालेको उक्त निर्णयविरुद्ध उभिइन्। उनले अर्को पार्टीबाट उम्मेदवारी दिनु एमालेलाई टाउकोदुखाइको विषय बनेको छ। यसअघि एमालेबाट सांसद भइसकेका तिनैजनाको चुनावी भिडन्त  रोचक हुने भएको छ ।

२०६४ मा समानुपातिक सांसद भएकी शान्ता २०७० मा प्रत्यक्ष चुनाव लडेर हारेकी थिइन्। २०७४ सालको चुनावमा उनलाई फेरि एमालेले समानुपातिकबाटै सांसद बनाएको छ। एमाले सचेतकको जिम्मेवारी पाएकी उनी फेरि प्रत्यक्ष चुनावमा प्रतिस्पर्धाका लागि उत्रिएकी हुन्।  

स्थानीय चुनावको परिणाम  

२०७४ सालको चुनावी परिणाम सार्वजनिक भएको बेलाको राजनीतिक परिवेश अहिले फेरिइसकेको छ। यसकारण पनि अहिलेको चुनावी नतिजा आकलन गर्न मुस्किल छ। दाङ १ मा २०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनलाई आधार मान्दा कांग्रेस बलियो देखिन्छ। स्थानीय चुनावमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत २९ हजार ७ सय ५७ छ। त्यसैगरी सो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले २७ हजार २५ मत पाएका थिए। माओवादी केन्द्रको १९ हजार २७६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ हजार ३५०, नेकपा एसको २ हजार ३४१, जनता समाजवादी पार्टी (जसपा) को ८०७ मत छ। नेकपा एसको मत भने नगण्य देखिएका कारण गठबन्धन दलको मत नै मेटमणिको जित्ने आधार हो। उनको जितहार कांग्रेसको मतमा निर्भर छ।  

दुई उम्मेदवारको सम्बन्ध

थारू समुदायमा राजनीतिक चेत अलिक कमै थियो। राजनीतिक नेतृत्वमा पुग्नु चानचुने कुरो थिएन। तर अहिले अवस्था फेरिएको छ। थारू समुदायमा राजनीतिक चेत बढेको छ। त्यसकारण अहिले सो समुदायबाट राजनीतिमा होमिएकाहरू भेटिन गाह्रो पर्दैन। दाङ १ का उम्मेदवार मुख्य प्रतिस्पर्धी दुवै सोही समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार हुन्। मेटमणिले शान्तालाई २०६४ सालमा देखेका हुन्। मेटमणि पार्टीको केन्द्रीय सदस्य हुँदा शाान्ता साधारण सदस्य थिइन्। दुवैबीच सामान्य सम्बन्ध मात्र छ।

मेटमणि शान्तलाई प्रतिस्पर्धी नै ठान्दैनन्। उनी आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको जिकिर गर्छन्। मेटमणि शान्तालाई राजनीतिमा ‘जुनियर’ ठान्छन्। पहिले एउटै पार्टीमा काम गरेका बेलामा जस्तो आत्मीयता दुवैमा छैन । फरक पार्टीमा हुँदा एउटै पार्टीमा भएजस्तो आत्मीयता नहुने अनुभव मेटमणिको छ ।

शान्ता नेतृत्वमा स्थापित भइदिए आफूलाई खुसी लाग्ने उनी बताउँछन्। आफू मन्त्री बन्दा ‘बधाई तथा शुभकामना’ दिन शान्ताले फोन गरेको उनले बताए। दुवै थारू समुदायलाई प्रतिनिधित्व गर्छन् तर आपसमा आफ्ना समुदायको विषयमा उनीहरूबीच खासै छलफल हुँदैन। पछिल्लो समयमा पार्टी फरक भएपछि सामान्य कुराकानीसमेत हुन छाडेको छ। एकले अर्काको प्रगतिमा सहानुभूति भने राख्ने गरेका छन्। पार्टी फरक परेपछि व्यक्तिगत रूपमा केही फरकपना महसुस हुने मेटमणि बताउँछन्। ‘त्यसलाई स्वाभाविक मान्नुपर्छ। एउटै पार्टीमा हुँदाको जस्तो आत्मीयता फरक पार्टीमा हुन्न,’ उनले भने।

दाङ १ मा १२ जना उम्मेदवार

दाङ १ मा १२ उम्मेदवार चुनाव भिड्दैछन्। मुख्य प्रतिस्पर्धी मेटमणि र शान्ता हुन्। त्यसैगरी राप्रपाकी ४९ वर्षीया लिली बुढाथोकी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ५६ वर्षीय गणेश भक्त खर्बुजा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की ३० वर्षीया प्रतिमा बुढा मगर, हाम्रो नेपाली पार्टीकी ४३ वर्षीया गंगा चौधरी पनि चुनावी मैदानमा छन्। उनी एमाले केन्द्रीय सदस्य थिइन्। उनले त्यस क्षेत्रबाट टिकट नपाएपछि विद्रोह गरेर अर्को पार्टीबाट चुनावमा उम्मेदवारी दिएकी हुन्। एमालेले उनलाई पार्टीबाट हटाइसकेको छ। त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट ५० वर्षीय सुरेन्द्र चौधरी, मंगोल नेसनल अर्गनाइजेसनबाट ७० वर्षीय शोभाराम बुढा, नेपाली कांग्रेस (बिपी) बाट ४४ वर्षीय अशोक खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट ४५ वर्षीया रुक्मिणी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५६ वर्षीय देवराज पाठक र स्वतन्त्रबाट ४६ वर्षीय चन्द्रमणि न्यौपाने चुनावी मैदानमा छन्।

को हुन् मेटमणि चौधरी ?

२०२९ चैत १ गते दाङमा जन्मेका मेटमणि चौधरी हाल सहरी विकासमन्त्री छन्। उनी एमालेबाट स्थापित नेता हुन्। हाल उनी एमाले फुटेर बनेको नेकपा एसमा आबद्ध छन्। मेटमणि २०४५ देखि एमालेमा आबद्ध बनेका थिए। उनी २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनपछि एमालेको केन्द्रीय सदस्यमा चुनिएका थिए। मेटमणि दाङका प्रधानपञ्चका छोरा थिए। २०४५ फागुन ७ गते जनता माध्यमिक विद्यालय गढवा दाङमा राजाविरुद्ध भाषण गरेको भन्दै कक्षा ८ मा पढ्दै गर्दा उनी पक्राउ परेका थिए। प्रहरीले थुन्न लगे पनि बुबा प्रधानपञ्च भएकाले छुटाएका थिए।

त्यस समयमा राजाविरुद्ध बोल्ने चेत भएर भने उनले बोलेका भने होइनन्। घरमा आउने पर्चा, किताब पढेका आधारमा उनले राजाविरुद्ध बोलेका थिए। उनको घरमा कम्युनिस्ट पार्टीका नेताहरू पनि आइरहन्थे। पर्चा, पत्रिकामा लेखेका कुरा पढेर उनी तर्क गर्थे। मोदनाथ प्रश्रित, गोलघरको सन्देशजस्ता पुस्तक उनले पढेका थिए। राजनीति शास्त्र, अर्थशास्त्रमा स्नातकोत्तर चौधरीले अनेरास्ववियुको प्रारम्भिक कमिटीका अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी राजनीतिमै उनले जिल्ला सदस्य, अध्यक्ष हुँदै राप्ती अञ्चल कमिटी सदस्य, कोषाध्यक्ष, सचिव, संयोजक र केन्द्रीय सदस्य भएर काम गरेका थिए। त्यसैगरी एमाले दाङ १ सचिव हुँदै उनी जिल्ला अध्यक्ष भएका थिए।  

उनले एमाले स्कुल विभागको केन्द्रीय सदस्य बनेर पनि काम गरे। उनी २०५९ सालमा जेलमा समेत बसेका थिए। गणतन्त्रका लागि राजाविरोधी आन्दोलनमा १९ दिन जेल बसेका थिए। उनले एमालेबाट राप्ती अञ्चलको आन्दोलनको नेतृत्व गरेका थिए। उनले मानवअधिकार जागरण मञ्च, कमैया मुक्ति मञ्च नेपालको केन्द्रीय सदस्य, थारू विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारी संघको केन्द्रीय सदस्य पनि भएर काम गरिसकेका छन्।

को हुन् शान्ता चौधरी ?

२०३६ जेठ ३ मा दाङको थारू समुदायमा जन्मेकी शान्ता चौधरीको राजनीतिक इतिहास भने खासै लामो छैन। उनले राजनीतिमा प्रवेश गरेको छोटो समयमै निकै चर्चा कमाएकी हुन्। उनी राजनीतिकसँगै व्यक्तिगत सफलताको सिँढी चढ्न पनि सफल भएकी छन्। उनी पूर्वकमलरी हुन्। कमलरी बसेका बेला उनी देखिनेगरी राजनीतिमा आउन पाइनन्। सामान्य साक्षर शान्ता सभासद् भएपछि विद्यालय जान थालिन्। उनले २०७६ सालमा आफ्नी छोरीसँगै एसइई उत्तीर्ण गरेकी थिइन्। उनले त्यसपछिको पढाइलाई पनि निरन्तरता दिइरहेकी छन्। उनले पढाइलाई कहिल्यै पनि उमेरसँग तुलना गरिनन्। उनी एमाले सचेतक पनि बन्न सफल भएकी छन्।

उनी २०५८ सालमा कमैया कमलहरी मुक्ति आन्दोलनमा सहभागी भएकी थिइन्। कमलरीविरुद्धको आन्दोलनबाटै उनी २०६२ देखि एमालेमा आबद्ध भइन्। त्यसपछि उनले २०६४ मा एमाले दाङ जिल्ला सदस्य रहेर काम गरेकी थिइन्। २०६४ को संविधानसभा सदस्यमा एमालेबाट समानुपातिकबाट उनले पनि प्रतिनिधित्व गरेकी थिइन्। २०७३ मा उनी एमाले केन्द्रीय सदस्य बनिन्। २०७८ सालमा एमालेनिकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको अध्यक्षमा चौधरी चयन भएकी थिइन्। उनले ‘कमलरीदेखि सभासद्सम्म’ नामक पुस्तकसमेत प्रकाशित गरेकी छन्। एमालेले नेपाल भूमिहीन सुकुम्बासी संगठनको उपाध्यक्ष बनाएपछि उनले पार्टीभित्र देखिनेगरी भूमिका पाएकी थिइन्।

प्रकाशित: १९ कार्तिक २०७९ ००:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App