६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई राष्ट्रिय अध्यक्षको साख दाउमा

जयप्रकाश ठाकुर,सिके राउत र उपेन्द्र यादव

दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ गर्न उम्मेदवार र विश्लेषकहरू जति व्यस्त देखिन्छन्, मतदाता भने त्यति उत्साहित देखिँदैनन्। यस क्षेत्रका निर्णायक मतदाताहरू मौन छन्।

यस क्षेत्रका मतदाताहरू मत माग्न आउने तीनै जना मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई हुन्छ हुन्छ भनिरहेका छन्। मत माग्न आउने उम्मेदवारहरूलाई मतदाताहरू आश्वासन दिँदै फर्काइरहेका छन्। तर मतदान गर्ने उम्मेदवारलाई मतदाताहरूले यसपालि मनभित्रै राख्दा यस क्षेत्रको चुनावी परिणामको आंकलन जटिल बनेको छ। जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र रहेको सप्तरी २ मा सिके राउत नयाँ चेहरा हुन। उनी यस क्षेत्रमा पहिलोपटक चुनाव लड्दै छन्। जयप्रकाश ठाकुर भने यस क्षेत्रका लागि पुरानै नाम हो। उनी ०७४ को संसदीय निर्वाचनमा उपेन्द्र यादवसँग पराजित भएका थिए। ठाकुरसँगै सिके राउत प्रतिस्पर्धामा उत्रीएपछि उपेन्द्रलाई यस क्षेत्रमा जित दोहर्‍याउन सकस परेको छ। तर, मधेस आन्दोलनको लिगेसी, नीतिगत अधिकारको सुरक्षा, भौतिक विकासले उनको वजन भारी बनाएको छ। उनी निर्वाचित यो क्षेत्रमा विकासले तुलनात्मक रूपमा फड्को मारेको आमजन बताउँछन्।

सप्तरी निर्वाचन क्षेत्र नं २ मा एउटा नगरपालिका र तीनवटा गाउँपालिकाहरू रहेका छन्। १६ वटा वडा रहेको राजविराज नगरपालिका जसपाले जितेको छ भने आठवटा वडा रहेको तिलाठी गाउँपालिका काँग्रेसले जितेको छ। लोसपाले दुईटा गाउँपालिका जितेको छ। सातवटा वडा भएको छिनमस्ता गाउँपालिका र छवटा वडा भएको महादेवा गाउँपालिका लोसपाले जितेको छ।  

जसपा–एमाले गठबन्धनको मत जोड्दा १९ हजार २ सय ७१ मत मात्र पुग्छ तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, लोसपा र नेकपा (एस) को मत जोड्दा ३६ हजार ९ सय ९२ मत पुग्छ। लगभग जसपा–एमाले गठबन्धनभन्दा दोब्बर बढी मत सत्ता गठबन्धनले स्थानीय तहमा ल्याएको छ। जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनबीच दोब्बर मतले फरक हुँदा पनि जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफूले नै जित्ने दाबी गरिरहेका छन्। ०७४ को प्रतिनिधिसभा चुनावमा सप्तरी–२ बाट नै उपेन्द्र यादव विजयी बनेका थिए। उनले २१ हजार ६ सय २० मत ल्याएका थिए। त्यतिबेला यादवले तत्कालीन राजपासँग तालमेल गरेका थिए। सो तालमेलबाट असन्तुष्ट बनेका जयप्रकाश त्यतिबेला बागी उम्मेदवारी दिएका थिए। उनी ९ हजार ४५९ मत ल्याएर तेस्रो स्थान ल्याएका थिए। माओवादी केन्द्रबाट उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याएर दोस्रो भएका थिए। यस चुनावमा सत्ता गठबन्धनबाट उमेश यस क्षेत्रको प्रदेशसभा सदस्य उम्मेदवार हुन।  

उपेन्द्र यादवले पाँच वर्षको अवधिमा यस क्षेत्रमा जति काम गरे त्यति काम विगतमा कहिल्यै पनि नभएको यस क्षेत्रका अधिकांश मतदाताको मत छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको पूर्वाधार संरचना निर्माण, नर्सिङ कलेज, कृषि विश्व विद्यालय, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत थुप्रै काम यस अवधिमा भएको छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा मात्र नभई सडक पूर्वाधारको क्षेत्रमा पनि उल्लेख्य काम भएको स्थानीय बताउँछन्। उपेन्द्रसँग रहेको मधेस र मधेसीलाई पहिचान दिलाउने आन्दोलन हाँकेको लिगेसी बांकी उम्मेदवारमाथि हाबी देखिन्छ।  

सिके राउत र जयप्रकाशसँग मधेसको अधिकार सुनिश्चित गराउन आन्दोलन हाँकेको लिगेसी छैन। सिके राउत जनमत पार्टीमार्फत मूलधारको राजनीतिमा अवतरित भएपछि किसानको माग सम्बोधनका लागि केही दिन सडक आन्दोलन गरे। भ्रष्टाचार गरेको भन्दै जनकपुरधाममा खानेपानी तथा सरसफाई कार्यालयका प्रमुखलाई अर्धनग्न गरेर बजार घुमाएका थिए। त्यसयता जनमतले जसपा र मधेस केन्द्रित दलका नेताबारे जनतामा भ्रम फैलाएर मधेसमा आफ्नो पकड बलियो बनाउने कसरतमा जुटेको यस क्षेत्रका बुद्धिजीबीहरू बताउँछन्।  

स्थानीय तहको निर्वाचनमा सिके राउतको जनमत पार्टीले आशातित सफलता पाउन नसकेपछि अहिले प्रतिनिधिसभाको निर्वाचनमा स्थापित हुन सक्रियताका साथ जुटेका छन्। आर्थिक, सामाजिक एवम् राजनीतिक क्षेत्रमा मधेसी समुदायको उत्थान र हक स्थापित गराउन जनमत पार्टी नै मुख्य दलको रूपमा अग्रसर रहने बचनबद्धता दिँदै मत मागिरहेका छन्। राउत अहिलेसम्म कुनै सार्वजनिक पदमा नपुगेका कारण छवि धमिलिएको छैन।  

अर्कोतर्फ,एकल पार्टी मतको हिसावले जसपा सबैभन्दा बलियो देखिन्छ। सिकेका लागि मात्र नभई सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरका लागि पनि उही चुनौती छ। 

प्रकाशित: १८ कार्तिक २०७९ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App