coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकीमा स्वतन्त्र उम्मेदवार प्रभावहीन

संघीय राजधानी काठमाडौं लगायत विभिन्न सहरमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक अजेन्डा लिएर तामझामका साथ चुनावी प्रचारमा जुट्दै गर्दा गण्डकी प्रदेशको परिस्थिति भने फरक छ। गण्डकीका सबै जिल्लामा स्वतन्त्र उम्मेदवारको खासै चहलपहल देखिन्न। गण्डकीका ११ जिल्लामा स्वतन्त्र उम्मेदवारहरूको चुनावी प्रचारप्रसारमा खासै दौडधुप छैन। दलका उम्मेदवारको प्रभाव र चर्चाका कारण उनीहरूको चुनावी अभियान छायामा परेको छ।

बागलुङबाट प्रदेश र प्रतिनिधिसभामा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। तीमध्ये तीनजना पार्टीनिकट छन्। पर्वतमा पनि स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिमा खासै प्रभाव देखिन्न। त्यहाँ तीनजनाको उम्मेदवारी परेको छ। तनहुँमा दलबाट टिकट नपाएर उम्मेदवारी दिने दुईसहित पाँचजना छन्। प्रतिनिधिसभातर्फ गोरखामा चार, लमजुङमा दुई, कास्कीमा १८, तनहुँमा बागी दुईसहित पाँच, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १०, म्याग्दी दुई, बागलुङ पाँच, पर्वतमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेशसभातर्फ गोरखामा सात, मनाङमा दुई, कास्कीमा ११, तनहुँमा चार, स्याङ्जामा तीन, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ११, म्याग्दीमा दुई, बागलुङमा सात स्वतन्त्र उम्मेदवार मैदानमा छन्। प्रतिनिधिसभातर्फ ५२ र प्रदेशसभातर्फ ५२ गरी १०४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यीमध्ये धेरैजसो राजनीतिक दलमै सक्रिय रहेको तर टिकट नपाएपछि स्वतन्त्र बनेको पाइएको छ। यी कुनै पनि जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ मुख्य दललाई टक्कर दिएर निर्वाचन आफ्नो पक्षमा पार्न सक्ने अवस्था स्वतन्त्रको देखिन्न। जित निकाल्ने उनीहरूको आधार र रणनीति कमजोर देखिएपछि त्यसको लाभ मुख्य प्रतिस्पर्धी दललाई पुग्ने भएको छ।

चन्द्रबहादुर क्षेत्री बाग्लुङ १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार छन्। उनले विकास निर्माण तथा शिक्षा र स्वास्थ्य जस्ता मुद्दा उठाएर घरदैलो गरिरहेका छन्। उम्मेदवारी दिनुअघि शिक्षक रहेका उनी स्वतन्त्र उम्मेदवार कम हुँदैमा हिम्मत नहार्ने र निरन्तर खबरदारी गरिरहने बताउँछन्। बागलुङ प्रदेशसभा १ मा उम्मेदवारी दिएका दीपेन्द्र हमाल व्यवसायी हुन्। मतदाता रिझाउन आफूले आकर्षक अजेन्डा लिएर प्रचारप्रसार गरिरहेको उनको दाबी छ। प्रतिनिधिसभातर्फ पर्वतकी स्वतन्त्र उम्मेदवार सावित्री शर्मा आफ्ना चिनजान र सम्पर्कका व्यक्तिसँग भोट माग्न घरदैलो गरिरहेको बताउँछिन्। निर्वाचन आफ्ना पक्षमा पार्न मुस्किल परे पनि सो अवसरलाई आफ्ना अजेन्डा घरदैलोमा पुर्‍याउने र मतदातासँग नजिक हुने तरिकाले उपयोग गरिरहेको उनी बताउँछन्। राजनीतिमा इमानदार र जनताको सुखदुःख बुझ्ने व्यक्ति नभएकाले स्वतन्त्र उम्मेदवार मैदानमा आएको बागलुङबाट प्रदेशसभा सदस्य उम्मेदवार हमाल बताउँछन्। सक्षम व्यक्ति ल्याउन निरन्तर खबरदारी जारी रहने उनको भनाइ छ।

दलहरूकै प्रभाव तथा सामाजिक चरित्रका कारण स्वतन्त्र उम्मेदवार यो क्षेत्रमा निकै थोरै भएको धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले बताए। उनले भने, ‘दलहरूको विकृति र विसंगतिविरुद्ध आवाज बाहिर ल्याउन र खबरदारी गर्न क्षमतावान् व्यक्ति आउनुपर्छ। दलका गतिविधिले राजनीतिमा निराशा पैदा गरेकाले सचेत समुदायमा स्वतन्त्रको लहर चलेको हो। स्वतन्त्र उम्मेदवार आवश्यक रहे पनि दलकै प्रभाव तथा पहुँचले रोकियो।’ दलको निर्णय नमान्दा स्वतन्त्र भएर अभ्यास गर्न कठिन हुने उनले बताए। समाज राजनीतिक रूपमा सचेत नहुँदा दलहरूले जनतालाई आफ्नो अनुकूल प्रयोग गर्ने अवस्था रहेको उनको टिप्पणी छ। ‘शक्तिको बोलवाला रहँदा र दलहरू हाबी हुँदा स्वतन्त्रप्रति सहानुभूति नभएको हो,’ उनले भने, ‘समाजमा स्वतन्त्र बस्दा अवसर नै नपाउने अवस्था पैदा भएको छ।’

दलका बेथितिको खबरदारी गर्ने र सचेत बनाउने वातावरण नहुँदा अझ विकृति बढ्ने उनी बताउँछन्। दलहरूमा प्रजातान्त्रिक चरित्र र संस्कार नहुँदा जनतामा निराशा पैदा भएको उनको भनाइ छ। दलीय विकृतिविरुद्ध चुपचाप बस्दा भोलि राजनीति गलत दिशामा जान सक्ने क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ।

दलहरूलाई सचेत पार्न पनि स्वतन्त्र उम्मेदवार आवश्यक पर्ने उनको तर्क छ। युवा र क्षमतावान्मध्ये केही प्रतिनिधिसभा र प्रदेशसभामा आए पनि स्वतन्त्रको जनमत ठुलो नहुने र त्यसले असर पार्न नसक्ने नागरिक समाज बागलुङका प्रतिनिधि तथा वरिष्ठ अभिवक्ता काजी गाउँले बताउँछन्। ‘दलीय प्रभाव र पहुँचमै रमाउने जनता भएकाले स्वतन्त्र उम्मेदवारी कम परेको हो। चुनावी मैदानमा रहेका स्वतन्त्रको हैसियत पनि दललाई पछि पार्न सक्ने देखिन्न,’ उनी भन्छन्। पर्वत फलेबासका ज्येष्ठ नागरिक तथा समाजसेवी भोला लम्साल स्वतन्त्र उम्मेदवारले निर्वाचनमा विवेक प्रयोग गर्न आमजनतालाई भनिरहेको बताउँछन्।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा जितेर काठमाडौं महानगर, धरान, धनगढी र जनकपुर उपमहानगरमा स्वतन्त्रले नेतृत्व गरिरहेका छन्। सोही निर्वाचनमा देशभरि स्वतन्त्र उम्मेदवार ३८५ जना निर्वाचित भएका छन्। तीमध्ये उपमेयर दुई, उपाध्यक्ष दुई र वडाध्यक्ष १३६ जना छन्। २०७४ सालको स्थानीय निर्वाचनमा ६ प्रमुख, ५ उपप्रमुख, १९ वडाध्यक्ष स्वतन्त्रका हातमा परेका थिए। १३१ वडा सदस्य पनि स्वतन्त्रले जितेका छन्। देशभरि उम्मेदवारको तथ्याँक हेर्दा २०७४ सालको तुलनामा आसन्न निर्वाचनमा स्वतन्त्रको संख्या बढी छ। देशभरि गरी यसपटक १ हजार ९५७ स्वतन्त्र उम्मेदवार छन्। यसअघिको निर्वाचनमा यो संख्या १ हजार ३१७ थियो।

प्रकाशित: १७ कार्तिक २०७९ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App