१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचारसंहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको बताए।

श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाणसहित नेपाली काँग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपीसहित उजुरी परेको छ। श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ।

आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि वस्तु वितरण गर्न पाइदैन। मतदाता प्रभावित बनाउन खोज्ने उमेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्ने सम्मको कारबाही गर्न सक्ने व्यवस्था छ।

प्रकाशित: १४ कार्तिक २०७९ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App