१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँस्कोटा र हुमागाईंबीच कडा र रोचक प्रतिस्पर्धा

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। खासगरी काभ्रेको क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईको प्रतिस्पर्धा रोचक तथा चासोको विषय भएको छ।  

काभ्रे–२ मा बाँस्कोटाले दोह¥याएर उम्मेदवारी दिएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले यही क्षेत्रबाटै जितेका थिए। त्यतिबेला उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यसँग भएको थियो।  

यसपटक पनि चुनाव जित्ने रणनीति बाँस्कोटाको रहेको छ। तर यसपटक उनका लागि २०७४ को जस्तो सहज अवस्था भने छैन। २०७४ मा एमाले र माओवादी केन्द्रले साठगाँठ गरेका थिए। अहिले माओवादीको साथ उनलाई छैन। एमालेबाट फुटेको नेकपा(एस)पनि अहिले बाँस्कोटालाई हराउने अभियानमा छ। प्रतिस्पर्धी दलहरू उनलाई ‘७० करोड’ भ्रष्टाचार काण्डसँग जोड्ने गर्छन् भने एमालेका कार्यकर्ताहरू त्यसको प्रतिवाद गर्ने गर्छन्। त्यसैले पनि बाँस्कोटा चर्चामा छन्।  

गत स्थानीय तहमा वडा अध्यक्षले ल्याएको मत परिणाम हेर्दा बाँस्कोटालाई यसपटक चुनाव जित्न धेरै चुनौती छ। गत स्थानीय तहमा नेकपा (एमाले ) ४५ हजार ५सय १४, नेपाली कांग्रेस ४५ हजार ४ सय ५६, नेकपा (एस)ले ८ हजार ६ सय ७६, माओवादीक केन्द्रले ६ हजार ३सय ७० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३ सय ५४ भोट ल्याएको थियो। यस हिसावबाट गत स्थानीय तहमा कांग्रेस र एमालेको भोट बराबरी छ। त्यसमा माओवादी केन्द्र र एसले ल्याएको भोट जोड्दा १५ हजार भोटको फरकले एमाले पछि छ। तर नेकपा एमाले काभ्रेका नेताहरू यसपटक पनि एमाले जित्नेमा ढुक्क छन्। स्थानीय तहमा पार्टीले ल्याएको भोटलाई प्रतिनिधिसभाको निर्वाचनमा आधार मान्न नहुने काभ्रे एमालेका नेताहरू बताउँछन्। ‘त्यो स्थानीय उम्मेदवारले ल्याएको भोट हो। यसपटक प्रतिनिधिसभाको चुनाव हो। त्यो र अहिलेको परिस्थिति फरक छ,’ नेकपा एमाले काभ्रे पनौतीनगर अध्यक्ष सुरेश हुमागाई भन्छन्, ‘एमालेले सुरु गरेको सम्वृद्ध काभ्रेको अभियानलाई निरन्तरता दिन काभ्रेका जनताले एमालेलाई जिताउने निश्चित छ।’ काभ्रेका २ वटै क्षेत्रमा एमाले विजयी हुने उनको दाबी छ। ‘एमाले हार्नुपर्ने कारण छैन। काभ्रेको विकास र सम्वृद्धिका लागि एमालेले धेरै काम गरेको छ,’ उनले भने। यता नेपाली काँग्रेसका उम्मेदवार शिव हुमागाईले काभ्रेका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार शानदार विजयी हुनेमा आफू ढुक्क भएको बताए। ‘काभ्रेका जनताले ठूलो भोटको फरकले हामीलाई जिताउनेछन्,’ हुमागाईले भने, ‘कसलाई जिताउदा के भयो भन्ने कुरा काभे्रका जनताले राम्रोसँग बुझिसकेका छन्।’

तर काभ्रे नेपाली कांग्रेसलाई यतिबेला गत स्थानीय तहमा गठबन्धन दलहरूले ल्याएको भोट जोगाउन चुनौती छ। नेपाली कांग्रेस काभ्रेका एक स्थानीय नेताले कांग्रेस एक भयो भने कांग्रेसले जित्ने बताए। उनको आशय थियो, नेपाली कांग्रेसभित्र अन्तरघात हुने सम्भावना पनि कायम छ। २०७४ को निर्वाचनमा पराजय भएको एक पक्षले अझै पनि खुलेर कांग्रेसको पक्षमा सक्रियता नदेखाएको उनको भनाइ छ। तर हुमागाईले भने काभ्रेमा नेपाली कांग्रेस एक भएको दाबी गरे। आफूले सबैको सहयोग पाएको उनले बताए। ‘हामी एक छौं। सबै प्रचारमा जुट्नुभएको छ,’ उनले भने। काभ्रे–२मा जनता समाजवादी पार्टीबाट सिद्धिबहादुर जोशी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट यशु आलेले उम्मेदवारी दिएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका मनोज पण्डितको चर्चा पनि यस क्षेत्रमा बढेको छ।

काभ्रे–१ मा गठबन्धनबाट माओवादी केन्द्रका सूर्यमान तामाङ दोङ तथा नेकपा (एमाले)बाट रेशम लामाले उम्मेदवारी दिएका छन्। यसैगरी जसपाबाट धनबहादुर तामाङ, राप्रपाबाट पूर्णबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट सूर्यसिंग तामाङले उम्मेदवारी दिएका छन्। तर प्रतिष्पर्धा भने एमाले र माओवादीबीचमै हुने निश्चित छ।  

गत स्थानीय तहमा वडा अध्यक्षले ल्याएको भोटलाई हेर्दा यहाँ पनि गठबन्धन अगाडि छ। गत स्थानीय तहमा कांग्रेसले ४० हजार १ सय ३६, एमालेले ३३ हजार ८ सय ४६, माओवादीले २४ हजार ३सय ३१, एसले २हजार ३सय ५४ तथा राप्रपा ३सय ९९ भोट ल्याएको थियो। गत स्थानीय तहको निर्वाचनमा काभ्रेका १३ वटा पालिकामध्ये धुलिखेल नगरपालिका मात्र एमालेका उम्मेदवार विजयी भएका थिए। अन्य १२ वटा पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काभ्रेमा ६ वटा नपा तथा ७ वटा गाउँपालिका रहेका छन्।  

‘यसपटक काभ्रेमा कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनका उम्मेदवार विजय नजिक छन्,’ नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा काभ्रेको स्थानीय नेता सवर प्रजापतिले भने, ‘गठबन्धन दल एक जुट भए भने काभे्रको सबै क्षेत्रमा गठबन्धन धेरै अगाडि छ।’

तर काभ्रेका स्थानीय जनतामा स्वतन्त्र उम्मेदवारप्रति पनि आकर्षण बढेको छ। ‘मेरो बुवा, म र मेरा छोराको पालामा समेत एउटै नेतालाई मात्र देखिरहेका छौ। कति पटक एउटै व्यक्तिलाई जिताउने?,’ धुलिखेल नगरपालिकाकामा बेनकण्ठ श्रेष्ठले भने, ‘त्यसैले यसपटक स्वतन्त्र उम्मेदवारको आकर्षण बढेको छ। स्वतन्त्रले केही गर्छन् कि भन्ने लागेको छ।’ तर श्रेष्ठले भनेको जस्तो काभ्रेमा स्वतन्त्र उम्मेदवार विजयी हुने अवस्था भने छैन।  

यसैगरी प्रदेश सभाको निर्वाचनमा काभ्रे १ (क)मा एमालेबाट दिलबहादुर तामाङ, माओावदीबाट रत्न प्रसाद ढकाल, राप्रपाबाट नन्दलाल श्रेष्ठ, जसपाबाट मानबहादुर तामाङले उम्मेदवारी दिएका छन्। यसैगरी काभ्रे १ (ख)मा एमालेबाट चन्द्रबहादुर लामा, कांग्रेसबाट तीर्थ लामा, राप्रपाबाट सहदेव भण्डारी तथा नेमकिपाबाट कृष्ण तामाङले उम्मेदवारी दिएका छन्। यसैगरी काभ्रे २ (क)बाट एमालेबाट कुमार खकुरेल, नेकपा (एस) बाट लक्ष्मण लम्साल, राप्रपाबाट रञ्जित श्रेष्ठ तथा नेमकिपाबाट सूर्यलाल तामाङले उम्मेदवारी दिएका छन्। यसैगरी काभ्रे २ (ख)बाट नेपाली कांग्रेसबाट कञ्चनबादे श्रेष्ठ, एमालेबाट युद्ध विक्रम तामाङ, तथा जसपाबाट वीरबहादुर तामाङले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १३ कार्तिक २०७९ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App