२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयोः राजु गुरुङ

सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ। शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। तर चेक बाउन्स सम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता  राजु गुरुङले राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको बताए। उनले साझा उम्मेदवारलाई आगामी निर्वाचनमा जिताउन पनि मतदाताहरुसँग आग्रह गरे।  

उनले भने, ‘प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सन्दर्भमा रुपन्देही जिल्लामा चुनावी तालमेलका लागि तय गरिएको गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीबीच भएको सहमतिका बुँदाहरु सार्वजनिक गर्नका लागि यो पत्रकार सम्मेलन आयोजना गरिएको हो। राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको छ। त्यसलाई तदारुकताका साथ कार्यान्वयनमा लैजाने निर्णय भएको छ। रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ।’

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरेको आरोप लगाए। उनले आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको बताए। उनले आगामी निर्वाचनमा केशवबहादुर थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने बताए। उनले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए।

उनले आफू कालो सूचीमा नरहेको भन्दै कालो सूचीमा भए देखाउन चुनौती दिए। उनले कर्जा सूचना केन्द्रको ब्ल्याकलिस्टमा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए। नेता गुरुङले गत असोज २३ गते नेकपा (एकीकृत समाजवादी) बाट गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिए।

प्रकाशित: १२ कार्तिक २०७९ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App