१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनबाट बाहिरिँदा जसपाका इस्तियाकलाई चुनौती

अहिले मेरो प्रतिस्पर्धी त के मेरो नजिकसम्म मैले कसैलाई देखेको छैन,’ आइतबार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेपछि मोहम्मद इस्तियाक राई सञ्चारकर्मीहरूमाझ भन्दै थिए। उनीविरुद्ध बलिया प्रतिस्पर्धी मानिएकामध्ये एक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले यही प्रश्नमा उत्तर दिए, ‘कांग्रेस, जसपालगायत दलहरू छन्।’

मन्त्रीसमेत रहेका राई यसपटक पनि चुनावी मैदानमा छन्। उनको हाउभाउ र भाषणमा अति आत्मविश्वास झल्किन्छ। उनी भन्छन्, ‘२०७४ मा एकातिर वामगठबन्धन थियो भने अर्काेतिर कांग्रेस र राप्रपाको गठबन्धन थियो। तैपनि मैले चुनाव जितेँ भने यसपटक त झन् राम्रो स्थिति छ।’

इस्तियाकले गठबन्धनले कुनै असर नगर्ने दाबी गरे पनि २०७४ को गठबन्धनको स्थिति र अहिलेको गठबन्धनको स्थिति केही फरक छ। राप्रपाका महामन्त्री एवं दुईपटक नेपालगन्जको मेयरमा निर्वाचित भएका डा. राणाविरुद्ध उम्मेदवार भएका छन्। अन्य ठाउँमा जसपाकै उम्मेदवारलाई सघाइरहेको एमालेले बाँके क्षेत्र नम्बर २ मा राईकै मुख्य प्रतिस्पर्धी ठानिएका राणालाई सघाउने घोषणा गरेको छ। अर्काेतिर गत निर्वाचनमा राप्रपाका ओमप्रकाश आजादलाई सघाएर राईविरुद्ध गठबन्धन गरेको कांग्रेस र माओवादीसहितको साझा उम्मेदवारका रूपमा कांग्रेसका सुदीपनरसिंह राणा चुनावी मैदानमा छन्। प्रवेश गरेलगत्तै उनीहरूले प्रदेशसभमा टिकट पनि पाएका छन्। यसले माओवादीको एक तप्काको मत उनले पाउने देखिन्छ। यसैलाई इंगित गर्दै राई भन्छन्, ‘यति ठूलो संख्यामा अरू दलबाट साथीहरू पार्टीमा प्रवेश गर्नुभएको छ। यसबाट त झन् हामीलाई सहज स्थिति बनेको छ।’

स्थानीय निर्वाचन २०७४ मा इस्तियाक २१ हजार ५ सय ७५ मत मत ल्याएर विजयी भएका थिए। उनका निटकतम प्रतिस्पर्धी एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए भने राप्रपा र कांग्रेसको गठबन्धनबाट ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत प्राप्त गरेका थिए। यसपटक यी दुवैजनाका पार्टीहरू एक भएर चुनावी मैदानमा छन्। यदि २०७४ कै जस्तो मत यी दलका उम्मेदवारले पाए भने र डा. धवलशमशेर राणाले यसअघिको लोकप्रियतालाई प्रयोग गर्न सके भने इस्तियाक पछि पर्न सक्छन्। मिश्रले अघिल्लोपटक पाएको मतमा भने माओवादीको मत पनि थियो जो अहिले कांग्रेससँग गठबन्धनमा छ।  

यसपटक राईले विकासका नाममा चुनावी फन्डा गर्ने किसिमले शिलान्यास गर्दै हिँडेका, मन्त्रालयबाट सञ्चालित योजनामा कमिसनका लागि सेटिङ गरेकोलगायत समाचार सञ्चारमाध्यममा आएका छन्। उनको शिलान्यास मोहको सामाजिक सञ्जालमा तीव्र आलोचना पनि भएको थियो। यसले उनलाई केही विवादित पनि बनाइदिएको छ। यसका साथै उनले जिल्लाका अरू राजनीतिक दलहरूसँग नजिकको दुरी कायम राख्न नसकेको, अरूलाई साथमा लिनेभन्दा दम्भ देखाउने गरेको जस्ता आरोप लाग्दै आएका छन्। यसले उनको भोटमा कति असर गर्छ, त्यसले पनि नतिजामा फरक पार्ने देखिन्छ। राई भने आफू जनतामाझ लोकप्रिय रहेकाले अन्य कुराले फरक नपार्ने ठोकुवा गर्छन्।

ताजा मत सर्वेक्षण केही महिनाअघि नै भएको छ। स्थानीय तह निर्वाचन २०७९ मा पाएको मतका आधारमा अहिले मतको अवस्था कस्तो छ अनुमान लगाउन सकिन्छ। त्यसका लागि दलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गरेका वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्न सकिन्छ। बाँके क्षेत्र नम्बर २ मा नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडाबाहेक सबै वडा तथा डुडुवा गाउँपालिकाका सबै वडा पर्दछन्। ती वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्ने हो भने इस्तियाकको पार्टी जसपा तेस्रो नम्बरमा छ। बाँके जिल्लाभर स्थानीय तह निर्वाचनभन्दा यसपटक मात्र २ हजार ७ सय ५८ मतदाता थपिएका छन्। क्षेत्र नम्बर २ मा जम्मा ९७ हजार ८ सय ९ मतदाताले मतदान गर्न पाउनेछन्। 

प्रकाशित: २७ आश्विन २०७९ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App