२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

ललितपुरको सुयोग सहकारीमा ७ करोड हिनामिना,अध्यक्षसहित तीन पदाधिकारी पक्राउ

निक्षेपकर्ताको सात करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले ललितपुरको सुयोग बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ गरेको छ। 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष सुनिल महर्जनसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ। 

अध्यक्ष महर्जनको घर ललितपुर महानगरपालिका–२० पुल्चोक हो।उनलाई बाराको निजगढबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा ललितपुर महानगरपालिका–१२ मंगलबजारकी  सहकारीकी उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन  र भक्तपुर सूर्य विनायक नगरपालिका–७ घर रहेका सहकारीका सचिव ३७ वर्षीय अर्पण कवा छन्। 

पक्राउ परेकाहरू विरुद्ध ललितपुर महानगरपालिका –२० मान भवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारीको सात करोड १३ लाख ८६ हजार रकम हिनामिना गरेको आरोप रहेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध गएको चैत ७ गते जिल्ला प्रहरी परिसर, ललितपुरमा ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएसँगै उनीहरू फरार थिए । अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ। 

सुयोगकमा अन्दाजी एक हजार दुई सय बचतकर्ता रहेको प्रहरीको अनुमान छ। जसको ४५ करोडसम्म बचत रकम रहेको पनि प्रहरीले जनाएको छ।

अध्यक्ष बैङ्किङ कसुरका पनि फरार प्रतिवादी 

पक्राउ परेका अध्यक्ष महर्जन २०६५ सालमा श्री नरसिंह सहकारीको चार वर्ष सदस्य रहेको पाइएको छ । २०७० सालदेखि उनी सुयोग सहकारीको अध्यक्ष छन्। 

अध्यक्ष रहँदा उनले सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिने जानेका, आफूले भनेको कुरा मान्ने मानिसहरू राखेर बचतकर्ताको रकम आफूखुसी लगानी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ। यस्तै उनी  ०८० सालदेखि बैङ्किङ कसुर मुद्दामा समेत फरार प्रतिवादी रहेको पनि प्रहरीको भनाई छ। उपाध्यक्ष मलिका महर्जन  र  सचिव कवा ०७६ सालदेखि पदाधिकारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०८१ १८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App