२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

नगर प्रमुख र वडाध्यक्षले एकअर्काविरुद्ध दिए उजुरी, पक्राउ पुर्जीमा प्रहरी माैन

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएका नगर प्रमुखलाई प्रहरीले नै सुरक्षा दिएको आरोप छ।

इलाका प्रहरी कार्यालय गरुडाले गत असार २ गते रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि असार १० महानगरपालिकाले गरेको नगर सभाको सुरक्षा प्रहरीले गरेको थियो। पक्राउ पुर्जी जारी भएको ८ दिनमा नगर सभा हुँदा पनि पक्राउ गर्नुपर्ने मानिसको सुरक्षा गरेको भन्दै स्थानीयले विरोध गरेका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले नगर प्रमुख कुर्मीसहित वृन्दावननपा ६ काधर्मेन्द्र पटेल, हरिनारायण पटेल, बैजु पटेल, सुशील पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा नम्बर ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा नम्बर २ कासिकिन्द्र पटेल, छविलाल पटेल, देवेन्द्र पटेल तथा वडा नम्बर १ काअजय पटेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जानकारी गराएका छन्।

गत जेठ २७ गते वडा नम्बर ४ का वडाध्यक्ष श्याम राय यादवको गोठमा नगर प्रमुख पटेलसहित १४ जनाले आगजनी गरेको भन्दै जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी परेको थियो। सोही घटनामा अनुसन्धानका लागि प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएको दुई हप्ताभन्दा बढी समय बितिसकेको भए पनि प्रहरीले नगर प्रमुखसहितका अन्यलाई पक्राउ गर्न सकेको छैन।

त्यसो त वडाध्यक्ष श्याम राय यादवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। गत जेठ २७ मा नै वडाध्यक्ष यादवसहित अन्यलाई खोलामा उत्खनन गरिरहेको जेसिबिमा तोडफोड गरेको भन्दै नगर प्रमुख कुर्मीले जाहेरी दिएका थिए।

नगर प्रमुख कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि इलाका प्रहरी कार्यालयले नगर प्रमुखकै दबाबमा आफूहरुविरुद्ध मुद्दा दर्ता गरेको भन्दै वडाध्यक्ष यादवले प्रतिवाद गरेका छन्। वडाध्यक्ष यादवले आगलागीको घटनालाई नियतवश दबाउनको लागि जेसिबि तोडफोडको जाहेरी गरेको भन्दै विरोध गरेका छन्।

जेसिबि तोडफोडको जाहेरीमा पनि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले वडाध्यक्ष यादव, वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र पटेल, माओवादी नेता रामप्रसाद पटेलसहित १८ जनाविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको डिएसपी त्वातीको भनाइ छ।

दोहोरो पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कुनै पक्षलाई पक्राउ गर्न सकेको छैन।

प्रकाशित: १८ असार २०८१ १८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App