सुनसरी–मोरङमा प्रतिनिधीसभा र प्रदेशसभाका लागि ४३२ जनाको उम्मेदवारी कायम रहेको छ। बुधबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावाली अनुसार सुनसरीमा २०५ जना र मोरङमा २२७ जनाको उम्मेदवारी कायम रहेको हो।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएको सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधीसभा र प्रदेशसभाका लागि ५१ जनाको उम्मेदवारी कायम रहेको छ। यहाँ प्रतिनिधीसभाका लागि २५ जनाको उम्मेदवारी कामय रहेको छ। जसमा १२ जना स्वतन्त्र र १३ जना राजनीतिक दलबाट रहेका छन्। यस्तै, प्रदेशतर्फ ४ ‘क’ मा १३ जना र ‘ख’ मा पनि १३ जनाको अन्तिम उम्मेदवारी रहेको छ। प्रदेशसभाका लागि उम्मेदवारी दिएका दुई जनाले भने फिर्ता लिएका छन्।
क्षेत्र नं. ४ मा प्रतिनिधीसभाका लागि मुख्य प्रतिस्पर्धा भने पाँच दलीय गठबन्धनबाट सञ्चार, सूचना र प्रविधि मन्त्री कार्की र एमाले–जसपाको गठबन्धनबाट एमालेका जगदीस कुसियतबीच हुनेछ। कुसियत प्रदेश नं. १ का पूर्व उद्योग, वातावरण, वन तथा पर्यटन मन्त्री हुन्।
यस्तै, क्षेत्र नं. ४ मा प्रदेशसभामा पाँच दलीय गठबन्धनबाट काँग्रेसका तर्फबाट क्षेत्र नं. ४ ‘क’ बाट सदानन्द मण्डल र एमाले–जसपा गठबन्धनबाट जसपाका पर्शुराम बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्र्तै, ४ ‘ख’ बाट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेसका हाजी इसराइल मन्सुरी र एमालेका अब्बास अन्सारीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
सुनसरीकै निकै चर्चामा रहेको क्षेत्र नं. ३ बाट ५२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धा गर्दैछन्। चुनाबका लागि संघमा २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ। मुख्य प्रतिस्पर्धा भने पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका लागि काँग्रेसका नेता बिजयकुमार गच्छदार र एमाले–जसपा गठबन्धनबाट एमालेकी भगवती चौधरीबीच हुनेछ। ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार सातौंपटक संसदीय प्रतिस्पर्धा गर्दै छन्। एमाले नेतृ चौधरी गच्छदारसँग तेस्रोपटक प्रतिस्पर्धा गर्दै छिन्।
प्रदेश सभाका लागि सुनसरी क्षेत्र नं. ३ ‘क’ बाट १७ जना क्षेत्र नं. ३ ‘ख’ बाट १० जनाबीच प्रतिस्पर्धा हुँदैछ।
सुनसरी क्षेत्र नं. २ बाट ५५ जना उम्मेदवारले चुनाबी प्रतिस्पर्धा गर्दैछन्। जसमा संघीयतर्फ २७ जना र प्रदेशका लागि २८ जनाको उम्मेदवारी कायम रहेको छ।
सुनसरी क्षेत्र नं. २ मा संघका लागि पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका सीताराम मेहता र एमाले–जसपा गठबन्धनतबाट एमालेका तर्फबाट प्रदेश नं. १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश सभाका लागि भने काँग्रेस नेतृत्वको गठबन्धनबाट क्षेत्र नं. २ ‘क’ तर्फ एमाले परित्याग गरेर केही दिनअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेका द्दारिकलाल चौधरी र एमाले–जसपा गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। यस्तै, क्षेत्र नं. २ ‘ख’ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला र एमालेका तर्फबाट रामप्रसाद मेहताबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।
सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधीसभामा २० जना, प्रदेश सभा ‘क’ का लागि १४ जना र ‘ख’ बाट १३ जनाको उम्मेदवारी कामय रहेको छ। क्षेत्र नं. १ मा काँग्रेस नेतृत्वको गठबन्धन, एमाले नेतृत्वको गठबन्धन र दुई स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेश सभामा भने काँग्रेस नेतृत्व र एमाले नेतृत्वको गठबन्धनको उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
यसैबीच, मोरङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभातर्फ आठ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। मोरङमा प्रनिधिसभा सदस्य छ र प्रदेश सभा सदस्य १२ गरि जम्मा १८ पदको लागि निर्वाचन हुँदैछ। मोरङमा प्रतिनिधि सभातर्फ १ सय ८ जना उम्मेदवार कायम भएका छन् भने प्रदेश सभातर्फ १ सय १९ जना उम्मेदवारहरु कायम भएका छन्।
प्रकाशित: २६ आश्विन २०७९ १६:५६ बुधबार