coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देशभर उल्लासपूर्वक उम्मेदवारी: ६ हजार बढीको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार देशभरिका निर्वाचन क्षेत्रमा उत्साहपूर्णरुपमा उम्मेदवारी दर्ता भएको छ। प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ वटा क्षेत्र र प्रदेशसभा सदस्यका लागि ३ सय ३० वटा क्षेत्रमा गरी ६ हजारभन्दा बढीले मनोनयन दर्ता गराएका छन्।  

निर्वाचन आयोगले भने प्रतिनिधिसभा सदस्यका लागि देशभर २ हजार २ सय ४२ पुरुष र २ सय ३१ महिला गरी २ हजार ४ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ। त्यस्तै प्रदेशसभा  

सदस्यका लागि ३ हजार ९९ जना पुरुष, २ सय ९३ जना महिला र १ अन्य गरी ३ हजार ३ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको विवरण प्राप्त भएको आयोगले जनाएको छ। आयोगका अनुसार उम्मेदवारी दर्ताको अन्तिम विवरण आउन बाँकी छ।

प्रमुख राजनीतिक दलका अधिकांश शीर्ष नेताहरूले आफैं सम्बन्धित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। एमाले अध्यक्ष केपी ओलीले झापा–५ मा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य आरजु राणामार्फत डडेल्धुराबाट उम्मेदवारी दर्ता गराए। राणा देउवा पत्नी पनि हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसहकर्मी बाबुराम भट्टराईलाई सँगै राखेर गोरखा–२ बाट उम्मेदवारी दर्ता गराए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन्।  

अन्य पार्टीका अधिकांश नेताहरूले आआफ्नो निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। आयोगले तोकेको आचारसंहितालाई कार्यालय परिसरमा उम्मेदवारले पालना गरेका छन्। तर केही नेताले बाजागाजा र जुलुससहित उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्तालाई व्यवस्थित गर्न निर्वाचन कार्यालयले शनिबार नै सर्वदलीय बैठक राखेर अधिकांश क्षेत्रमा दलहरूलाई अलगअलग समयमा उम्मेदवारी दर्ता गराउन आउन भनेको थियो।  

कांग्रेस नेतृत्वमा सत्ता गठबन्धन र एमाले नेतृत्वमा राप्रपा, जसपासहितको विपक्षी गठबन्धन बनेको छ। कतिपय ठाउँमा तालमेलप्रति असन्तुष्टि चुलिँदा मनोनयन दर्ता गर्ने निर्वाचन कार्यालयमा समेत भद्रगोल देखिएको थियो।

बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो। तर मनोनयनको काम रातिसम्म पनि चलिरहेको निर्वाचन आयोगले जनाएको छ।  

आयोगले उम्मेदवाहरूको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको जनाउँदै सोमबार (२४ गते) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने जनाएको छ। आयोगले उजुरीउपर जाँचबुझ गरी २५ गतेसम्म निर्णय दिने, २५ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका बनाएको छ। यसपटक एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्न पाउनेछन्। निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ। आयोगले आइतबार नै समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।

प्रकाशित: २४ आश्विन २०७९ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App