१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनमा एस पार्टीको असन्तुष्टिः ६ जिल्लामा कांग्रेसको साथ !

गठबन्धन दलको बैठकमा नेकपा एकीकृत समाजवादी (एस) ले औपचारिक रुपमा असन्तुष्टि जनाई ६ जिल्लामा कांग्रेसको साथ खोजेको छ। विहिबार दिनभर बसेको गठबन्धन बैठकमा एस पार्टीले ६ वटा जिल्लामा आफ्ना नेताहरुलाई व्यवस्थापन गर्न कठिन रहेको भन्दै कांग्रेसको साथ खोजेको हो। 

कांग्रेसले माओवादीलाई छाडेको तर माओवादीले एस पार्टीलाई छाड्न आनाकानी गरेपछि ती जिल्लामा एस पार्टीले आफ्ना नेताहरुलाई उठाउने गरी कांग्रेसको साथ खोजेको हो। ‘नेकपा माओवादीले घेराबन्दीमा राख्ने कोसिस गर्यो, निर्वाचनपछि पार्टी एकता नै गर्ने सहमति गरेका बेला हामीलाई ६ वटा जिल्लामा सिट छाड्न आनाकानी गर्यो जसले गर्दा हामीले कांग्रसको सहयोग मागेका हौ’, एस पार्टीका एक सचिवालय सदस्यले भने। 

माओवादीले गठबन्धनबाट आफ्नो अनुकुलतामा सिट फूत्काउने र त्यहाँबाट कांग्रेस र एसको समर्थनमा बढी सिट जित्ने चाहाना राख्दा गठबन्धन दलको बैठकमै एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले ६ वटा जिल्लामा आफ्ना नेताहरुले मैत्रीपूर्ण उम्मेदवारी दिने र त्यहाँ जो कुनै पार्टीसँग सहकार्य गरेर चुनाव लड्ने बताएका थिए। एस पार्टीका पदाधिकारीहरुले दावी गरिरहेको स्थानमा माओवादीले नछाडेपछि माधव नेपाल र माओवादी अध्यक्ष पुस्पकमल दाहालबीच खटपट उत्पन्न हुने परिस्थिति समेत बनेको थियो। ‘अहिलेको परिस्थिति निर्माण गर्न माधव नेपालको ठूलो भूमिका छ उहाँले जम्मा ६ वटा जिल्लामा आफ्ना नेताहरुको व्यवस्थापन गर्न खोजिरहनु भएको छ तर माओवादीले ती जिल्लामा छोड्नै चाहदैन’, गठबन्धन बैठकमा सहभागी एक नेताले भने। 

नेकपा एसका नेताहरु मध्ये उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, उपमहासचिव प्रकाश ज्वाला, श्रम मन्त्री शेरवहादुर कुँवर, भानुभक्त जोशी र शिव भण्डारीको लागि माधव नेपालले अडान छाडेका छैनन्। दोलखाको हकमा भने एस पार्टीले कांग्रेसलाई सहयोग गर्ने अवस्था पनि रहेको छ। तर माओवादीलाई भने एस पार्टीको सहयोग नरहने स्रोतले जनाएको छ। अन्य सीटमा भने लगभग सहमति छ। राजेन्द्र पाण्डे उम्मेदवार बन्ने धादिङ २ मा माओवादीका शालिकराम जमरकट्टेलको सशक्त दावी रहेको छ। 

जमरकट्टेल भावी मुख्यमन्त्रीको ग्यारेन्टी नभएसम्म प्रतिनिधिसभा छाड्ने पक्षमा छैनन्। जबकी मुख्यमन्त्रीका लागि यसअघिकै प्रवल दावेदार रहेका कांग्रेसका प्रदेश सभापति इन्द्र बानिया प्रदेश सभाको उम्मेदवार बन्ने पक्कापक्की रहेको छ। नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर २ मा बागी भएपनि उम्मेदवारीदिने पक्षमा रहेका छन्। सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए। राईको अवस्था बलियो नभएको र विगतमा कांग्रेसकै उम्मेदवारमाथि आक्रमण गरेको घट्नाक्रमले उदयपुर २ मा कांग्रेस कार्यकर्ताले सहयोग नगर्ने परिस्थितिमा खतिवडाका लागि कांग्रेस सहयोगी बन्ने अवस्था छ। त्यस्तै उपमहासचिव प्रकाश ज्वालाका लागि नेकपा एसले सल्यानमा अडान राखेको छ। तर माओवादीले जितिराखेको क्षेत्र मापदण्ड अनुसार पनि उसैको भागमा पर्ने भएकाले शीर्ष तहमा वार्ता चलिरहेको छ।

प्रकाश ज्वालाले कर्णालीमा माओवादी सरकार टिकाउन सहयोग गरेका थिए। केन्द्रमा केपी ओलीलाई ढाल्न र प्रदेश सरकारहरुबाट एमालेलाई सबैतिर हटाउन आफूहरु निर्णायक भएकाले त्यसको मुल्यांकन हुनुपर्ने नेकपा एसको भनाइ छ। त्यसैगरी शेरबहादुर कुँवर र भानुभक्त जोशीका लागि पनि एस पार्टीले कांग्रेसको साथ खोजिरहेको छ। यतिबेला कांग्रेसको सहयोगमा एस पार्टीले केही स्थानमा माओवादीको साथ विना नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। माओवादीले माधवकुमार नेपाल झलनाथ खनाल, रामकुमारी झाक्री, विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेम आले बाहेक सबै नेताहरुको विषयमा खटपट पैदा गर्ने र जसरी पनि आफूले सिट राख्नुपर्ने भन्दै माधव नेपाललाई दबाबमा राखेपछि उनले कांग्रेसको साथ लिएर ६ स्थानमा आफ्ना नेताहरुको व्यवस्थापन गर्ने तयारी गरेका छन्। 

नेपाल, खनाल, झाक्री, खतिवडा, श्रेष्ठ र आलेले निर्वाचन जित्ने स्थानमा माओवादी निकै कमजोर रहेकाले चुपचाप बसेको स्रोतको दावी छ। तर एस पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले भने गठबन्धनबाटै सहमति भएर चुनावमा सहभागी हुने बताए। ‘अहिलेसम्म कुरा मिल्दै आएको छ अब पनि कुरा मिल्ने अपेक्षा छ’, उनले भने।

प्रकाशित: २० आश्विन २०७९ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App