आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन कपिलवस्तुमा ९६ जना महिला स्वयंसेविका परिचालन गरिएको छ।
प्रत्येक वडामा एक जनाका हिसाबले ९६ जना मतदाता शिक्षाका लागि महिला स्वयंसेविका परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता निश्चल मोताङले जानकारी दिए।
महिला स्वयंसेविकालाई आवश्यक तालिम दिएर सामग्रीसहित वडामा फागुन ३ गतेदेखि परिचालन गरिएको उनले बताए। यस्तै एक पालिकामा एक जनाका हिसाबले १० जना निर्वाचन सम्पर्क व्यक्ति समेत खटिएका छन्।
महिला स्वयंसेविकाहरू फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षाका लागि खटिनेछन्। उनीहरूलाई नमुना मतपत्र, स्ट्याम्प प्याड, स्वस्तिक छापसहित फिल्डमा खटाइएको छ। महिला स्वयंसेविकाले १० हजार र निर्वाचन सम्पर्क व्यक्तिले ५ हजार पारिश्रमिक पाउनेछन्।
प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २ वटा मतपत्र रहनेछन्। प्रत्यक्ष तर्फको सेतो रंगको मतपत्रमा चुनाव चिन्ह भने रातो रंगको तथा समानुपातिक तर्फको सेतो रंगको मतपत्रमा कालो रंगको चुनाव चिन्ह रहनेछ।
प्रकाशित: ५ फाल्गुन २०८२ १३:३८ मंगलबार





