१६ चैत्र २०८० शुक्रबार
राजनीति

वीरशमशेरकै पालामा टुकुचा लुकेको निष्कर्ष

वीरशमशेरको पालामै जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोलालाई भूमिगत गरिएको निष्कर्ष सरकारी अध्ययन टोलीले निकालेको छ। टुकुचा भूमिगत गरिएको ठाउँमा काठमाडौं महानगरपालिकाले खोतल्न सुरु गरेपछि पुरातत्व विभागले अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले अहिलेसम्म गरेको अध्ययन तथा अनुसन्धानबाट जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म वीरशमशेर पालामै टुकुचामा सुरूङ मार्ग निर्माण गरिएको निष्कर्ष निकालेको छ।

‘जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत गरिएको टुकुचा वीरशमशेर पालामै निर्माण गरिएको हो भन्ने हाम्रो निष्कर्ष रह्यो,’ टोलीका संयोजक ज्ञवालीले भने, ‘त्यसैले टुकुचा निर्माण भएको कम्तीमा सय वर्ष पूरा भएको छ। वीर शमशेरको पालामा या त्योभन्दा पहिले नै निर्माण भएको हो तर पछाडि भने हुँदै होइन ।’

पुरातत्व विभागले भूमिगत गरिएको ठाउँलाई पुरातात्वक सम्पदाका रूपमा मान्यता दियो भने काठमाडाैं महानगरपालिकाले भत्काउन या यसको स्वरूप बिर्गान कानुनी रूपमै पाउँदैन। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारे पुरातत्व विभागको सहमतिबिना प्राचीन सम्पदालाई भत्काउने, हटाउने तथा स्वरूप परिवर्तन गर्न मिल्दैन। पुरातत्व विभागको सहमतिबिना प्राचीन सम्पदाको स्वरूप बिगारे या चोरी गरे १ लाख रूपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।  

अध्ययन टोलीले दसैंअगाडि नै सरकारलाई प्रतिवेदन दिने तयारी गरेको ज्ञवाली बताए। ‘अहिले हामीले सबै पक्षको विस्तृत अध्ययन गरीरहेका छौं। सकेसम्म दसैंअगाडि नै प्रतिवेदन बुझाउने हाम्र्रो तयारी छ,’ उनले भने। टोलीका अनुसार भूमिगत गरिएको टुकुचा प्राचीन पुरातात्वक सम्पदा भएको पर्याप्त प्रमाणहरू भेटिएका छन्। ‘महानगरले टुकुचा खोतल्ने क्रममा जय नेपाल हलको प्रांगणमा भेटिएको इँटामा श्री ३ वीर लेखिएको पाइएको छ। योसहित अन्य केही यस्ता आधार र प्रमाण भेटिएका छन, जसबाट टुकुचा राणाकालमै बनेकोमा शंका गर्ने ठाउँ छैन,’ ज्ञवालीले भने।

अध्ययन टोलीका सदस्यका अनुसार सुरुङ मार्ग बनाउन इँटासँगै सुर्की चुनासमेत प्रयोग गरेको पाइएको छ। इतिहासकारका अनुसार राणाकालीन सरकारको पालामा सुर्की चुना प्रयोग गरेर पक्की संरचना निर्माण गर्ने गरिन्थ्यो।  

अध्ययन टोलीका एक सदस्यका अनुसार सुरुङ मार्ग बनाएको ४ सय ४० मिटर टुकुचामा पानी बगाउन कुशल इन्जिनियरिङ सीप प्रयोग गरिएको छ। सजिलैसँग पानी बगोस् भनेर ठाउँठाउँमा छाँगाजस्तै गरी बनाइएको छ। सीधा किसिमबाट सुरुङ मार्ग बनाउँदा पानी जम्ने या सजिलैसँग नबग्न सक्ने भएकाले ठाउँठाउँमा भर्‍याङ जस्तो बनाएर पानी बग्न सजिलो बनाइएको हुन सक्ने अध्ययन टोलीका सदस्यहरूको निष्कर्ष छ।

‘अहिले हामीले अन्य प्रमाणहरू पनि खोजिरहेका छौं। केही प्रमाण भेट्टाएका छौं,’ ज्ञवालीले भने। महानगरले टुकुचा खुला गर्न ठाउँठाउँमा भत्काएको छ। भत्काएको ठाउँमा टुकुचा खुला भएको छ। अध्ययन टोलीले भत्काएको ठाउँको विस्तृत अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो।  

महानगरले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत गरिएको ठाउँमा टुकुचामा अतिक्रमण गरिएको भन्दै भत्काउन सुरु गरेको छ। महानगरले भत्काउन सुरु गरेपछि पुरातŒव विभागले यसबारे चासो देखाएको हो। विभागका अनुसार महानगरले भूमिगत गरिएको ठाउँमा भत्काउनुअघि पुरातत्व विभागसँग सरसल्लाह र छलफल गरेको थिएन। पुरातत्व विभागसँग सरसल्लाह नै नगरी सय वर्ष पुरानो प्राचीन सम्पदा भत्काइएको विषयमा पुरात्व विभागका एक उच्च अधिकारीले असन्तुष्टि पोखेका छन् ।

यता भूमि व्यवस्था मन्त्रालयले वीर शमसेरका पालामा १९४७ सालमा लाल दरबार बनाउने क्रममा टुकुचालाई भूमिगत गरेको आधार र प्रमाण भेटेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए। नापी विभागले जयनेपाल सिनेमा हल देखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने भन्दै काठमाडौं महानगरपालिकालाई जवाफ पठाएको छ।

 भदौका अन्तिम साता कामनपाले भूमिगत भएको स्थानमा टुकुचा खोलाको रेखांकन गर्न आग्रह गर्दै विभागलाई चिठी पठाएको थियो। २०३२ सालमा गरिएको नापनक्सामा जयनेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न नमिल्ने जवाफ विभागले पठाएको छ।

 विभागका अनुसार काठमाडौंमा २००० सालमै नाप जाँच भएको थियो। त्यसपछि २०२१ र २०३२ सालमा नाप जाँच गरिएको थियो। २००० सालमा काठमाडौंभरि नापजाँच गरी मौजा नक्सा तयार गरिएको थियो। तर त्यसबेला जयनेपाल सिनेमा हलदेखि कमलादी मोडसम्मको जग्गा नारायणहिटी दरबार र राणाकालीन दरबार क्षेत्र भएकोले त्यस क्षेत्रमा नाप जाँच गरिएन। २०३२ सालमा गरिएको नापजाँचमा जयनेपाल हल देखि कमलादी मोडसम्म ४४० मिटर जग्ग्गामा टुकुचा खोला देखाइएको छैन।

प्रकाशित: १४ आश्विन २०७९ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App