coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको आरोप लगाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको आरोप लगाएका हुन्।

उनले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको विरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताए। उनले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिए।

उनले नेपाली जनताले आगामी मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनतन्त्रलाई पराजित गरी नेकपा एमालेलाई सत्तामा स्थापित गर्ने बताए। अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानूनको राज नरहेको उल्लेख गर्दै संसदको सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गरे।

उनले जोडजामवाला गठबन्धनका गलत मनाशाय आगामी संसदले बोकेर हिँड्नपर्ने कुनै आवश्यक्ता नरहेको बताए। उनले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो? भन्दै प्रश्न गरे।

उनले देश गृहमन्त्रीको घरबाट ल्याएको नभएको भन्दै २/४ महिना कोही व्यक्ति गृहमन्त्री बन्यो भन्दैमा लोकतान्त्रिक प्रणालीलाई नष्ट गर्ने अधिकार नरहेको बताए। उहाँले पक्राउ पूर्जी जारी नभइ प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु गलत भएको बताए।

अध्यक्ष ओलीले कुनैपनि सरकारलाई विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार नरहेको भन्दै नागरिकता वितरण गर्ने नभइ प्रमाण पत्र दिने कुरा भएको बताए। उनले नेपाली नागरिकहरुले नागरिकता पाउनुपर्छ भनेर विधेयक ल्याउँदा अहिले गठबन्धनमा भएका घटकहरुले नै व्यवधान सिर्जन गरेर ऐन जारी गर्न नदिएको बताए।

उनले गठबन्धनले निजी स्वार्थको भाषा मात्रै बोल्ने गरेको आरोप लगाए। अध्यक्ष ओलीले गठबन्धनको लक्ष्य के हो भन्दै प्रश्नसमेत गरे। उनले गठबन्धनको लक्ष्य जसरी पनि सत्ता प्राप्त गरेको बताए। उनले नेकपा माओवादी केन्द्र पार्टी नभइ क्लब भएको बताए। अध्यक्ष ओलीले माओवादी केन्द्र आफन्तहरुको क्लब भएको बताउँदै पार्टीको अस्तित्व रक्षाका लागि लागि परिरहेको बताए।

अध्यक्ष ओलीले राष्ट्रपतिलाई अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताए। उनले अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताए। उनले संविधानले विधेयकहरु संसदमा पेस गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्दै अहिलेको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाए।

उनले अहिलेको गठबन्धन मसलको भाषा मात्रै बोल्ने गरेको भन्दै एमासँग आए तह लगाइदिने बताए। उनले अहिले संविधान समग्रतामा उल्लंघन भइरहेको बताए। उनले अहिलेको सरकार बहुमतको नभएको जिकिर गर्दै बहुमतको धाक नलगाउन सचेत गराए। अध्यक्ष ओलीले आगामी मंसिर ४ गते जनताले गठबन्धनको क्रियाकलापको मूल्यांकन गर्ने बताए।

अध्यक्ष ओलीले गठबन्धनको अहिलेको उद्देश्य देश विकासको नभइ आफन्त र आसेपासेको स्वार्थ पूरा गर्ने भएको बताए। उनले नेकपा एमाले समृद्ध नेपाल, सुखी नेपाली रहेको भन्दै अन्य दलहरुसँग कुनैपनि देश र जनताको लागि गन्तव्य नरहेको बताए। उनले आगामी तीन दिनमा गठबन्धनको गन्तव्य के र कसका लागि भन्ने प्रश्नको जवाफ दिन गठबन्धनका नेताहरुलाई चुनौती दिए।

उनले तीन दिनभित्र देश र जनताका लागि गठबन्धन भन्ने हिम्मत जिब्रो नलर्बराइकन भन्न चुनौती दिए। अध्यक्ष ओलीले मंसिर ४ गते एमालेले सरकार बनाएपछिको एक महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। उनले नेकपा एमाले नागरिकता समस्या समाधान र सुकुम्बासी लगायतका समस्या समाधानको ग्यारेन्टी गर्ने पार्टी भएको बताए। 

प्रकाशित: ६ आश्विन २०७९ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App