८ वैशाख २०८१ शनिबार
राजनीति

‘हेभिवेट’ टिकट रेस: को कति सुरक्षित?

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ दलीय गठबन्धन कायमै हुने भएपछि जिल्लाका गठबन्धन दलका हेभिवेट नेताहरु ‘टिकट रेस’ मा छन्। जिल्लाका ३ क्षेत्रमा आफ्नो उम्मेदवारी कायम गर्नका लागि आआफ्नो लबिङमा लागेका उनीहरुले केन्द्रीय नेताहरु समक्ष ‘आफ्नो जीत’ को सुनिश्चितता दाबी गरिरहेका छन्। 

टिकट रेसमा रहेका केन्द्रीय नेताहरु मध्य माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको भने प्रत्यक्ष तर्फको उम्मेदवारी पक्कापक्की नै थियो। तर महरा समानुपातिक उम्मेदवार बन्ने निर्णयमा पुगिसकेका छन्।  जिल्लाका अन्य हेभिवेटहरुको भने उम्मेदवारी निश्चित भैसकेको छैन।    

जिल्लाको क्षेत्र नम्बर १ मा उम्मेदवारको बलियो दाबेदार मानिएका संघीय सरकारका शहरी बिकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीका लागि नेपाली कांग्रेसको उम्मेदवारी दाबी तगारो बन्न सक्छ। भलै उनले आफ्नो उम्मेदवारी नरोकिने दाबी गरेका छन्। ‘मेरो उम्मेदवारी आकाशै खसेपनि रोकिन्न,’ उनले केहि समय अघि दाङ आएका बेला केहि सञ्चारकर्मीहरुसंग भनेका थिए ‘क्षेत्र नम्बर १ को उम्मेदवार म नै हुँ र जित्ने पनि मै हुँ।’ चौधरी यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट एमालेका तर्फबाट निर्वाचित भएका थिए।    

त्यसोत, गत स्थानीय तहको निर्वाचनमा एकल रुपमा भिडेको समाजवादीको झिनो मतभारलाई यहाँ स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले आगामी निर्वाचनमा ‘स्पेश’ कसरी दिने भन्ने प्रश्न उठाईरहेको छ। स्थानीय तहको निर्वाचनमा आफ्नो बलियो पकड स्थापित गरेको कांग्रेसले यो क्षेत्रमा आफ्नो उम्मेदवारी दाबी प्रस्तुत गरिरहेको छ। ‘झिनो मतभार रहेको पार्टीलाई सबै भन्दा ठूलो दलले कसरी उम्मेदवारी छोड्ने?’ कांग्रेसका एक नेताले भने ‘गठबन्धनका नाममा कांग्रेसको बलियो मतभारलाई ओझेलमा पार्ने काम नगरियोस् भन्ने हाम्रो चाहना हो। ’

चौधरीको उम्मेदवारी रोकेर आफूलाई ‘जीत को लायक’ बनाउन खोजेको कांग्रेसबाट यो क्षेत्रमा केन्द्रीय सदस्यद्धय कृष्णकिशोर घिमिरे र योगेन्द्र चौधरी उम्मेदवार बन्ने रेसमा छन्। घिमिरे पुराना नेता हुन्। स्वर्गीय खुमबहादुर खड्काका सहयात्री बनेर दाङ कांग्रेसको बिरासत् धानेका घिमिरेले आफूलाई प्रतिनिधिसभाको सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गर्न खोजिरहेका छन्। यस्तै अर्का केन्द्रीय सदस्य योगेन्द्रले थारु बाहुल मतदाता रहेको यो क्षेत्रमा आफ्नो प्रभाव आगामी चुनावमा सकारात्मक देखिने दाबी गरिरहेका छन्। थारु बाहुल यो क्षेत्रका योगेन्द्र थारु आन्दोलनका संस्थापक समेत हुन्। थरुहठ आन्दोलन मार्फत थारु समुदायलाई जागृत तुल्याउन सुरुवाती भुमिका खेलेका उनी थारु समुदायमा प्रिय नेता मानिन्छन्।  यो क्षेत्र कांग्रेसको भागमा परेको खण्डमा योगेन्द्र नै उम्मेदवार बन्ने उच्च सम्भावना रहनेछ।  

यो क्षेत्रमा कांग्रेसले उम्मेदवारी पाए हेभिवेट नेता तथा शहरी बिकास मन्त्री मेटमणी चौधरी उम्मेदवार बन्नबाट पछि हट्ने छन्। तर समाजवादीका ‘हाईप्रोफाईल’ नेता चौधरीको उम्मेदवारी गठबन्धनमार्फत उनकै क्षेत्रमा सुनिश्चित हुने सम्भावना भने उच्च देखिन्छ। यो अवस्थामा कांग्रेसका केन्द्रीय सदस्यद्धय कृष्णकिशोर र योगेन्द्र उम्मेदवार बन्न बाट बञ्चित हुने छन्। कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार भागवण्डा मिलानका क्रममा मन्त्री चौधरीनै यो क्षेत्रको उम्मेदवार बन्ने पक्कापक्की जस्तै भैसकेको छ।  

यस्तै यसै क्षेत्रमा माओवादी नेता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी भने प्रदेशसभा निर्वाचनका लागि उम्मेवार बन्ने योजनामा छन्। प्रदेशमा उनको उम्मेदवारी भने पक्कापक्की जस्तै छ।  

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको बलिया उम्मेदवार मानिएका माओवादी उपाध्यक्ष महरा समानुपातिक सुचीमा परेपछि माओवादी नेतृ तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको उम्मेदवारी यो क्षेत्रमा बलियो मानिएको छ। यो क्षेत्र माओवादीको भागमा परिसकेको र महराको बिकल्पमा माओवादीले पूर्व मन्त्री शर्मालाई उम्मेदवार बनाउने सम्भावना उँचो बनेको छ। महरासंगको केहि दिन अघिको कुराकानीमा उनले भनेका थिए ‘२ नम्बर क्षेत्र माओवादीको भागमा परिसकेको छ। ’ महराको विकल्पमा पूर्वमन्त्री शर्मा उम्मेदवार बनेको खण्डमा कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा संविधानसभा सदस्य राजु खनाल उम्मेदवार बन्नबाट बञ्चित हुने छन्।  

क्षेत्र नम्बर १ र २ मा कांग्रेसका हेभिवेट नेताहरुले उम्मेदवारी दाबी गरिरहेको भएपनि कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले भने क्षेत्र नम्बर ३ मा कांग्रेसले उम्मेदवारी पाउनु पर्ने भन्दै लबिङमा छन्। १ वा २ मध्य कुनै एक क्षेत्रमा कांग्रेसले उम्मेदवारी पाए आफ्नो उम्मेदवारी खोसिने त्रासमा उनि छन्। तीन क्षेत्र मध्य १ वा २ मा कांग्रेसले उम्मेदवारी पाए आफ्नो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको उम्मेदवारी पक्कापक्की हुने खतरा देखि कांग्रेस नेता तथा पूर्व मन्त्री गिरी त्रस्त छन्।  

राज्यमन्त्री केसी यसअघि ०७४ को निर्वाचनमा उनै गिरीलाई यसैक्षेत्रबााट पराजित गरेका नेता हुन्। यस अघिको निर्वाचनमा आफ्नो जीत भएकाले पनि क्षेत्र नम्बर ३ मा आफ्नो उम्मेदवारी कायम रहनु पर्नेमा राज्यमन्त्री केसीको जोड छ। ‘मैले यसअघिको निर्वाचनमा पनि यसै क्षेत्रबाट जीतेको हो,’ रिपोर्टस् क्लव दाङले केहि दिन अघि गरेको पत्रका सम्मेलनमा राज्यमन्त्री केसीले भनेका थिए ‘यसर्थ पनि यो क्षेत्रमा मेरो उम्मेदवारी स्वतः हुनुपर्छ। ’

तर नेताहरुका कांग्रेसको कोटामा यो क्षेत्रमा पर्ने उच्च सम्भावना देखिएको छ। यो क्षेत्र कांग्रेसको भागमा परेको खण्डमा कांग्रेस केन्द्रीय सदस्य गिरीको उम्मेदवारी पक्का जस्तै हुने छ भने यो भागवण्डाले हेभिवेट केसी उम्मेदवार बन्नबाट बञ्चित हुने छन्। तर नेकपा एसले क्षेत्र नम्बर १ मा कांग्रेसलाई छोडिदिएर राज्य मन्त्री केसीको क्षेत्र नम्बर ३ लाई रोजाईमा पारेको खण्डमा कांग्रेस केन्द्रीय सदस्य गिरी उम्मेदवार बन्नबाट रोकिने छन्।    

जिल्लाका कांग्रेसका अर्का हेभिवेट प्रदेशका शहरी बिकास मन्त्री डिल्ली चौधरी भने पुनः प्रदेशसभामै दोहोरिने योजनामा छन्। प्रदेश सभाका लागि उनको उम्मेदवारी भने सुरक्षित मानिएको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App