८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावमा दुर्गमको पीडा: पहिलो पल्ट गाउँमै भोट खसाल्दै तेम्बाथान र तेगावासी (फोटोसहित)

जुगल हिमालको काखमा रहेको सिन्धुको अन्तिम बस्ती तेम्बाथान र तेगावासीले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन्।

सदरमुकाम चौताराबाट एक दिन टाढाको उत्तर, पश्चिमी यी बस्तीका मतदाताले पहिलो पटक गाउँमै भोट खसाल्न लागेका हुन्। गाउँमै मतदान केन्द्र दिएर ऐतिहासिक अवसर दिएको हो, निर्वाचन आयोगले। आयोगको यो नियर्णयसँगै गाउँका धेरैले जीवनमै पहिलो पटक मतदानसमेत गर्न पाउँदै छन्। 

सिन्धुको ‘कर्णाली’ भनेर चिनिने जुगल गाउँपालिका–३ स्थित तेम्बाथान र तेगावासी यसअघिका निर्वाचनमा सातुसामल बोकेर भोट खसाल्न आधादिन पैदल हिँडेर वडाकै गुम्बामा आउन बाध्य थिए। राम्रो गोरेटो बाटोको पहुँच भित्र नपर्ने यी दुर्गम गाउँबासी मतदान केन्द्र टाढा भएकाले टोलको प्रतिनिधित्व हुने गरी मात्र भोट खसाल्न आइपुग्थे।  

‘बल्ल आयोगले दुर्गमको पीडा सुन्यो,’ वडाध्यक्ष लक्ष्मण लामा दोङ भन्छन्, ‘मतदान केन्द्र पार्न कम्ता पापड पेल्न परेन !’ गाउँमै भोट खसाल्न पाउने खबरले तेम्बाथान र तेगाबासीमा खुशीयाली छाएको उनले सुनाए। उनका अनुसार नयाँ र पुरानासमेत धेरै मतदाता गाउँमै पहिलो पटक भोट खसाल्ने दिनको व्यग्र प्रतिक्षामा छन्।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले आयोगले २ सय २७ मतदातासहित तेम्बाथानको तेम्बाथान आधारभूत विद्यालयलाई मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए। उनका अनुसार साविक गुम्बा गाविसको गुम्बामा कायम दुई केन्द्रमध्ये एक स्थान परिवर्तन गर्दै तेम्बाथान पु¥याइएको हो। ‘गुम्बाको मतदान केन्द्र अपायक भएको गुनासोपछि जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा आयोगले तेम्बाथान केन्द्र निर्धारण गरेको हो,’ रिजालले भने।  

यो केन्द्रमा तेम्बाथान र तेगा गाउँका मतदाताले मतदान गर्ने छन्। वडाध्यक्ष दोङका अनुसार तेम्बाथानमा १ सय ७० र तेगामा १४ घरपरिवारको बसोवास छ। केन्द्र टाढा भएकाले गाउँमा अझै भोट हाल्ने बानीको विकास भएको छैन। उमेर पुगेर पनि मतदाता नामावलीमा छुट्नेको संख्या धेरै छ। ‘केन्द्र टाढा हुँदा मतदानमा रुची नहुँदा यो अवस्था आएको हो,’ दोङले भने। गाउँमै भोट हाल्ने व्यवस्थाले मंसिरको चुनावपछि मतदाता ह्वात्तै बढ्ने उनले औँल्याए।  

तामाङ समुदायको मात्र बसोबास रहेको यी गाउँका मतदाता यसअघिको चुनावमा प्रतिनिधिमूलक ढंगले मात्र भोट खसाल्न गुम्बा आउँथे। आर्थिक, सामाजिक, शैक्षिक र कमजोर विकास पूर्वाधार लगायत कारण जुगल गाउँपालिका सिन्धुको कर्णाली नामले चिनिन्छ। अन्तिमका गाउँ तेम्बाथान र तेगाको अवस्था झनै पिछडिएको छ। गुम्बासम्म मोटरबाट पुगे पनि त्यहाँबाट अघि बढ्दा हिँडडुल गर्ने गतिलो बाटो छैन। भिर खोपेर र पहारा काटेर बनाइएको बाटोमा स्थानीय राम नाम जप्दै यात्रा गर्दै आइरहेका छन्।

तेगाबाट ६ र तेम्बाथानबाट पाँच घण्टा पैदल हिँडेर स्थानीय मतदानमा भाग लिन गुम्बा आउँथे। गाउँमै उम्मेदवार दिएकाले गत स्थानीय चुनावमा यी गाउँबाट अहिलेसम्मकै बढी ८० जति मत खसेको वडाध्यक्ष दोङले अनुमान लगाए। उनी थप्छन्, ‘मतदान केन्द्र टाढा हुनुका साथै चिनेको उम्मेदवार नहुने भएकाले अरु चुनावको त्यति मतलव हुँदैन। यस्ता चुनावमा अझ निकै कम मात्र भोट खस्छ।’

चुनावी प्रचारको व्यस्त समयमा कम भोट खस्ने दुरदराजको यी गाउँमा भोट माग्न बिरलै मात्र नेता गाउँ आएको स्थानीयलाई याद छ। ‘स्थानीय चुनावमै नेता भोट माग्न आइपुग्दैनन्। अन्य चुनाव र अरु बेला नेता कहाँबाट आइपुग्नु !’ तेम्बाथानका नोर्बु शेर्पा सुनाउँछन्। अघिल्लो स्थानीय चुनावमा उनी एमालेबाट वडा सदस्य विजयी भएका थिए। पार्टीले उम्मेदवार बनाएपछि आफैँ खटिएर पालिका अध्यक्षका उम्मेदवार र पार्टीलाई भोट मागेको उनको भनाइ छ। ‘पालिका उम्मेदवारै भोट माग्न आएका होइनन्। अरु पार्टीको हकमा पनि भएको यही हो,’ शेर्पाले स्मरण गरे।  

गाउँमै मतदान केन्द्र हुँदा धेरै मतदान हुन सक्ने र २ सय भोटको महत्व बढेर जाँदा मंसिरको चुनावमा उम्मेदवार तेम्बाथान र तेगा पुग्ने सम्भावना बढेको वडाध्यक्ष दोङ र निवर्तमान सदस्य शेर्पा औँल्याउँछन्। ‘नत्र पार्टीका नेता र उम्मेदवारले उर्दीसहित पठाउने खबरका आधारमा दलैपिच्छेका १०–१२ जनाको समूह मिलेर भोट खसाल्न जाने प्रचलन थियो,’ उनीहरु एकै स्वरमा सुनाउँछन्।

 

यसअघिको चुनावमा यहाँका केही मतदाता बास बस्नेगरी अघिल्लै दिन गुम्बा पुग्थे। भोट खसालेर उनीहरु साँझ मात्र गाउँ पुग्थे। चुनावकै दिन भोटको लागि गुम्बा आउनेहरु त्यही दिन गाउँ फर्कँन भ्याउँदैनथे। उनीहरु त्यो दिन गुम्बामै बास बस्नु पथ्र्यो। ‘धेरै चुनावमा यस्तै कष्ट सहेर भोट हाल्यौँ। यो चुनावदेखि भने भोटकै लागि अन्यत्र धाउन नपर्ने भयो,’ शेर्पा खुशीसँगै दंग छन्।

मतदाता भएर पनि गाउँमा अहिलेसम्म भोट नखास्ल्ने धेरै छन्। यसमा महिला बढी छन्। भोट खसाल्न उमेरका पुरुष निस्कने चलन थियो। उमेरका बाबुछोरामध्ये एक पटक एकले र अर्को चुनावमा अर्कोले पालो भाग लगाएर मतदान गर्दै आएका थिए। ‘मतदान केन्द्र गाउँ आएकाले अब भोट माग्न पक्कै नेता आउँछन्। भोट दिन्छौँ, बदलामा विकास देउ भनेर नेतालाई पाउने अवसर पनि आएका छौँ’ मतदान केन्द्रले दुर्गमबासीमा नयाँ आशासमेत थपेको छ।  

गाउँमा आएको मतदान केन्द्रले एउटा दुःख घटाए पनि स्थानीयका अरु धेरै पीडा छन्। जुगल हिमालको हिउँ पग्लेर बहने ब्रह्मायणी (बलेफी) नदी किनारका हिमाली यी गाउँ बर्खामा नाकाबन्दीमा पर्छन्। बाढी र पहिरोले बाटाघाटा बन्द हुन्छन्। बर्षभरि हिँडेको कतिपय बाटै हराउँछन्। बर्खा थामिएपछि नयाँ गोरेटो ट्र«याक खोल्दै गाउँले आवत–जावत खुलाउँछन्। गाउँपालिकाको केन्द्र ढाँडे आइपुग्नै झण्डै एक दिन लाग्छ। संघीयताले जुनसकुै काममा सदरमुकाम चौतारै पुग्नुपर्ने समय भने अर्को एक दिन घटाइ दिएको छ। नागरिकता, राहदानी लगायत कामका लागि भने दुई–तीन दिनको समय छुट्याएर सदरमुकाम पुग्नुपर्ने बाध्यता भने अझै छ। गुम्बासम्म पुगेको मोटरबाटोमा हिउँदमा गाडी चल्ने भएकाले त्यतिबेला पालिका केन्द्र र सदरमुकाम पुग्ने समय केही घट्न पुगेको छ।  

दीपु र साङलुङवासी उही नियतिमा  

जुगल गाउँपालिका–२, दीपु र साङलुङ गाउँका मतदाताले भने मंसिरको चुनावमा पनि पुरानै नियति भोग्दै छन्। उनीहरु एक भोट खसाल्न एकदिन पैदल हिँडेर विगमतमा झैँ यसपल्ट पनि गोल्चेको सञ्चगाउँ पुग्नुपर्ने बाध्यता छन्। मतदान केन्द्र निर्धारण गर्दा यो पटक पनि यहाँका मतदाताको सुविधालाई ध्यान दिइएको छैन।  

बह्मायणी नदी वारि तेम्बाथान र तेगा गाउँ छन् भने पारि दीपु र साङलुङ। तेम्बाथानबाट थप एक घण्टाकौ पैदल हिँडेर ब्रह्मायणी नदी तरेपछि यी गाउँ पुगिन्छ। भोट खसाल्न बह्मायणी नदी तरेर तेम्बाथान, गुम्बा हुँदै कात्तिके बजार झेर पुनः ब्रह्मायणी छिचोल्दै नाकै ठोकिने उकालो हिँडेपछि उनीहरुको मतदान केन्द्र सञ्चगाउँ पुगिन्छ। पालिका अध्यक्ष रेशम स्याङ्बोका अनुसार दीपुमा २० र साङलुङमा १० जति घरपरिवारको वसोबास छ। केन्द्र टाढा भएकाले तेम्बाथान र तेगाका मतदाता जस्तै दीपु र साङलुङका मतदाता पनि प्रतिनिधिमूलक ढंगले भोट खसाल्न निस्कन्छन्।  

‘प्रजातान्त्रिक पद्धतीमा मतद्धारा आफ्ना प्रतिनिधि छान्न पाउनु नागरिकको अधिकार हो,’ अध्यक्ष स्याङ्बो भन्छन्, ‘यो पटक तेम्बाथान र तेगावासीले त्यो अधिकार उपभोग गर्ने पाउने भए। दीपु र साङलुङको समस्या समाधान गर्न अझै पहल गर्छौँ।’

प्रकाशित: ४ आश्विन २०७९ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App