८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन समानुपातिकतर्फको बन्दसूची आजै बुझाउन राजनीतिक दललाई आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाइ सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले आज अपरान्ह ५ बजेभित्र आयोग परिसरभित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणा समेत राखे। आयोग परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले राजनीतिक दलहरुले आजै सो सूची बुझाउन नसके भोलि (मंगलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए। गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरुले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उनको भनाइ थियो।

निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि हिजो र आज २ दिनको समय दिएको थियो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘विगतको अनुभवलाई हेर्दा त भोली बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुुस गरिराखेका छौं। तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाँहि लोकतन्त्रलाई सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं। आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ। हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं। तैपनि सामान्यतयाः पाँच बजेभित्र उहाँहरुले आइपुगेर सो सबै काम थालेर आजहुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ छ।’

निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरु सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ। त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

उनका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ। सार्वजनिक भएको ती नामावली अनुसार दलहरुले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरु निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘ऐन, कानुनमा भएको व्यवस्था अनुसार उहाँहरुले पेश गर्नु हुन्छ। त्यसपछि त्यसलाई हामीले हेर्छौ। हेरेर हाम्रो नियमावलीले के भन्छ भने नौं गतेसम्ममा त्यहाँ कुनै नामनै परिवर्तन गर्नुपर्ने भएको छ भने पनि सो समेत गर्न समय दिनुपर्छ भन्ने व्यवस्था भएकाले अव यतिनै आउँछ र यतिनै गर्न सकिन्छ भन्ने कुरा छैन। पहिला हामीले सबै डकुमेन्टहरु हेरेर तपाईहरुको आवश्यक संशोधन, परिमार्जन गरेर त्रुटी सच्याउन तथा संशोधन परिमार्जन गर्न समय दिइनेछ भनेर हामीले त्यही लेखेर समय दिन्छौं। अब १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ। त्यो विवरणमा चाँहि कुनै पनि हालतमा परिवर्तन हुँदैन। त्यसलाई आयोगले २२ गते सूचना जारी गरेर सार्वजनिक गर्छ। त्यो भन्दाअघि हामी हाम्रो गोपनियता कायम राख्छौं। २२ गते बेलुकासम्म सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ। त्यो सार्वजनिक गरिसकेपछि त्यो नाम तदनुसारनै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना गरिसकेपछि त्यही नामबाट क्रमशः उम्मेदवारहरु चयन हुनेछन्।’

निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धी सबै कामहरु अघि बढाउन प्रतिबद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ। 

प्रकाशित: ३ आश्विन २०७९ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App