१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्डले मलाई नै भष्म पार्न खोजेः ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिएपनि आफूलाई छुरी रोपेको आरोप लगाए। उनले पार्टी एकता गरी बामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दापनि साधारण सदस्यबाट नै हटाएको बताए।

उनले माओवादी अध्यक्ष दाहाललाई विषालु दाँतको संज्ञा दिए। अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताए। उनले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताए।

उनले गठबन्धन शब्दबाट अहिले आम नागरिकहरु आजित भएको बताए। उनले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी, र आफ्ना स्वार्थमा कुदेको गबठन्धनको संज्ञा दिए।

उनले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्नसक्ने नरहेको बताए। उनले आगामी निर्वाचनमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पनि पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्न मन नलाग्ने भइसक्यो। बिहानै गबठन्धन, दिउँसो गबठन्धन, देश बिगार्ने गठबन्धन, लोकतन्त्र सिध्याउने गबठन्धन, भ्रष्टाचारलाई गर्ने र प्रश्रय दिने गठबन्धन, नातावादी गठबन्धन, आफन्तवादी गठबन्धन, परिवारवादी गठबन्धन, आफ्ना स्वार्थमा कुदेको गबठन्धन। यो गठबन्धन यति कमजोर छ, एमालेतिर गठबन्धनको कुनै हस्ती हुँ भन्नेहरु एमालेसँग लड्ने आँट गर्छ? मैले धेरै केही भन्नुपर्दैन। अहिले नेकपा एमालेमा प्रवेशको लहर छ। स्थानीय तहमा ३८ लाख भोट ल्यायौँ, त्यो केही होइन, अब छोडिदिनुहोस्, ५० लाख कम्तिमा पुर्‍याउनुपर्छ। प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ। निकालेकै हो। मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिष्ट पार्टी बनाऔँ, समाजवादतर्फ अघि बढाऔँ, एकतावद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ। प्रचण्डलाई मैले मानसम्मानपूर्व मेरो सिटको छेउमा राखेको थिएँ। एकतावद्ध भएर जाऔँ भनेको थिएँ। मैले अँगालो हालेको थिएँ प्रचण्डलाई हात मिलाएको मात्रै होइन, तर प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे। म अलि होशियार त थिएँ, नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे। म पार्टी एकता जोगाऔँ भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाट नै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु। कस्तोसँग मैले एकता गरेको रहेछु। एकता अभियानको लागि मैले दिएको बहुमत, मैले दिएको वरदान मेरै टाउकोमा हात राखेर मलाई नै भष्म पार्न खोज्ने? कत्रो धोका, कत्रो बेइमानी। आन्दोलन धोकाबाट हुन्छ? नेकपा माओवादी केन्द्र त पहिल्यै एमालेसँग मिलिसक्यो अहिले गएको त पुष्पकमल दाहाल प्रचण्ड गुट मात्रै हो।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले हार्नै नमिल्ने बताए। उनले देश, जनता, लोकतन्त्र, भ्रष्टाचार, शान्ति सुव्यवस्था, स्थिरता र स्थायित्वका लागि हार्न नमिल्ने बताए। उनले देशको विकास र समृद्धिको अभियान अघि बढाउने काम नेकपा एमाले बाहेक अन्य दलहरुले गर्न नसक्ने बताए। उनले गठबन्धनले अहिले देशलाई अधोपतनतिर लगिरहेको भन्दै देशलाई बचाउन एमालेको विकल्प नरहेको उल्लेख गरे।

उनले आगामी निर्वाचनमा सम्पूर्ण शक्ति लगाएर प्रतिक्रियावादीहरु आफ्नो विरुद्धमा आउने भन्दै मतवृद्धि गर्ने कुरादेखि लिएर मत रक्षा गर्ने कुरासम्म चनाखो हुन निर्देशन दिए। अध्यक्ष ओलीले अहिलेका गठबन्धनका महारथी भनेर आफूलाई ठान्नेहरु कागजी बाघमात्र भएको उल्लेख गर्दै गठबन्धनरुपी चक्रव्यूह तोड्न एमाले सक्षम रहेको बताए।

अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमाले बाहेक नेपालका कुनै राजनीतिक दल र नेता कार्यकर्तामा नभएको बताए। उनले बाहिरबाट भ्रष्टाचार हुन नहुने भन्ने तर भित्रभित्रै भ्रष्टाचार गर्ने नीति अन्य दलको नीति भएको तर नेकपा एमालेको नीति नरहेको बताए।

प्रकाशित: ३० भाद्र २०७९ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App